मौन अवधिको समय नजिकिदै जाँदा उम्मेदवारहरु मत आफ् नो पक्षमा पार्न अन्तिम चरणको प्रयासमा जुटेका छन् । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम प्रचारप्रसार गर्ने अवघि मंसिर १ गतेसम्म मात्र रहेको छ । ७२ घण्टे मौन अवधि शुरु हुनु अघिनै उम्मेदवारहरु मतदातालाई रिझाउन रोड शो, चुनावी सभा देखि घर–घर गएर भेटने कार्यमा तीब्रताका साथ लागेका छन । जसकारण चिसिदै गएको मौसममा राजनीतिक माहोल भने निकै तताएको छ ।
सप्तरीमा प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठ पदका लागि निर्वाचन हुँदैछ । तर, सबैको चासो र चर्चाको केन्द्र भने क्षेत्र नं. २ बनेको छ । यहाँको चुनावी चासो राष्ट्रिय स्तरसम्मै छ । यहाँ मुख्य प्रतिस्पर्धीमा सत्तारुढ गठबन्धनका उम्मेदवार लोसपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, जनमतका राष्ट्रिय अध्यक्ष डा. सिके राउत तथा जसपा– एमाले गठबन्धनका उम्मेदवार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव छन् । यस क्षेत्रमा ४ स्वतन्त्र सहित १८ जना चुनावी मैदानमा छन् । तर उनीहरुको खासै चर्चा छैन । यस क्षेत्रमा कुल ९५ हजार ३ सय ९४ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा ती मध्ये ६४ प्रतिशत अर्थात करीब ६२ हजार मत खसेको थियो । यसपल्ट पनि उस्तै–उस्तै संख्यामा मत खस्ने अनुमान गरिएको छ । तीन वटै उम्मेदवार बीच कडा टक्कर देखिएकाले चुनाव जित्न कम्तिमा २२ हजार मत कटाउनु पर्ने संसदीय निर्वाचनलाई नजिकबाट नियालिरहेका राजनीतिक विषलेशकहरु बताउँछन । यहाँको निर्वाचन परिणामलाई जातिय मतले समेत उलटफेर गर्ने गरेको विगतको निर्वाचन परिमाणले देखाएको छ ।
यसपटक पनि अन्तिम चरणमा सो समीकरण दोहोरिने अनुमान गरिएको उनीहरुको भनाई छ । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालिन राजपा र कांग्रेस समेतको साथ पाएर संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उपेन्द्रले जित हात पारेका थिए । तर यस पटक गठबन्धन र परिस्थिति दुवै फेरिएको छ । त्यतिबेला उपेन्द्रलाई सघाएका तत्कालिन राजपा र कांग्रेस अहिले विपक्षमा उभिएका छन् । अहिले ती दुवै दलको साथ गुमाएका उपेन्द्रको एमालेसँग गठबन्धन भएको छ भने तत्कालिन राजपा वर्तमानको लोसपा, कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलको गठबन्धन तर्फबाट साझा उम्मेदवार बनेका छन् लोसपाका जयप्रकाश ठाकुर । उपेन्द्रकै पालिका पर्ने महादेवा गाउँपालिकाका वासिन्दा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतको उम्मेदवारी उपेन्द्रका लागि टाउको दुखाई बनेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार ठाकुरले चुनौती दिइरहेका बेला आफ्नै पालिकाका अर्का उम्मेदवार डा. राउतको उपस्थितिले उनलाई थप दवावमा पारेको छ । अर्को तर्फ यसपटक न त मधेश आन्दोलनको ‘राप– ताप’ न त मधेशी आन्दोलनका माग वा अधिकारको मुद्दा, स्थानीय शम्भु यादव भन्छन् –‘एमाले र ओली सबैभन्दा ठुलो मधेशी विरोधी भएको भन्दै आएका उपेन्द्रले उनैको दलसँग गठबन्धन गर्दा यहाँका मतदातामा चर्को असन्तुष्टि छ ।’ नागरिकता विधेयक लगायत मधेश प्रदेशलाई असफल बनाउने अभियानमा लागेका एमालेसँगको गठबन्धनले उपेन्द्रलाई झन गाह्रो बनाएको अर्का स्थानीयवासी रामजी यादवको भनाई छ ।
