अपडेट 
२०७९ कार्तिक २२, मंगलवार ०६:५३

“विद्यापति केर आयू अवसान, कार्तिक धवल त्रयोदशि जान”

मैथिली महाकवि विद्यापतिको मृत्युको बारे लेखिएको आधारमा कार्तिक शुक्ल त्रयोदशिको दिनउनको स्मृति दिवस मनाइने गरिन्छ । यस वर्ष कार्तिक २० गते उनको दिवस परेको थियो । विद्यापतिको मृत्यु कुन वर्षमा भयो ? यस विषयमा सटिक प्रमाणहरु पाइएको छैन । यस बारेमा विद्वानहरुमा विवाद छ । त्यसैले विद्वानहरुको मतहरुको आधारमा विद्यापतिको मृत्यु सन् १३४०द्ेखी १३५०को बीचमा हुनुपर्ने अनुमान गरिन्छ । विद्यापतिको जीजुबाजे वीरेश्वर सिमरौनगढ़ (हाल बारा नेपाल)लाई केन्द्र बनाएर तिरहुतराज्य सञ्चालन गरिरहेको कर्णाटवंशका अन्तिम राजा हरिसिंह देवका भाण्डारिक थिए । वीरेश्वर ठाकुरका सातभाई मध्येका एक भाई चन्डेश्वर हरिसिंहदेवका प्रधान सेनापति थिए, जस्ले भक्तपुरराज्य (हालको काठमाँडौ उपत्यका)मा आक्रमण गरेर कम्तीमा अढाईवर्ष राज्य गरेका थिए । भारतीय मिथिलाका तत्कालीन ओइनिवारवंशी राज घरानासंग उनको अत्यन्त निकटको सम्बन्ध थियो । आफ्नो शतकीय जीवनकालमा मृत्यपर्यन्त कम्तीमा सातदेखी आठवटा शासकहरु उनले बेहोरे । तर उनि राजा शिवसिंहका बाल सखा, अनन्य मित्र तथा राजकविको रुपमा बढी प्रसिद्ध छन् । भारतमा जौनपुरको नवाबसंगको युद्धमा राजा शिवसिंह फँसेपछि विद्यापति रानी लखिमा देवी र राजपरिवारका सदस्यहरु सहित सुरक्षित आश्रयको खोजीमा सप्तरी जनपदको बनौलीमा शरण लिन आएका थिए । त्यतिबेला सप्तरीमा द्रोणवार(दोनवार) राजा पुरादित्य राजा शिवसिंहका मित्र थिए । विद्यापतिको नेपाल सन्दर्भ यहीँबाट शुरु हुन्छ । करीब बाह्रवर्षको नेपाल बसाईको क्रममा विद्यापतिले राजा पुरादित्यको आदेशमा राजकीय पत्रलेखन र व्यवहारसंग सम्बन्धित ‘लिखनावली’को रचना गरेका थिए भने रानी लखिमाको आदेशमा ‘श्रीमद्भागवत’ सारेका थिए । विद्यापति पदावलीका श्रृङ्गार र विविध पदहरुको रचना राजा शिवसिंह लगायत अन्य आश्रयदाता राजाहरुकोदरबारमा भएको थियो भने अधिकांश भक्तिप्रधान रचनाहरु राजा पुरादित्यको आश्रयमा रहँंदाका बेला रचिएको हो । विद्यापतिले आश्रय लिएको बनौली कुन हो ? यसबारे नेपालकै विद्वानहरुमा व्यापक विवाद छ । केहीको मतमा विद्यापतिले आश्रय लिएको ठाउँ महोत्तरीको बनौली हो भने केहीको मतमा सप्तरीस्थित बनौली र केहीले सिरहा स्थित बनौलीको पक्षमा मत दिइरहेका छन् । मूख्यतः महोत्तरी र सप्तरीको बनौलीबारे बढी दावीहरु आएका छन् ।

यद्यपि लोक वृत्तान्तहरुको आधार मान्ने हो भने सिरहालाई पनि उपेक्षा सकिँदैन । सप्तरीका राजा पुरादित्य विद्यापतिका आश्रयदाता ओइनिवारवंशी राजा शिवसिंहका मित्र भएको तथा अहिलेको सप्तरी जिल्लामापनि बनौली रहनुले विद्यापतिले आश्रय लिएको सप्तरी नै हो भन्ने दावीलाई बल पु¥याउँछ । तर त्यतिबेला हालको सिरहापनि सप्तरी जनपद अन्तर्गत नै थियो र सिरहाको पताइर पोखरी नजिक लाटीबौकीको मन्दिर छ । लोक किम्बदन्ती अनुसार लाटीबौकी शिवसिंहकी रानी लखिमा देवी हुन । लखिमा