कात्तिक २२ गते मंगलबार कात्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।
बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’मा उल्लेख छ।
बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ। १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए।
कात्तिक २२ गते मंगलवार बिहान ०८:११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। यसअघि कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ।
please subscribe our official youtube channel below and support us.


