बैंक तथा वित्तीय संस्थाहरूले लिदै गरेको चर्को ब्याजदरले व्यवसायीहरु मारमा परेको भन्दै जनकपुरधाम जनकपुर उद्योग वाणिज्य संघले विरोध जुलुस प्रदर्शन गर्दै नेपाल राष्ट्र बंैक,जिल्ला प्रशासन कार्यालय धनुषासहितका निकायमा ज्ञापनपत्र बुझाएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको विरोध र्यालीमा स्थानीय व्यवसायीले प्लेकार्डसहित विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका थिए । जनकपुरधामस्थित जनकपुर उद्योग वाण्ज्यि संघको प्राङ्गनबाट निकालिएको सो र् याली शिव चोक,कदम चोक, भानु चोक, राम चोक सहितमा प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जनकपुरधामस्थित नेपाल राष्ट्र बैकका निर्देशकलाई ज्ञापनपत्र बुझाएका थिए । ब्याजदर घटाउनुपर्ने, बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृति शुल्क, एलसी नेगोसिएसन शुल्कमा गरिएको दोब्बर वृद्धिलाई घटाएर यसअघिकै कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूले अगाडि बढाएको धितो लिलामको प्रक्रिया तत्काल रोक्नुपर्ने लगायतका माग ज्ञापनपत्र उल्लेख छ । बैंकहरूले ब्याजदर बढाउँदा उद्योग, व्यवसायमा लगानी समेत घटेको बताउँदै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने,‘ब्याजदर चर्को बढाउँदा उद्योगी, व्यवसायी पलायन हुनुपर्ने अवस्था पुगेको छ भने लगानीकर्ताको संख्या पनि घट्दै गइ बेरोजगारको संख्यामा व्यापक वृद्धि भएको छ । त्यसकारण ब्याजदर एक अंकको हुनुपर्छ ।’

