२०७९ कार्तिक २६, शनिबार ०६:५८

सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादव र एमाले जसपाबाट गठबन्धनबाट जसपाका उम्मेदवार राजकिशोर यादवबीच घमासान छ ।

वरिष्ठ पत्रकार समेत रहेका रामरिझन यादव र देवकुमार यादवले पनि प्रतिनिधिसभा सदस्यमा भाग्य परीक्षण गर्दैछन् ।उनीहरुले काट्ने मत निर्णायक नहुने देखिए पनि चुनावको एजेण्डा भने स्थापित गरेका छन् । कांग्रेसकी उम्मेदवार चित्रलेखा यादव सरकार, प्रतिनिधिसभा र पार्टीमा झण्डै तीन दशकदेखि नेतृत्वदायी भूमिकामा रहँदै आएकी छन् ।तर चुनावमा भने २०५६ सालको चुनावमात्र जितेकी हुन् । दुबै संविधान सभामा उनी समानुपातिकबाट पुगेकी थिइन् । उपसभामुख, पटक–पटक मन्त्री बनेकी यादवका श्रीमान् लोकसेवा आयोगका सदस्य थिए । पार्टी नेतृत्वमा समेत उनी केन्द्रीय कोषाध्यक्ष भइसकेकी हुन् ।“ ‘जन मन’ बुझ्न चुकेका यादवबाट मतदाताहरु अहिले टाढिएका छन्” सो क्षेत्रका मतदाता रामेश्वर साहले भने, कांग्रेसको संगठन बलियो भए पनि उम्मेदवारले त्यसलाई परिचालन गर्न सकिरहेका छैन् । सिराहा जिल्लाकै निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य बनेका जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार राजकिशोर यादव भने अगाडि देखिएका छन् ।उनी निर्वाचन क्षेत्र नम्बर २ मा ‘अनटेस्ट’ उम्मेदवारका रुपमा मतदाताको विश्वासपात्र बन्न थालेका छन् । पूर्व सञ्चारमन्त्री समेत रहीसकेका यादवका लागि निर्वाचन क्षेत्र नम्बर २ मा जसपाको संगठन र पालिकामा प्राप्त सफलताले पनि बल पु¥याएको छ ।आफ्नै बुत्तामा चुनाव लडिरहेका यादवका लागि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव बलियो सहयोगी बनेका छन् । प्रतिनिधिसभा सदस्यका लागि जनमत पार्टीका विनोद यादवको हर्न पनि बजिरहेको छ ।मतदानको मिति नजिकिएसँगै हर्नको स्वर ठूलो सुनिन थालेको छ ।जनमत पार्टीको पनि प्रभाव क्षेत्रमा व्यापक रहेको छ ।उनले चुनावको परिणामलाई फेरबदल गर्न सक्ने क्षमता राखेका छन् । जसपाका उम्मेदवार पूर्व मन्त्री यादवले चुनावमा मतदातालाई प्रभावित गर्न अपनाएको शैलीलाई पनि आमनानगरिकले प्रशंसा गरिरहेका छन् ।उनी घरदैलोको क्रममा स्थानीय समस्याहरुको पहिले नै पहिचान गरी मतदाताहरुसित भलाकुसारी गर्छन् ।युवा रहेकाले उनी अबेर रातिसम्म कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् । सिरहा जिल्लाको अन्य निर्वाचन क्षेत्रहरुको भन्दा बढी चर्चा पाएको क्षेत्र नम्बर २ मा उम्मेदवारहरुले सम्पूर्ण ताकत लगाएका छन् । मतदाताहरु अझै खुलिसकेका छैनन् ।तर बाहिरी वातावरणले कुनै पालिकाको वडामा कुन दलको जोड भन्ने सहजै बुझ्न सक्ने वातावरण बनिसकेको छ । सरकार र पार्टीको नेतृत्वदायी भूमिकामा प्रायः रहेकी कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई मतदाताहरुले पदमा हुँदा क्षेत्रमा नआएको, विकासमा चासो नदेखाएको जस्ता आरोप लगाउदै अनेक प्रश्नहरु तेस्र्याउने गरेका छन् । जसपाका उम्मेदवार पूर्व मन्त्री यादवलाई अन्य क्षेत्रबाट चुनावका लागि मात्र आएको आरोप पनि लाग्ने गरेको छ ।तर उनको सकृयता र विश्वास दिलाउने शैलीले विपक्षी मतदाताहरुको ‘वार’ प्रभावकारी हुन नसकेको राजनीतिमा सक्रिय युवा सीताराम यादव बताउँछन् ।