देवी अर्थात लाटीबौकी देवी दोनवार हरुका आराध्यदेवी छिन् । दोनवारहरुको लोकमान्यता अनुसार वैशाख १ गते जुडशीतल (स्थानीय भाषामा सिरुवा )को दिनउनिहरुले लाटीबौकी देवीको पूजा गर्दछन् । यसदिन यहाँं मेला लाग्दछ । किम्बदन्ती अनुसार विद्यापतिसंगै नेपालको सप्तरी जिल्लाको राजबनौलीमा शरण लिन आएकी राजा शिवसिंहकी रानी लखिमा देवीले आफ्ना पति युद्धमा मारिएको खबर पाएपछि अचेत भएकी थिइन । उनले त्यहीँ कुशको राजा शिवसिंहको प्रतीक शव बनाएर त्यससंग सती भइन । यिनै शोकग्रस्त रानी लखिमा देवीलाई दोनवारहरुले लाटी बौकीदेवी मानेर पूजा गर्दछन् । बनौली शब्दले वनप्रान्तरमा रहेको स्थलको अर्थ दिन्छ । लाटीबौकी देवीको मन्दिर अहिलेपनि वन्यक्षेत्र जस्तै छ । यसरी विद्यापतिले आश्रय लिएको बनौली सिरहामा थियो भन्ने तर्कलाईपनि एकदमै उपेक्षा गर्न सकिँदैन । महोत्तरीको बनौलीको बारेमा कयौँ विद्वानहरुले दावी गरेका छन्, तर उनिहरुले पोखरी र डीह बाहेक अन्य कुनै ठोस प्रमाण वा तथ्य प्रस्तुत गरेका छैनन् । महोत्तरीको बनौलीको आधार सम्भवतः सन् १९०१मा प्रकाशित विद्यापति रचित ‘ लिखनावली’को प्रकाशकीयमा मैथिलीका प्रसिद्ध कविश्वर चन्दा झालाई उल्लेख गर्दै महाकविले महोत्तरी स्थित बनौलीमा आश्रय लिएको उल्लेख गरिनु हो ।दरभंगाबाट प्रकाशित भएको यस पुस्तकको प्रकाशक श्रीकान्तविहारि मिश्र छन् । ‘विज्ञापन’ शिर्षकबाट हिन्दी भाषाको प्रकाशकीयमा लेखिएको छ ः “शिवसिंहपुर जिसको गजरथपुरभीनामाचार है वही शिवसिंहकी राजधानीथी वह उजड गई जो दरभंगा कोटकचहरीसेदछिन १ कोसहै लखिमा रानी आदि नेपालतराइ राजाबनौली जनकपुरके निकट है वहा यवनराजके भय से रहने लगी । वहाँ पानीकी कष्ट देखकर कवि विद्यापति एक बडी पुष्करणी खुदाया ……..यह लिखनावली दोनवारपुरादित्य गिरिनारायणकी आज्ञानुसार कविविद्यापति निम्र्मानकिया महाराजा दरभंगा सभासदकविश्रीचन्दा झाजीका प्राचीन मिथिला इतिहास संग्रहसे यस समाचार विदित कियागया है ।” (कविश्वर चन्दा झा मैथिली साहित्यमा एउटा विराट व्यक्तित्व हुन्, जस्ले मैथिली रामायणका अतिरिक्त अनेकौँ पदावली, विद्यापति सहित मध्यकालीन मैथिली कविहरुका पुस्तकहरुको सम्पादन गरेका छन् । यस अतिरिक्त मिथिलाको प्राचीन इतिहास र अन्य स्थलहरुको खोजीगर्ने श्रेयपनि उनलाई दिइन्छ ।¬) तर श्रीकान्तविहारी मिश्रको ‘विज्ञापन’ (लिखनावलीको प्रकाशकीय)मा थुप्रै ऐतिहासिक त्रुटिहरु छन् ।सबभन्दा त उनले पुरादित्यलाई महुतरीको राजा र राजा अर्जुनलाई सप्तरीको राजा भनेका छन् । जबकि इतिहासकार हरुका अनुसार पुरादित्य सप्तरीका र अर्जुन महुतरीका राजा थिए । यी दुईमा शत्रुता थियो र पुरादित्यले अर्जुनको वध गरेका थिए । विद्यापतिले आश्रय लिएको बनौली कुन थियो भन्ने विषयमा बहस गर्नुभन्दा पूर्व तत्कालीन समयमा नेपालीय मिथिला (विशेष गरेर सप्तरीदेखी महुतरीसम्म)को स्थिति र राजवंशबारे सामान्य उल्लेख गर्नु सान्दर्भिक होला । विद्यापतिकालीन सप्तरी र महुतरी (महोत्तरी) मा दुईवटा