२०७९ कार्तिक १६, बुधबार ०८:१८

लामो समयदेखी फरार रहेका मिटरब्याजी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका ६५ वर्षीय रामदेव साहलाई पत्ता लगाई पक्राउ गर्न माग गर्दै पीडितहरुले मंगलबार राजविराजमा प्रदर्शन गरेका छन् ।

गाउँ गाउँबाट आएका मिटर ब्याजी साह र उनका परिवारबाट पीडितहरु स्थानिय शिव मन्दिर प्राङ्गणमा भेला भई प्रदर्शन गरेका हुन् । फरार मिटर ब्याजी साहलाई अविलम्ब पक्राउ गर, पीडितलाई न्याय दे लगायत नारा अंकित प्लेकार्ड बोकेर बजार क्षेत्र परिक्रमा गरेका पीडितहरुले स्थानिय प्रशासन बिरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । आफूहरुलाई घरबार बिहीन बनाउने मिटर ब्याजी साहलाई यतिका दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेकाले बिरोध प्रदर्शनमा उत्रेको साह परिवारको मिटर ब्याजबाट पीडितहरुद्वारा गठन गरिएको संघर्ष समितिका संयोजक मो. तैयब अलीले बताए । यो सँगै १९ औं पटक प्रदर्शन र धर्ना लगायतका बिरोध कार्यक्तम गरिसक्दा पनि अझै न्याय पाउन नसकेको प्रदर्शनमा सहभागि ललितादेवी मण्डलले सुनाइन् । सप्तरीका एक दर्जन भन्दा बढी पीडितहरुले साहुकार रामदेव साहसहित उनको परिवारका सदस्यमाथी ६ महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई पक्राउ गरेपनि रामदेव अझै फरार छन् ।

ठगि तथा अपराधिक विश्वासघात मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतको आदेशले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधा अहिले पुर्पक्षका लागि राजविराज कारागारमा छन् । रामदेवको खोजिकार्य भने जारि रहेको प्रहरीको भनाई छ । साह परिवारमाथी जग्गा तथा सुनचाँदीको गरगहना बन्दकी राखेर चर्को मिटर ब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋणको ब्याज र साँवा चुक्ता गरिसकेपनि धितो फिर्ता नगरेको आरोप छ । प्रहरीका अनुसार पीडितहरुले दिएको निवेदनमा १ करोड १७ लाख ४२ हजार २ सय ५६ रुँपैया साहुकार रामदेवसँग ऋण लिएको उल्लेख छ । त्यसको ब्याज वापत हुन आउने रकम र साँवा तिरिसक्दा पनि धितो वापत मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न रामदेव नमानेको पीडितहरुको गुनासो छ ।

Comment


Related News

Latest News

Trending News