क्षेत्र नम्बर २ मा पूर्व मन्त्रीबीचको घमासनसँगै मधेश प्रदेशका कृषि मन्त्री विजय यादवलाई प्रदेश क मा प्रतिष्ठा जोगाउन त्रिपक्षीय संघर्ष गर्नु परिरहेको छ ।जसपाबाट उम्मेदवार रहेका प्रदेश मन्त्री यादवलाई सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार जिवछ यादव र जनमत पार्टीका सञ्जय यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।माओवादीका जिवछ यादव स्थानीयमा बढी भिँजेका छन् ।जनमतका सञ्जय यादव नयाँ जोशका साथ क्षेत्रमा संगठन गरेका छन् ।जसपाका उम्मेदवार यादव प्रदेश सरकारका मन्त्री हुन् । क्षेत्रको चुनाव भन्दा पनि बढी रोचक प्रदेशको चुनाव भएको मो.रसुल कवारी बताउँछन् ।संगठनात्मक मतको मात्र भर परे चिप्लन सक्ने बताउँदै उनले भने, हरेक उम्मेदवार आफ्नो दलका मतको सुरक्षा र अन्य दलबाट मत चोर्ने ‘जोगाड’मा लागेका छन् । त्यसैगरी प्रदेश ‘ख’ मा एमालेबाट शत्रुधन सिंह कोइरी र नेकपा एसबाट मदनसेन श्रीवास्तवबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उम्मेदवारी दर्ता हुने बेला सम्म चार पटक जसपा र एमाले गरेका कोइरीको प्रभाव प्रदेश ‘ख’मा राम्रो रहेको छ ।तर पटक–पटक दल परिवर्तन गरेका कोइरीका लागि सत्ता गठबन्धनका उम्मेदवार श्रीवास्तव भारी भएका छन् । क्षेत्रमा प्रतिष्ठित राजनीतिकर्मीको रुपमा रहेका श्रीवास्तवप्रति सहानुभूति देखिएको छ ।तर क्षेत्रमा कोइरी मतदाताको संख्या बढी रहेकाले शत्रुधन सिंहको स्थिति कमजोर छैन् ।मुख्य रुपमा कोइरी र श्रीवास्तवबीच नै कडा प्रतिस्पर्धा हुने मतदाताहरुको अनुमान छ । क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ४ सय ६५ मतदाता छन् । चुनावमा कुल २३ जना उम्मेदवार रहेका छन् । क्षेत्रमा नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सुखीपुर नगरपालिकाको समेत रहेको ४१ वटा वडा रहेका छन् । स्थानीय चुनावमा कांग्रेसले १२, एमालेले १०, जनता समाजवादी पार्टीले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनमत पार्टी १ वडा जितेका छन् । स्थानीय तह वडाका आधारमा कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी सम्मिलित लोकतान्त्रिक–वाम गठबन्धनले ३३ हजार ८ सय ९५ मत पाएको देखिन्छ । एमाले–जसपा गठबन्धनले ३२ हजार ३ सय ४८ मत पाएको छ । स्थानीय तहमा एउटा वडा जितेको जनमत पार्टीले ४ हजार ९ सय ६६ मत पाएको थियो ।

Comment


Related News

Latest News

Trending News