निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताएका छन्
। निर्वाचन आयोगद्वारा शुक्रबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा विगतको भन्दा थप कडाइ गरिएको जानकारी दिए । स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न आयोग दृढतापूर्वक अघि बढेको छ, आयुक्त जबराले भने–‘यसका लागि सबै पक्षले इमान्दारीपूर्वक निर्वाचन आचारसंहिताको परिपालना गर्नु जरुरी छ ।’ निर्वाचन आचारसंहिता परिपालना गराउन केन्द्रदेखि जिल्ला तहसम्म बनेका निर्वाचन आचारसंहिता अनुगमन समितिले काम गरिरहेको उनले जानकारी दिए । निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण मात्र होइन, अब आयोग कारबाही गर्न थालेको छ,आयुक्त जबराले भने–‘आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण मात्र होइन, तत्काल अनुसन्धान गरेर कानूनी दायरामा समेत ल्याउने काम सुरु भइसकेको छ ।’ आचारसंहिता उल्लंघन भएको उजुरी आए तत्काल आयोग आवश्यक कारकाही अघि बढाउन तयार रहेको उनले बताए । निर्वाचनप्रति जनताको उत्साह बढाउन, मतदातालाई सचेत बनाउने कार्यमा सञ्चारकर्मी र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले बाहिरी हल्लाको भरमा सूचना प्रवाह गर्दा ठूलो क्षति हुन सक्ने कुरालाई ख्याल गरी सूचना पुष्टि गरेर मात्र सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रममा धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातारण बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । हतार हतारमा समाचार प्रसारण हँुदा कतिपय गलत सूचना पनि प्रसारण भइरहेको उल्लेख गर्दै उनले त्यस्ता सूचनाले निर्वाचनमा असहजता उत्पन्न हुन सक्ने भएकाले सचेत हुन आग्रह गरे । उनले विदेशी नम्बर प्लेटको सवारी साधनमा प्रचार सामग्री हालेर उम्मेदवारले प्रचारप्रसार गरिरहेको सूचना आएकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए । निर्वाचनमा मिडिया र पत्रकारको भूमिकामा सहजीकरण गर्दै उनले मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर निष्पक्ष निर्वाचनको वातावरण बनाउने गरी कलम चलाउनुपर्ने उल्लेख गरे । सो अवसरमा निर्वाचन र सञ्चारमाध्यम विषयमा सहजीकरण गर्दै निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी ७१ वटा उजुरी परेको र त्यसमध्ये ४० जनासँग स्पष्टीकरणसमेत सोधिएको जानकारी दिए । उनले एक जना वडाध्यक्षलाई निर्वाचन आचारसंहिता उल्लंघन कसुरमा पाँच हजार जरिवानासमेत आयोगले गरेको जानकारी दिए ।


