अपडेट 
२०७९ कार्तिक २९, मंगलवार ०७:५२

कुनै बेला रामसागर रामस्वरुप बहुमुखी (राराब)क्याम्पसको ठूलो शान थियो । गर्वले त्यहाँबाट पढेको विद्यार्थीहरु परिचय दिने गरेका थिए । क्याम्पसको नतिजा निकै राम्रो हुन्थ्यो । यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरुको जागिर पक्काजस्तै हुन्थ्यो । त्यतिबेला क्याम्पसले दक्ष विद्यार्थी मात्रै उत्पादन गरेनन्, थुप्रै नेताहरु पनि उत्पादन गरे । प्रथम राष्ट्रपति डा. रामवरण यादवदेखि निर्वतमान नगर प्रमुख लालकिशोर साह पनि त्यही क्याम्पसमा अध्ययन गरेका छन् ।

आसन्न निर्वाचनमा पनि सोही क्याम्पसबाट अध्ययन गरेका एक दर्जनभन्दा बढी अगुवाहरु अहिले चुनावी मैदानमा छन् । तर उनीहरुको चुनावी एजेण्डामा राराब क्याम्पस सुधारको योजना परेको देखिदैनन् । अहिले राराब क्याम्पसको पठ्नपाठन एकदमै खस्किएको छ । क्याम्पसमा करिव ६ हजार विद्यार्थी अध्ययनरत रहेको अभिलेख रहे पनि एक हजार विद्यार्थी मात्रै नियमित पढ्न आउने गरेको राजनीतिशास्त्रका प्राध्यापक रामु साह बताउँछन् । यसले पनि क्याम्पसको शैक्षिक अवस्था बारे पुष्टि गर्छ । मधेश आन्दोलनपछि विद्यार्थीहरु शतप्रतिशत चोरीमा आश्रित भएको प्राध्यापक साहको भनाइ छ । ‘विद्यार्थीहरु पूर्णत अमर्यादित गर्नमा आश्रित भएका छन् । यसका कारण जुन दिनको परीक्षामा अनुगमन भयो भने विद्यार्थी फेल नै हुन्छन्,’उनले भने,‘विद्यार्थीहरु नियमित पढ्न आउने गरेका छैनन् ।’ यहाँको भवन पनि जीर्ण भएको छ । पुस्तकालय प्रयोगविहीन छ । शौचालय र खानेपानीको समस्या त वर्षौदेखिको छ । अहिले पनि परम्परागत शैलीमै कालो पाटीमा पढाइ हुन्छ । कक्षाकोठाको डेस्क बेञ्चमा माकुराले जालो बनाएका छन् । कक्षाकोठाको भित्ताहरुमा अनावश्यक शब्दहरु लेखिएको छ । दुई दशकदेखि पठ्नपाठन हुने भवन रंगिएका छैनन् ।

विज्ञान संकाय भवनको बीचमा रहेको चौर पनि भद्रगोल अवस्थामा छ । त्यहाँ कतै रुख ढलेको छ त कतै फोहर जलाइएको छ । पानी ट्याकीबाट चुहिएको पानीहरु पनि अव्यवस्थित छ । ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) चौथो वर्षमा अध्ययनरत श्रुति साहले व्यवस्थापनकै कमजोरीले क्याम्पस भद्रगोल अवस्थामा पुगेको बताउँछिन् । क्याम्पस प्रमुखसँग पटक– पटक खानेपानी, शौचालय र पठनपाठन सामग्रीको समस्या सुनाए पनि बेवास्ता गरिएको उनको गुनासो छ । ‘ शौचालय अभाव छ । हामीलाई अर्को भवनमा जानुपर्छ,’उनले भने,‘खानेपानीको व्यवस्था छैन् ।’ प्रयोगात्मक अभ्यासको लागि विद्यार्थीहरुले प्रस्ताव गर्दा क्याम्पस प्रमुख प्रदीप साहले बेवास्ता गरेको उनले बताइन् । छात्रा विद्याथीहरुको लागि प्याडको व्यवस्था गरिएको छैन् । महिनावारीको समयमा विद्यार्थीहरु अनुपस्थित हुने गरेको श्रुतिले बताइन् । प्राध्यापक साहले नेताहरुमा किताबी ज्ञानको अभावमा राराब उपेक्षामा परेको बताउँछन् । ‘ अहिलेको नेताहरु राजनीतिलाई सेवा न बनाइ व्यवसाय बनाएका छन् ।

सेवाको भाव नदेखाएर मनमा स्वार्थ पाले,’उनले भने,‘ अहिलेको नेताहरुमा किताबी ज्ञानको पनि अभाव देखिएको छ । उनीहरु ज्ञानको आधारमा नेता बनेको होइनन्, ढुङ्गा फालेर र टायर बालेर नेता बनेका छन् ।’ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता परमेश्वर साह पनि यही क्यामप्सबाट अध्ययन गरेका छन् । साह अहिले यी क्याम्पस पर्ने क्षेत्र अर्थात धनुषा निर्वाचन क्षेत्र ३ को ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी यसयघि पनि एक पटक प्रदेश सांसद भइसकेका छन् । तर उनले शिक्षा सम्बन्धी अधिकार प्रदेश सरकार मातहत नहुँदा सुधार गर्न नसकिएको बताए । उनका अनुसार नेपालको संविधानमा प्लस टु सम्मको अधिकार स्थानीय तहलाई र सो भन्दा माथिको अधिकार केन्द्रमै राखेका छन् । ‘प्रदेश सरकारले आफ्नो विश्वविद्यालय ल्याउन सक्छ, बनाउँछ । तर पहिलेदेखि सञ्चालनमा रहेको शैक्षिक संस्थामा भौतिक संरचना निर्माण बाहेकको कुनै अधिकार प्रदेशमा दिइएको छैन्,’उनले भने,‘कर्मचारी वा शिक्षक सरुवा/बढुवाको अधिकार प्रदेशमा नआउँदा पनि सुधार गर्न कठिनाई देखिएको छ ।’

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News