धनुषाका तीन जना उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विरुद्ध उजुरी परेको हो । प्रतिनिधिसभा को लागि नेपाली कांग्रेसका समानुपातिकतर्फका उम्मेदवार विमलेन्द्र निधि, पाँच दलीय गठबन्धनका उम्मेदवार अनिल झा र प्रदेशसभा सदस्य पदको ‘ ख’मा उम्मेदवार रहेका परमेश्वर साह विरुद्ध उजुरी परेको छ । उनीहरुको उम्मेदवारी खारेजको माग गर्दै जनकपुरधाम उपमहानगरपालिका ४ का चन्द्रमोहन चौधरीले उजुरी गरेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । गत आइतबार जनकपुरधामस्थित विद्यापति चोकमा सम्पन्न विद्यापति स्मारक पर्वमा प्रमुख अतिथिको रूपमा कांग्रेस नेता निधि, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार झा र ३ (ख)का प्रदेशसभा सदस्य पदका उम्मेदवार साह सहभागी थिए । उनीहरूले निर्वाचनको बेलामा सम्मान गरेर कार्यक्रममा बोलाउँदा पार्टीको नारा लगाएर आचारसंहिता उल्लंघन गरेको चन्द्रमोहनले दाबी गरेका छन् । विद्यापति स्मारक पर्वका संरक्षक भनिएका चन्द्रमोहनले तीनै उम्मेदवारहरुले आफू स्वतन्त्र भए पनि आफ्नो तस्विर लिएर सञ्जालमा शेयर गरी आफ्नो चरित्र हत्या गरेको गुनासो गरेका छन् ।
चौधरीले सो कार्यक्रम राजनीतिक उद्देश्य अथवा प्रचारप्रसार गर्ने उद्देश्यले नभएको बताए । तर कार्यक्रममा आफूलाई समितिको पूर्वसंयोजकको हैसियतले आमन्त्रण गरी तस्विर र भिडियो बनाएर आफ्नो पार्टी र गठबन्धनको प्रचारप्रसारमा प्रयोग गरेको बताएका छन् ।


