अपडेट 
२०७९ कार्तिक १७, बिहीबार ०७:२४

नेपालको संविधान २०७२ अनुसार यो दोस्रो आम चुनाव हुन् गइरहेछ । आजसम्म आउँदा यस चुनावमा निकै ठूल्ठूला तालमेल तथा गठबन्धन बनाएर भिडेका छन् । पार्टीहरूका सिद्धान्त खस्किँदै गएको छ । दिन दहाडै पार्टी परिवर्तन गर्नेहरूको होड चलेको देखिन्छ । पार्टीहरूले हिज्जोसम्म राजनीतिको मूल शत्रु मान्नेसँग मित्रता गर्न पुगेका छन् । सहीकार्यकर्ताहरूलाई साइड लगाएका छन् । नयाँ प्रवेशीहरूलाई धमाधम टिकट बाँट्दै छन् । पुराना त हाम्रै हो, नयाँलाई आफ्नो बनाउनु प¥यो भने दलील ठोकीरहेका छन् । कस्तो बिडम्बना, हिज्जोसम्म कम्युनिष्टहरू काँग्रेसलाई र काँग्रेसहरूले कम्युनिष्टलाई मानेका मूल शत्रु सकिएको देखिन्छ अर्थात नेपालमा उनीहरूका देखाइमा अब कोही सर्वहारा वर्गभित्र रहेन । सबैका सबै सम्पन्न भैसके । उता काँग्रेसी मानसिकताका नेताहरूका लागि समाजवाद आइसकेकोले अब सबैलाई यसैभित्र मिलाएर लग्नु प¥यो । यस्ता बुझाइ हाम्रा नेताहरूमा देखिन्छ । नेताहरू प्रतिपादित राजनीतिक सिद्धान्तलाई जे जस्तो अर्थमा बुझे पनि त्यही ठीक रहेछ । विश्वबाट प्रमाणित सिद्धान्तहरूलाई नेपालका यी नेताहरूले लालबुझक्कर जस्तै प्रयोग गर्दा पनि सबैमा सबैका ताली पिट्न रमाएका छन् । यता चरमदक्षिणपन्थी पार्टीको नेतृत्व गर्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी पनि निर्वाचनमा तनमनधनले लागेको छ । यिनीहरूले आ–आफ्ना राजनीतिक मेसिफेस्टो लिएर निर्वाचनमा होमिएका छन् । उनीहरूले राजा र हिन्दू राज्यको सन्दर्भमा पटक– पटक जन्मत संग्रहमा जानु पर्ने कुरा उठाउँदै आएका छन् । अहिले त्यही कुरालाई लिएर जनता सामु जाँदा उनीहरूका पक्षमा यदि बहुमत आएन भने के बुझ्नु पर्छ भने यहाँका जनता राजा र हिन्दू राज्यलाई नकारी सकेका छन् । त्यसैले अब निर्वाचनपछि यस्ता स्लोगन जनता सामुने लग्नु भनेको बाहियात कुरो बाहेक केही होइन । हाम्रो समाजको आफ्नै व्यवहार तथा परम्परा रहेका छन् । यस्ता व्यवहार र परम्परालाई जोड्दै अगाडि बढ्नु बाहेक अर्को बिकल्प देखिन्न । अहिले जनता गठबन्धनका नेताहरूलाई गठबनधनबारे विभिन्न प्रश्न सोधिरहेका छन् ।

