२०७९ कार्तिक २९, मंगलवार ०८:०४

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष कुमार सुमनले प्रतिस्पर्धीहरूले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनमा उनले हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरू तथा राजनीतिक आन्दोलनहरूको उपलब्धिले गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले उनले दाबी गरे । उनले भने ‘चुनावी प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धी उम्मेदवारहरूमा हारको त्रास देखिएको छ, त्यसैले उनीहरू आत्तिएका छन्, त्यसको जवाफ जनताले दिने छन् ।’ निर्वाचन आचारसंहिता विपरीत जसपाका अध्यक्ष यादवलाई लक्षित गरी दुष्प्रचार प्रचार गरिरहेको बताउँदै उनले स्वस्थ प्रचार र स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भ्रामक प्रचार गरेको भन्दै उनले सो विषयमा पनि आफ्नो पार्टी र प्रशासनले समेत खण्डन गरिसकेको बताए । ‘अस्ति जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्पष्ट रूपमा एउटा भिडियो सार्वजनिक गर्दै यहाँका प्रशासनले जसपाको पैसा बोक्छ भन्ने भ्रामक प्रचार गरे’ उनले भने, ‘केही दिनअघि मात्रै एउटा धार्मिक समूहले धर्मकै नाममा हामीमाथि कुप्रचार गरे । सबैलाई थाहा छ, जसपा समाजवाद स्थापना गर्ने, अल्पसंख्यक समुदायको हितमा बोल्ने पार्टी हो ।’ त्यस्तै, यस क्षेत्रमा विकासको लहर ल्याउने तथा समानुपातिक समावेशिताको लागि लड्दै आएको एक सैद्धान्तिक पार्टी रहेको प्रवक्ता सुमनले बताए । ‘हामी अस्वस्थ प्रतिस्पर्धामाथि विश्वास पनि राख्दैनौं, त्यस्ता अस्वस्थ प्रतिस्पर्धा गर्न पनि चाहदैनौं’ उनले भने, ‘जात–पात र धर्म यी सबैभन्दा माथि उठेर हामी आसन्न निर्वाचनलाई एउटा स्वस्थ निर्वाचनको रूपमा सम्पन्न गर्न उत्प्रेरित छौं ।’ उनले जिल्लामा बाह्य हस्तक्षेप व्यापक बढेको भन्दै निर्वाचनको माहोल नधुमिल्याउन आग्रह गर्दै अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रूपमा चुनावी प्रचार गर्न सुझाव दिए ।

Comment


Related News

Latest News

Trending News