२०७९ कार्तिक ३०, बुधबार ०७:३५

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष तथा बारा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार रामबाबु कुमार यादवले मान्छेले बोक्न नसक्ने गरेर पैसा गाडीले बोकेर हिँडेको आरोप लगाएका छन् ।

चुनावी घरदैलो कार्यक्रममा उनले सो आरोप लगाउँदै चुनाव अत्यन्तै तड्क भड्क, खर्चिलो र महँगो भएको गुनासो गरेका छन् । जनताको अगाडि स्थानीय प्रशासनले यसको जवाफ दिनुपर्छ उनले भने ‘अहिलेको महंगीको अवस्था हेर्दा ५० औ लाख रुपैंया उम्मेदवारको गाडी घोडा र पोस्टर ब्यानरमा मात्रै खर्च भएको छ, यस्तो खर्च के को लागि गर्नुपर्यो, पैसाको खोलो बगाएर जनताको पक्षमा काम गर्ने व्यक्तिबाट जसरी पनि मत खोसिदिने गतिविधिहरू अहिले भएका छन् ।’ निर्वाचन आचारसंहिता विपरीत पछिल्लो समय जनप्रतिनिधि आफै चुनाव प्रचारप्रसारमा खट्ने, दर्जनौको संख्यामा भारतीय गाडीको प्रयोग गर्ने,भड्किलो प्रचार साम्रगीहरु पर्चा, ब्यानरहरू गाउँ, गाउँमा प्रयोग भएको उनले आरोप लगाए । ‘हामी सानो आइडी कार्ड लिएर मात्रै चुनाव लड्ने मानसिकतामा थियौ तर यहाँ प्रचार सामग्री, सवारी साधन प्रयोग, मान्छेको प्रयोग निर्वाचन आचारसंहिता विपरीत छ, हामी २ जना उम्मेदवारको ५० जना भन्दा कम मान्छे राखेर प्रचारमा हिँडेका छौ’ यादवले भने । उनले अन्य दलको भड्किलो चुनाव प्रचार सामग्रीले आफूलाई पनि कार्यकर्ताहरूबाट नैतिक दबाब आएको बताएका छन् ।

‘आचारसंहिता उलघंन क्रम बढेको छ, अरु दलबाट उलघंन हुदाँ हामीलाई पनि कार्यकर्ता र समर्थकबाट यो गर्नुपर्छ त्यो हुनुपर्छ भनेर दबाब आइरहेको छ’ उनले भने ‘पार्टीका नेताहरुले यति असर गरे गाउँभरि झकिझकाउ हुने गरी झण्डा, ब्यानर हुँदा प्रशासनले त्यसलाई वास्ता नगरेको देखियो’ निर्वाचन आयोगले गरेको निर्णय अनुसार बाराको ४ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र मध्ये २,३ र ४ नं मा प्रति उम्मेदवार २९ लाख रुपैंया र प्रदेशतर्फ १५ देखि १७ लाख रुपैंया सम्म खर्च गर्न पाउने व्यवस्था छ । साथै सबैभन्दा धेरै मतदाता भएको बारा निर्वाचन क्षेत्र नं १ मा संघीय सांसदका उम्मेदवारले ३१ लाख र प्रदेश तर्फ (क) मा १९ लाख र (ख) मा १७ लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ । सवारी साधनको हकमा भने प्रति उम्मेदवार २ वटा सवारी साधन र प्रचारप्रसारको क्रममा २५ जना सम्म सर्मथक तथा कार्यकर्ता सहभागी गराउन सक्ने व्यवस्था छ । यता जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले भने विगतको तुलनामा आचारसंहिता उल्लंघनको घटना अत्यन्त कम भएको बताएका छन् । ‘विगतको तुलनामा निर्वाचनमा मोटरसाइकल, गाडीको प्रयोग धेरै कम भएको छ, हामीले सार्वजनिक स्थलमा टाँगेका ब्यानरहरू पनि हटाइरहेका छौ’ अधिकृत चौधरीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News