निर्वाचन प्रचार प्रसारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गरेको पाइएमा कारवाही गर्ने निर्वाचन आयोगले तयारी थालेको छ ।
बुधबारदेखि प्रत्येक निर्वाचन क्षेत्रमा अनुगमन टोली परिचालन गर्ने भएको छ । प्रचार प्रसारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग भएको पाइएमा कडाई गर्ने मुख्य निर्वाचन अधिकृत ब्रजेश पोखरेलले जानकारी दिए । ‘निर्वाचनमा विदेशी सवारी प्रयोग गर्न पाउँदैनन्, उनले भने–‘विहीबारबाट अनुगमन टोली परिचालन हुन्छ । ठाउँको ठाँउ कारवाही गर्छौं । सवारी सीज सम्म हुन् सक्छ ।’ यस प्रकारको कुरालाई व्यवस्था गर्ने छुट दिँदा निष्पक्ष निर्वाचन नहुने भएकाले कारवाही गर्न निर्वाचन अधिकृतहरुलाई उनले निर्देशनसमेत दिए । बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्थानीय तहको कर्मचारी परिचालन गर्दा केही समस्या देखिएको हुनाले यस पटक त्यो विषयमा आयोग गम्भीर देखिएको उनले बताए । कुनै पनि संगठनमा नलागेको कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचनमा खटाइने उनको भनाई छ । सोही पद्दती अनुसार धनुषामा ६ हजार कर्मचारी छनोट भइसकेको उनले जानकारी दिए । निर्वाचनमा खटने कर्मचारीलाई तालिम दिएर परिचालन गरिने उनले बताए । निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा स्थानीय सरकारलाई सहयोग गर्न उनले अनुरोध गरे । मतदान केन्द्र सम्म पुग्न सडक मर्मत तथा सुधार गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।
मतदान स्थल सुरक्षाको दृष्टिकोणले सुरक्षीत राख्न बाउण्ड्री वाल र भौतिक संरचना बनाउनु पर्ने उनले औल्याए । यी काम गर्न स्थानीय तहले पहिला निर्वाचन आयोगसँग अनुमती लिनुपर्ने छन् । यस्तै, विगतको निर्वाचनमा ४८ घण्टा अगाडि मात्रै मदिरा विक्री वितरणमा निशेध गर्ने गरिएको थियो । तर, यस पटक पटक सात दिन अघिदेखि नै बिक्री वितरण तथा ओसार पोसार रोक्ने निर्वाचन आयोगले बैठकबाट निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । पालिकाको कार्यपालिका सदस्यहरू प्रत्यक्ष रूपमा प्रचार प्रसारमा सहभागी नहुन उनले आग्रह गरेका छन् । मत पेटिकासहित अधिकांस निर्वाचन सामग्री आइसकेको उनले बताए । समानुपातिक मत पत्रको नमूना पनि आइसकेको र बाँकी समान पनि छिट्टै आउने उनले जानकारी दिए ।