राजविराज नगरपालिकासहित महादेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई पालिकामा लोसपा र एक÷एक पालिकामा कांग्रेस तथा जसपाले प्रमुख पद जितेको छ । यस्तो अवस्थामा उपेन्द्रलाई जित हात पार्न २०७४ साल जस्तो सहज नरहेको राजनीतिक विशलेषकहरु बताउँछन् । मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलो अभियानलाई तीब्र बनाएका डा. राउत वर्षोदेखि सत्तामा हालीमुहाली गरिरहेका एमाले, कांग्रेस, माओवादी, जसपा लगायतका दलले अघि सारेका एजेन्डा उनीहरुको सत्तामा पुनरागमनका लागि मात्र भएको बताउँछन् । यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो । उनका लागि आगामी राजनीतिक भविष्यका दृष्टिले पनि यो चुनाव महत्वपूर्ण देखिन्छ । पछिल्लो स्थानीय तहको निर्वाचनमा उनको सांगठनिक मत कमजोर देखिएपनि अहिले उनको क्रेज र प्रभाव दिनानुदिन बढ्दै गएको छ । ‘डा. राउतको छवि, किसान आन्दोलन र भ्रष्टाचार विरोधी अभियानका कारण जनमतको लहरनै चलेको छ, जनमतका स्थानीय नेता थानेश्वर साह भन्छन – ‘डा. राउत ठूलो मतान्तरले जित हात पार्नेमा हामी ढुक्क छौ ।’ ‘आश्वासन मात्र बाडने त्यस्ता पुराना नेता दललाई जनताले अब पत्याउँदैनन’– डा. राउत भन्छन्– ‘हामी निरन्तर रुपमा बढदै गएको शक्ति हौं त्यसैले यसपल्ट जनताले मौका दिने कुरामा ढुक्का छौ ।’ उनले भ्रष्टाचार र महँगी नियन्त्रण, किसानको समस्या समाधान, युवालाई रोजगारी तथा शिक्षा र स्वास्थमा सुधार लगायतका विषयलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् । २०७४ मा चुनाव जितेका उपेन्द्र यसपटकको निर्वाचनमा पनि जित दोहो¥याउने दावी गर्छन् ।
विगतमा आफूले यस जिल्लाको विकासका लागि धेरै काम गरेको कारण जित्ने उनको दावी छ । जनताले परिवर्तन र विकास चाहेका छन्, मैले ती दुवै क्षेत्रमा काम गरेकाले जनताले फेरि पनि चुन्नेमा विश्वस्त छु, उनले भने । उनले यस क्षेत्रमा नर्सिङ्ग कलेज, गजेन्द्र नारायण सिंह अस्पतालमा सुधार, विभिन्न सडक सञ्जालको विस्तारका साथै कृषि विश्वविद्यालय, इन्जिनियरिङ्ग कलेज र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतको संरचना निर्माणको कार्यको शुरुवात गरेकोले मतदाताले फेरि पनि मौका दिने दावी गरे । उनले सप्तरीलाई शैक्षिक र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने योजना सहित मतदातासँग सहयोगका लागि आग्रह गर्ने गरेका छन् । हालै सम्पन्न पालिका चुनावमा प्राप्त मतको आधारमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर, उपेन्द्रभन्दा दोब्बर र डा. राउतभन्दा तेब्बर मतले अगाडि देखिन्छ । तर स्थानीय तह निर्वाचनमा प्राप्त मत संसदीय चुनावमा पनि कायम रहला नरहला भन्ने कुरा यकिन गर्न कठिन रहेको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव बताउँछन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुर गठबन्धन एक ढिक्का भएकाले जित सुनिश्चित भएको दावी गर्छन् । उनी भन्छन् –‘गठबन्धनभित्र कुनै समस्या छैन, एक ढिक्का भई अघि बढेकाले फराकिलो मतान्तरले जित हासिल गर्ने छौ ।’ २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभामा यही क्षेत्रबाट थोरै मतले पराजित भएका ठाकुर यसपटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भएकाले तेश्रो प्रयासमा सफल हुने विश्वासमा छन् । उनी विकास र रोजगारीलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।
सत्तारुढदल र एमाले गठबन्धनका साथै एक्लै चुनावी मैदानमा रहेका जनमत पार्टीले विगतका आफ्ना क्रियाकलाप माथि टेकेर एक अर्कालाई कमजोर सावित गर्ने अन्तिम प्रयासमा खुलेर लागि रहँदा अधिकांश मतदाता भने खुलेर बोल्ने मुडमा देखिदैनन । खुलेर बोल्ने केही मतदाताको प्रारम्भिक रुझानलाई हेर्दा पनि यिनै तीन नेता बीच कडा प्रतिस्पर्धा देखिन्छ । यी तीन मध्ये जसले जिते पनि मतान्तर संख्या भने एक हजारदेखि दुई हजार बिचमा मात्र रहने अधिकांश मतदाताको आकलन छन् । तर अन्तिम बाजि कसले मार्ला ? भन्ने प्रश्नको जवाफ पाउनका लागि मंसिर ४ सम्म पर्खिनुको विकल्प छैन ।


