नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निवार्चनपछि कांग्रेसकै सरकारले नागरिकताको समास्या समाधान गर्ने बताएका छन् ।
जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै ओलीले आफ्नै पार्टीलाई जोडेर राख्न नसकेकाले देशलाई उनको नेतृत्वको सरकारले जोड्नसक्ने दाबी गर्नु दिवास्वप्न मात्रै भएको बताए । नेता महतले कांग्रेसको नेतृत्व सहिष्णु र काम बढी तथा कुरा कम गर्ने नेतृत्व रहेकोले आगामी निर्वाचनपछि देशमा कांग्रेसकै नेतृत्वमा फेरि सरकार बन्ने दाबीसमेत गरे । उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको उपलब्धिको रक्षा गर्दै यसमा आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानलाई टेकेर अगाडि बढ्ने बताए । महतले आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न मुलुकभरिका जनता खुलेरै लागेको देखिएकाले आगामी सरकार कांग्रेसको नेतृत्वमा बन्ने पक्का भएको दाबी गरे । उनले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेका अवरोधका कारण लागु गर्न नसकेको बताए ।


