अपडेट 
२०७९ कार्तिक २०, आईतवार १४:४५

बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो।

पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्। जितपछि पाकिस्तानको पाँच खेलबाट छ अंक भएको छ र कम्तीमा केही घण्टाका लागि शीर्ष स्थानमा उक्लेको छ।

यसअघि नै सेमिफाइनल पुग्ने निश्चित भइसकेको भारतको पनि छ अंक रहेको छ। आइतबारको तेस्रो तथा अन्तिम खेलमा भारतले जिम्बावेको सामना गर्नेछ । यो खेलले समूह विजेताको निर्णय गर्नेछ । बंगलादेश चार अंकमै सीमित रह्यो।

बंगलादेशले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यस क्रममा उसले आठ विकेटमा १ सय २७ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नजमुल हुसेनले ४८ बलमा ५४ रन बनाए । उनले २० रन बनाएका सौम्य सरकारसँग दोस्रो विकेटका लागि ५२ को साझेदारी गरे पनि तल्लो क्रमका ब्याट्सम्यान गतिलो योगदान दिन सकेनन् ।

साहिद शाह अफ्रिदीले पाकिस्तानका लागि २२ रनमा चार विकेट लिए। पाकिस्तानले प्रतिउत्तरमा पाँच विकेट गुमाएर १८.१ ओभरमा १ सय २८ रन बनायो।

उसका लागि ओपनर मोहम्मद रिजवानले ३२, मोहम्मद ह्यारिसले ३१ र कप्तान बाबर आजमले २५ रन बनाए । रिजवान र आजमले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

Comment


Related News

Latest News

Trending News