अपडेट 
२०७९ कार्तिक ३०, बुधबार ०७:१७

मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा स्थापना गरेको मधेश कृषि विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका लागि बीएस्ससी एजी(अनर्स)मा विद्यार्थीहरुबाट आवेदन माग गरेको छ ।

राजविराजस्थित के अ माध्यमिक विद्यालयको कोठामा सीमित रहेको मधेश कृषि विश्वविद्यालयमा गत मंसिर २१ गते उपकुलपति(भीसी)मा डा.वैद्यनाथ महतोलाई नियुक्त गरी २७ गते उद्घाटन गरिएको थियो ।असार महिनामा डा.श्रीभगवान ठाकुरलाई नियुक्त गरिएको बताइएको छ । ठाकुर नियुक्तिका लागि प्रदेश सरकारले सार्वजनिक रुपमा विज्ञापन गरेको थिएन् ।चुनावको आचारसंहिता लागु भइसकेपछि पछिल्लो मितिमा ठाकुरलाई नियुक्त गरिएको आरोप लाग्दै आएको छ । विश्वविद्यालयमा रेक्टर (शिक्षाध्यक्ष) को पद रिक्त रहेको छ ।कुनै प्राध्यापक नियुक्त भएका छैनन् ।कक्षा सञ्चालन हुने स्थान समेतको टुंगो नलागेको अवस्थामा विद्यार्थीको भर्ना आह्वान गरिएको छ । विश्वविद्यालयको आर्थिक र प्रशासनिक काम गर्ने कुनै कर्मचारी बहाल भएको छैन् ।हुनत भीसी महतोले दुई जना कर्मचारी नियुक्त भएको बताए पनि उनीहरुको पद र नाम बताउन मानेनन् ।विश्वविद्यालयले कर्मचारी भर्नाका लागि समेत कुनै विज्ञापन गरेको देखिदैन् । विश्वविद्यालयका कर्मचारीहरुको विवरण वेभसाइटमा समेत राखिएको छैन् ।गोप्य रुपमा नियुक्त भएका रजिष्ट्रार ठाकुरसित सम्पर्क हुन सकेन् ।

मधेश प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरी अध्यनअध्यापनको काम समेत प्रारम्भ भइसकेको प्रचार गरी चुनावमा मतदाताहरुको सहानुभूति पाउने भ्रमपूर्ण प्रचारबाजी गरेको आरोप लगाइएको छ । विद्यालय भवनमा कार्यालय राखिएको विश्वविद्यालयले कक्षा सञ्चालन गर्ने स्थल, अध्यापन गराउने प्राध्यापक, विद्यार्थी छनोट गर्ने विज्ञ लगायतको समेत व्यवस्था नगरी अनलाईनबाट मंसिर २८ गते सम्म आवेदन आह्वान गरिएको छ । मधेश सरकारले मधेश कृषि विश्वविद्यालयको चरम दुरुपयोग गरेको आरोप राजविराज नगरपालिका ५ बस्ने शोभित सिंहले लगाए ।‘विश्वविद्यालयको आन्तरिक संरचना समेत तयार भइनसकेको अवस्थामा सोझै विद्यार्थी भर्ना गर्नु हास्यास्पद हो’ उनले भने, विश्वविद्यालयको सुरुवात नै विवादास्पद र हास्यास्पद भएकाले निरन्तर सञ्चालन प्रक्रिया जटिल हुन सक्छ । ‘विश्वविद्यालयको सबै गतिविधिहरु पारदर्शी हुनुपर्नेमा सबै गोप्य र शंकास्पद रुपमा गरिदैछ’ उनले भने, मतदानलाई प्रभावित गर्ने गरी भएको प्रचारबाजीलाई मतदाताहरुले बुझेका छन् । प्राविधिक कक्षा सञ्चालन गर्न भौतिक पूर्वाधार लगायतका व्यवस्थापनहरु हुनु आवश्यक रहेको निवर्तमान प्राध्यापक परमेश्वर कापडी बताउँछन् ।‘विद्यालयको कक्षा कोठामा विश्वविद्यालयले सञ्चालन गर्ने कक्षा संभव छैन् ’ उनले भने, विद्यार्थी भर्ना भन्दा कक्षा कोठा, प्राध्यापक, प्रशासनिक र लेखा कर्मचारीहरुको व्यवस्थापन आवश्यक छ । बीएस्सी एजी रामपुर कृषि कलेजमा सञ्चालन हुँदै आएको छ ।चारवर्षे कोर्ष लागु भएदेखि अनर्स हटिसकेको छ ।

नेपालको अन्य कुनै विश्वविद्यालयमा अनर्स छैन् । मधेश विश्वविद्यालयले सञ्चालन गर्ने कोर्ष अन्य कलेज र विश्वविद्यालयको भन्दा फरक हुनुपर्ने कापडीको कथन छ ।आवश्यक तयारी पूरा नगरी विद्यार्थी भर्नाको विज्ञापन गर्न नहुने उनले बताए । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका प्राध्यापक डा.सुरेन्द्र लाभले मूल नियम भित्र रहेर नियमावली बनाउन विश्वविद्यालयको प्राज्ञिक सभाले निर्णय गर्नुपर्ने बताउँछन् ।‘विश्वविद्यालयले सञ्चालन गर्ने फेकेल्टीकालागि पनि प्राज्ञिक सभाले निर्णय गर्नुपर्छ’ उनले भने, हचुवाको भरमा सोझै विद्यार्थीको नामांकनका लागि आवेदन आह्वान गर्नु शिक्षामा खेलवाड हो । मधेश कृषि विश्वविद्यालय स्थापना भए पनि त्यसको कार्यकारी सदस्यहरुको नियुक्ति भएको छैन् ।प्राज्ञिक सभा गठन नभए सम्म विश्वविद्यालयको गतिविधि नै अगाडि बढन सक्दैन् ।प्रदेश सरकारले गठन गरेको विश्वविद्यालयको कुलपति मुख्यमन्त्री रहने व्यवस्था ऐनमा छ । शिक्षण संस्थाको मापदण्ड र रित नपु¥याइ दिने डिग्रीले विद्यार्थीको भविष्य अन्धकारमय हुन सक्ने उनले चिन्ता व्यक्त गरे ।मधेश सरकारले मधेश कृषि विश्वविद्यालय राजविराजमा र मधेश विश्वविद्यालय वीरगञ्जमा खडा गरेको छ ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा स्थापना गरेको छ ।तर तिनै विश्वविद्यालयको भविष्य अनिश्चित बनेको छ ।

Comment


Related News

Latest News

Trending News