राजवंश दोनवार र ओइनिवारवंशको शासन देखिन्छ । तत्कालीन समयको मिथिलामा सप्तरीमा हालको सप्तरी र सिरहा तथा महुतरीमा हालको धनुषा, महोत्तरी र सर्लाही थियो । इतिहासकारहरुका अनुसार कर्णाटवंशको अन्तिम राजा हरिसिंहदेवको मृत्यु १३२४मा भएको थियो । यसपछिको करिब पचास वर्षसम्म अराजकताको स्थिति रहेको कुरा इतिहासकार ज्ञानमणि नेपाल (नेपालको माध्यमिक कालको इतिहास)ले उल्लेख गरेका छन् । त्यसपछि भारत बिहारको ओइनीमा (र पछि दरभंगा नजिक सरेको)ओइनिवारवंशी ब्राह्मणहरुको शासन स्थापित भएको इतिहास पाइन्छ ।विद्यापतिकालमा महुतरीमा ओइनिवारवंशी राजा अर्जुन र सप्तरीमा दोनवार राजा पुरादित्य थिए । राजा अर्जुनसंग सप्तरीका राजा पुरादित्यको शत्रुता थियो । राजा अर्जुनको शिवसिंहसंग राम्रो सम्बन्ध थिएन र उनले शिवसिंहसंग दुव्र्यवहार गरेका थिए । यसैकारण पुरादित्यले राजा अर्जुनको वध गरिदिए । विद्यापतिले यसबारे ‘लिखनावली’को पुष्पिकामा यसरी उल्लेख गरेका छन् :

“जित्वा शत्रुकुलं तदीय वसुभिर्यैनार्थिनस्तप्पितादोद्र्दप्पार्जित सप्तरी जनपदे राज्यास्थितिः कारिता । सङग्रामेऽर्जुनः भूपतिर्बिनिहतो बन्धौ नुशंसयित स्तेनेयं लिखनावली नृपपुरादित्येन निर्मापिता ।।”

(डा. इन्द्रकान्त झा, विद्यापतिकृत लिखनावली, पटना–१६÷श्रोत—डा. प्रफुल्लकुमार मौन, नेपालमा मैथिली साहित्यको इतिहास) अर्थात, ‘शत्रुलाई पराजित गरेर उसको धनराशिबाट याचकवृन्दलाई सन्तुष्ट गरे, आफ्नो भुजबलोपार्जित सप्तरी राज्यमा राजसत्ता स्थापित गरे तथा युद्धमा आफ्नो बन्धु (शिवसिंह) संग निर्दय व्यवहार गर्ने अर्जुन राजालाई वध गरे, त्यो राजा पुरादित्यले यस लिखनावलीको रचना गराएका थिए ।’लिखनावलीमा राजा अर्जुनलाई भूपति भनिएको छ । कालान्तरमा द्रोणवार राजवंशको एउटा शाखा समस्तिपुर (बिहार, भारत)मा स्थानान्तरित भयो र यसैको राजाश्रयमा चन्दा झाले ‘मिथिला भाषा रामायण’ लेखे । (डा. मौन, नेपालमा मैथिली साहित्यको इतिहास) । ओइनिवारवंशबारे इतिहासकार हेमिल्टनले पनि चर्चा गरेका छन् ।उनको लेखन अनुसार सप्तरीका द्रोणवार राजा पुरादित्यले महोत्तरीका ओइनिवारवंशीय राजा राय अर्जुनको वध गरेर द्रोणवारहरुको सत्ता महोत्तरीसम्म फैलाएका थिए । (डा. प्रफुल्लकुमार मौन) । काठमाडौँ उपत्यकाको प्रतापमल्लको एउटा शिलालेखमा ‘भगवतीपुर देशको महोत्तरी राज्य’ मा कीर्तिनारायणको वंशावली उल्लेख गरिएको छ —‘ भगवतीपुर कीर्तिनारायण श्यवान पुत्री राजकन्या श्रीश्री बाघनारायण, श्यवान पुत्र श्रीश्री कीर्तिनारायण श्यवान पुत्री राजकन्या श्रीश्री लालमतिदेवी सोहम महारानी पति महाराजाधिराज भूपकेसरी श्रीश्री राज राजेन्द्र प्रतापमल्ल…..।’ महोत्तरीको राजा कीर्तिनारायणको छोरी लालमतिसंग प्रतापमल्लको बिवाह भएको थियो । राष्ट्रिय अभिलेखालयमा संरक्षित ‘हरिवंश’ पुस्तकको पुष्पिकाबाट लालमतिले हरिवंशको द्वादश पारायण गराएको जानकारी प्राप्त हुन्छ । यस पुष्पिकावाक्यमा कीर्तिनाराणलाई महुतरी राज्याधिप भनिएको छ । यथा —संवत् ७७२ चैत शुक्ल पंचदशया तिथौ तहिने नेपालदेशे महाराजधिराज श्रीश्री मन् प्रतापमल्ल पालितायां कान्तिपुर्या महाराजाधिराज प्रतापमल्लले प्रभोराज्ञा प्राप्य महुत्तरी राज्याधिराज श्रीश्री मत कीर्ति नारायण कन्यकण श्रीश्री लालमति देव्यां हरिवंश परायण कृतः ।