सोध्नु पनि स्वभाविक हो किनभने वामपन्थी र प्रजातान्त्रिक पार्टीहरूसँग गठबन्धन हुनु भनेको आगो र पानीलाई एक ठाउँमा राख्नु सरह जस्तै देखिन्छ । यस्ता गठबन्धनका नेताहरूका भनाइतिर जाँदा उनीहरूका भनाई के छ भने गठबन्धन गर्नु हाम्रो बाध्यता हो । जब राष्ट्रिय कुरामाथि खतरा÷आक्रमण हुन्छ भने वामप्रजातान्त्रिक पार्टीहरू हामी एक ठाउँमा आएर त्यसलाई बचाउनु भनेको कुनै अप्राकृतिक गठबन्धन होइन । उनीहरूले केपी ओली अर्थात नेकपालाई रोक्न यस्ता गठबन्धनको विकल्प थिएन । स्थानीय निर्वाचनको परिणामले नेकपा (एमाले) लाई केही झटका लागे पनि संघीय शासनका लागि उसको विरूद्धमा सबै मिलेर अर्को झटका दिन सकेनन् भने जनताले बनाएको संविधान २०७२ लाई बचाउन सकिँदैन । ओलीले आफ्नो सरकारका बेला एक चोटी होइन दुई÷दुई चोटी संविधानमाथि अवैध आक्रमण गरिसकेका छन् । यी पार्टीहरूले नै गठबन्धन गरेर अहिलेसम्म संविधानलाई जोगाएका छन् । देशमा संविधानै रहेन भने देश प्रतिगमनतिर धकेल्ने छ । संविधान कै पूर्णतः पालना गर्दै न्यायपालिकाको शरणमा बहुमत प्रतिनिधि सभा सदस्य सशरीर पुगेर मुद्दा गर्दा सर्बोच्चबाट भएको परमादेशलाई अहिलेसम्म चुनौती दिन बिर्सेका छैनन् र त्यही बेलादेखि यस सरकारलाई जनादेशबाट होइन परमादेशबाट बनेको सरकार भनि रहेका छन् । यसबाट के देखिन्छ भने न्यायपालिका निर्णयलाई पनि नमाने जस्तै व्यवहार गर्नबाट पछि परेका छैनन् । अर्कोतिर अहिले निर्वाचनको घोषणाभन्दा केही पहिले नागरिकता विधेयकमा राष्ट्रपति विधादेवी भण्डारीद्वारा भएको संविधानको ठाडो उलंघनलाई हेर्दा अहिले पनि संविधानलाई बिफल बनाउनबाट पछि परेको देखिँदैनन् । यसमा पनि ओलीको विरोध सबैको सामुन्ने प्रष्ट छ । यस्ता हठले गर्दा देशलाई पुनः भारभैलोमा धकेल्न खोजेको कुरा जनताबाट लुकेको छैन । एकातिर नेकपा (एमाले) नागरिकता विधेयकलाई संसदबाट रोक्न नसकेर राष्ट्रपतिलाई प्रयोग गरेर संविधानमाथि सोझो आक्रमण गराएका छन् । यसरी यस्ता प्रतिगमनतिर धकेल्ने कार्यलाई रोक्न हाम्रो गठबन्धन अहिलेको निर्वाचनसम्म एकदमै जायज हो । प्रजातान्त्रिक समूहका सबै पार्टीहरू मात्र संविधानको पक्षमा उभिएका छन् भने केही बामपन्थी घटकहरू समेत यस संविधानलाई पछाडि धकेल्न चाहँदैनन् । उनीहरू समेत यसै संविधानलाई अग्रगमनको बाटोमा दौराउन चाहनछन् । अहिले मङ्िसर ४ गतेमा हुन लागेको निर्वाचनमा पनि यसै दुई पक्ष अग्रगमन र प्रतिगमनबीचको प्रतिस्पर्धा देखिन्छ । यदि ओली पक्षीय गठबन्धन चित्छ भने भोलि यो संविधान कता जान्छ त्यसको ठेगान छैन ।

देशमा तानाशाही सरकारको जन्म हुन्छ र त्यसको विरूद्धमा लड्न बर्षौ लाग्न सक्छ । यसैले यसपालिको निर्वाचनमा जनताले मत हाल्दा बडो सूझ–बूझका साथ आ–आफ्ना मत हाल्नु पर्ने हुन्छ । हामी सोचौं, हाम्रो एक मतले पनि प्रतिगमनलाई सहयोग गर्न सक्छ । अहिले नेकपा (एमाले) ले पनि अर्को गठबन्धन निर्माण गरेको छ । यस गठबन्धनमा नेकपा (एमाले) राष्ट्रिय समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लिङ्देन÷थापा तथा ह्दयेस त्रिपाठीका पार्टीहरू छन् । यिनीहरू पनि पाँच दलीय गठबन्धनलाइ पछाडि पार्न बडो जोडतोडले लागेका छन् । त्यसैले पाँच दलीय गठबन्धनको सामुने एउटा ठूलै चुनौती रहेको देखिन्छ । ओलीहरू जालझेलमा निपुण छन् । यस्ता झालझेललाई चिर्दै अगाडि बढ्नु भनेको एउटा ठूलै प्रतिगमनलाई तह लगाउनु हो होइन भने भोलि देशमा जे पनि हुन सक्छ । २०१७ साल यस्तै प्रजातान्त्रिक व्यवस्थालाई धरापमा पारेर २०४६ सालसम्म शासन गरेको ऐतिहासिक प्रमाण छ । पार्टीहरूले गठबन्धन त बनाए तर प्रत्येक पार्टीबाट बागी उम्मेदवारहरू निर्वाचनमा उठेको देख्दा भोलि आफ्नै उम्मेदवार आफ्नै बागी उम्मेदवारबाट परास्तत हुने त होइन ! यस्ता कैयौं प्रमाण स्थानीय निर्वाचनमा देखिसकेका छौं । त्यसैले यस्ता बागी उम्मेदवारहरूलाई कसरी निस्तेज पार्न सकिन्छ त्यतातिर राम्ररी ध्यान जानु पर्ने हुन्छ । यदि उनीहरू पार्टीका शीर्षनेताहरूबाट कन्भिन्स हुँदैनन् भने पार्टीहरूले अन्तिम कारबाहीद्वारा पनि हटाउन आनाकानी गर्नु हुँदैन । आज यदि कडाइ गर्न सकिएन भने भोलि यही कुराले यिनीहरूलाई कहाँ लाग्छ ठेगान छैन । हुनत अहिलेसम्म बागीहरूको त्यति राम्रो अवस्था देखिँदैन तर यिनीहरू आफू हार्नु भन्दा आफ्नै पार्टीको हारबाट खुशी हुने मनोविज्ञानलाई हेर्न सकिन्छ । राजनीतिमा कसैको पनि स्थायी दुश्यन हुँदैन । खास निर्वाचनको बेला यस्ता बागी उम्मेदवारहरू पार्टीलाई धोखा दिन खोज्दा यिनीहरूलाई पार्टी परिवर्तन गर्न पनि बेर लाग्दैन । कुनै पनि पार्टीमा दुई किसिमका कार्यकर्ताहरू हुन्छन् ः पहिलो पक्तिका कार्यकर्ताहरू पार्टीको अनुशासनलाई शतप्रतिशत पालन गरेका हुन्छन् भने दोस्रो दर्जाका कायृकर्ता अवसरको खोजमा हुन्छन् । अवसर भेटेन भने भ्यागुतो जस्तै कुद्न बेर लाग्दैन । नेपालको पहिलो निर्वाचन २०७४ भन्दा यस निर्वाचनमा बढी बखेरा देखिन्छन् । पार्टीहरू पनि यस पाँच वर्षमा आ–आफ्ना खरो सिद्धान्तलाई तोडेर जथाभावी कार्यकर्ता प्रवेश गराएका मात्र छैनन् यस्ता कार्यकर्ताहरूलाई टिकट दिन पनि पछि परेनन् । जो लोभले पार्टीमा आउँछ उसले पार्टीलाई कहिले पनि माया गर्दैन ।