……।…..।‘ ((मेडिएभल नेपाल, भाग–४, शिलालेख स.ं ५४÷श्रोत—डा. मौन)। डा. रामदेव झाले भगवतीपुरको ओइनिवार वंशको समय १४५० देखि १६५० ई. मानेका छन् । यस वैवाहिक सम्बन्धबाट महोत्तरी राजवंशको कुलीनता एवं राजकीय स्तर उच्च थियो भन्ने बुझिन्छ । (मिथिला मिहिर, पटना,१९सेप्टेम्बर,१९७१÷श्रोत—डा. मौन, नेपालको मैथिली साहित्यको इतिहास) । यी ऐतिहासिक तथ्यहरुको समीक्षा गर्ने हो भने विद्यापतिले आश्रय लिएको बनौली महोत्तरीमा हुने दावी कमजोर हुन जान्छ ।

तत्कालीन महुतरीको ओइनिवारवंशी राजा अर्जुनसंग राजा शिवसिंहको सम्बन्ध कटुतापूर्ण रहेको, सप्तरीका राजा पुरादित्य शिवसिंहको मित्र भएको र शिवसिंहकै कारण राजा अर्जुन मारिनु परेकोले विद्यापति महुतरीको बनौलीमा शरण लिन जानु अस्वाभाविक हुन जान्छ । यस्को विपरीत राजा पुरादित्य मित्र रहेकोले उनको राज्य सप्तरी जनपदमा शरण लिनु जानु स्वाभाविक देखिन्छ । तर तत्कालीन समयमा हालको सिरहापनि सप्तरी जनपदभित्रै रहेकोले विद्यापतिले आश्रय लिएको बनौली सप्तरी वा सिरहाको हो भन्ने अन्यौल कायम नै रहन जान्छ । विद्यापतिको बनौली सप्तरी, सिरहा वा महोत्तरी मध्ये कुन हो भन्ने प्रश्न अहिलेपनि अनिर्णयग्रस्त नै छ । दावी सबैका छन् । तर ती दावीहरुमा तथ्य र प्रमाणभन्दापनि विश्वास र तर्कहरु बढी छन् । त्यसैले यस विषयलाई प्रमाण र तथ्यहरुको आधारमा निरुपण गरिएन भने यस्ले अनावश्यक विवाद सिर्जना गरिरहने देखिन्छ । विद्यापति मैथिली साहित्यका यस्ता जाज्ज्वल्यमान तारा हुन्, जस्को प्रकाश मैथिलीभाषी मात्र होइन, भोजपुरी, बंगााली, उडिया भाषी क्षेत्रमा समेत प्रकाश छरीरहेको छ । यस अमर गीतकारको छसय वर्ष पुराना गीत (पदावली)हरु वर्तमानमापनि लोकगीत सरह मैथिली, भोजपुरी, थारु, दोनवार, नेवार भाषा लगायत अभिजात्य र लोक दुबै समाजको उत्सवहरुमा गुन्जिने गर्छ । विद्यापतिका लेखन प्रवृत्तिबारे विविध विमर्श र आलोचना–समालोचना हुनसक्छन्, तर लोकमन र साहित्यिकीय लालित्यका निम्ती उनि अद्वितिय हुन् भन्नेमा दुईमत छैन । उनि हामी सबैको निम्ती गर्वका विषय हुन् । मैथिली–भोजपुरी लगायत गङ्गानदीको मैदानीक्षेत्रका विकसित नवआर्य भाषाहरुका प्रसिद्ध अनुसन्धाता र भाषाविद् जर्ज अब्राहम ग्रीयर्सनले आफ्नो मैथिली क्रिस्टोप्याथीमा विद्यापतिलाई इतिहासमा अभूतपूर्व (अनप्यारालल्ड इन द हिस्ट्री अफ लिटरेचर) भनेका छन् । यसैकारण ग्रीयर्सनको भनाईमा विद्यापति आफ्ना युगका आदर्श मात्र होइनन्, बरु युगको सम्पूर्ण प्रतिनिधित्व समेत गरेका छन् (ही इज नट ओनली द मोडेल अफ द एज बट रीप्रेजेन्ट इट अलसो इन एभरी वे ) । अस्तु ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News