जबसम्म उसको अवसर प्राप्त भइरहन्छ तबसम्म मात्र पार्टीमा बस्छ । जुन दिनदेखि अवसर बन्द हुन्छ त्यही दिनदेखि पार्टीलाई लात मारेर अन्य पार्टीतिर लाग्छ । प्रत्येक पार्टीका नेतृत्व गर्ने नेताहरूले यस्ता मान्छेलाई चिन्न असफल देखिन्छ । अहिले नेकपा एमालेमा यस्तै अवसरवादीहरू प्रवेश गराएर तपेतपाएका नेताहरूलाई अवसरबाट वंचित गरेका छन् । यसका अहिलेको प्रत्यक्ष उदाहरण भूसाल, रावल लगायत अन्य नेताहरूसँग भएका व्यवहारलाई लिन सकिन्छ । प्रजातन्त्रमा एकाधिकार प्रणालीको ठाउँ हुदैन । एमालेमा प्रत्यक्ष रूपमा केपी ओलीले एक व्यक्तिको निर्णयले सबैलाई तह लगाएका छन् । यसका परिणाम के आउँला भोलिका आम निर्वाचनले देखाउँला । एमाले जो बोल्छ ठीक त्यसको विपरीत गरेका छन् । यस पार्टीका नेताहरू धेरै ठाउँमा के बोलेका थिए कि कमजोर पार्टीहरूले पो गठबन्धन गर्छन् । पाँच दलीय गठबन्धन हामीसँग डराएर बनेको छ । तर आफू गठबन्धन गर्दा कसबाट डराएर गरेको छ । अहिले एमाले पनि साना ठूला पाँच पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा भिड्न गइरहेको छ । कहिले काँही यसमा नेताहरू १०० भन्दा बढी प्रतिनिधि सभा सदस्यहरूमा हामी तित्दै छौ । यदि तपाइहरू १०० भन्दा माथि एक्लै पार्टीले जित्दै छ भने अन्यसँग गठबन्धन किन ? यी तमाम प्रश्नको जबाबमा एमालेले झूठको खेती गरिरहेको छ । अब नेपालमा साक्षरता प्रतिशत तथा चेतना बढेको छ । यति सर्फद झूठमा एकाएक विश्वास गर्दैन होला । नागरिकता विधेयकमा त राष्ट्रपतिलाई प्रमाणित गर्नबाट नराम्ररी प्रभावित गरेर रोक्न सफल भए । के यहि हो जनतासँग गरेको बाचालाई पूरा गर्ने व्यवहार ? प्रत्येक पार्टीले बागी उम्मेदवारलाई रोक्न सकियो भने बिशुद्ध पार्टी–पार्टी बीचको प्रतिस्पर्धा हेर्न सकिन्छ । कहिले काँहि यस्ता बागी उम्मेदवार कसैको हीतमा होइन आफ्नो हितमा बढी रूची राखेर काम गरेका हुन्छन् । जब पार्टी टिकट दिएन भने बागीको रूप लिन्छ । अनुशासन भनेको यस्ता बागीको लागि केही पनि होइन । अवसर प्राप्त गर्न यस्ता अवसरवादीहरू नेताको सामुने जे जस्तो तलोस्तरका कामहरू पनि गर्न पछि पर्दैनन् । तर अवसरबाट वंचित हुँदै विलुप्त हुन जानछन् । त्यसैले पार्टीहरू यस्ता बागीलाई समयमै समेट्न सकेनन् भने भोलि यस्ता केही उम्मेदवारहरू जितेर संसदसम्म गए पनि आफ्नै अवसरमा लिप्त हुन जानेछन् । कहिले काँही सरकार बनाउन एकादूका सदस्यहरूका अभावमा यस्ता सदस्यहरूको मूल्य निकै उच्च हुनजान्छ । अर्कोतिर पार्टीहरूले निर्वाचन लेनदेनको कामलाई कति नियन्त्रण गर्न सक्छन् त्यसमा पनि जितहार निर्भर हुन्छ । भर्खर भएको स्थानीय निर्वाचनमा यस्ता काम भएको छैन भने कसैले भन्न सकेको छैन । बिशुद्ध निर्वाचनका लागि लेनदेन एउटा ठूलो फोहरी काम हो ।

अन्तमा पुनः निर्वाचनमा होमिएका पार्टीहरूलाई के भन्न चाहन्छु भने बागीलाई छूट दिनु हुँदैन । यसबाट पार्टीहरूको अनुशासनमा एउटा ठूलो धक्का लाग्न सक्छ । लोकतन्त्रलाई बलियो बनाउन पार्टीहरूका काँधमा एउटा ठूलो जिम्मेवारी छ । यस्ता जिम्मेवारीलाई छोड्दै जाँदा भोलि लोकतान्त्रिक पद्धतिलाई समेत प्रभावित गर्न सक्छ । लोकतन्त्र जस्तो शासन प्रणाली अन्य हुनै सक्दैन किनभने यसमा सबैले भाग लिन पाउँछन् । यस्ता प्रणालीमा मान्छेलाई जति अनुशासित हुनु पर्दथ्यो त्यति भएको देखिएन । स्वतन्त्रता र अनुशासनहीनताको भित्रता हुनै सक्दैन । यस्ता उदण्डतालाई नियन्त्रण गर्नै पर्छ । निर्वाचनमा यस्ता उदण्डलाई कहिले पनि ठाउँ दिनु हुदैन । यसका लागि निर्वाचन आयोगले पनि पूरै निगरानी राख्नै पर्ने हुन्छ । निष्कर्षमा के अपील गर्न चाहन्छु भने यहि मंसिर ४ गतेमा हुने आम निर्वाचनमा दृश्य तथा अदृश्य रूपमा सहयोग गरी सफल पारेर हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने काममा सहयोग गरौं ।

Comment


Related News

Latest News

Trending News