मंसिर ४ गते हुने निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको भविष्य अर्का उम्मेदवारहरुको हातमा परेको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको भविष्य पाँच दलीय गठबन्धनका उम्मेदवार जयप्रकाश (जेपी) ठाकुरको हातमा पुगेको छ भने महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लोसपाका अध्यक्ष महन्थ ठाकुरको भविष्य स्वतन्त्र उम्मेदवार रामआधार कापडको हातमा पुगेको छ । सप्तरी निर्वाचन क्षेत्र नम्वर २ मा र महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ बाट मधेशका मुद्दा लिएर राजनीति गरिरहेका तीनवटा पार्टीका अध्यक्षहरु चुनावी प्रतिस्पर्धामा छन् । सप्तरी २ मा जसपाका अध्यक्ष यादव र जनतमत पार्टीका अध्यक्ष सीके राउत चुनावी मैदानमा छन् भने भने महोत्तरी ३ बाट लोसपाका अध्यक्ष ठाकुर चुनावी मैदानमा छन् । हुनत सप्तरी २ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि उपेन्द्र यादव संग सिधा प्रतिस्पर्धामा भने जनमत पार्टीका अध्यक्ष राउत रहेका छन् भने पाँच दलीय गठबन्धनका नेता जेपी ठाकुर पनि प्रतिस्पर्धाबाट बाहिर हुन सकेका छैनन् ।
त्यो क्षेत्रमा अहिले सम्म उपेन्द्र र राउतबीच प्रतिस्पर्धा छन् तर, जेपी ठाकुरको मतले दुबैको भविष्य निर्धारण हुने देखिएको छ । जेपीले ५ हजार भन्दा बढी मत ल्याउन सके भने यादव चुनावमा नोक्सानी बेहोर्ने देखिन्छ र राउतले बाजीमार्ने सम्भावना बढी हुनेछ । यदि जेपीले ५ हजार भन्दा कम मतमा रह्यो भने राउतलाई यादवले पराजित गर्ने स्थानीयबासीहरुको आकलन छ । तर, जेपी पनि बलिया उम्मेदवार रहेका छन् । उनीपनि जित निकाल्न सक्ने छ तर, दुई दुई पार्टीका अध्यक्ष एक्कै क्षेत्रबाट चुनाव लडेपछि मतदाताहरु अन्योलमा परेका छन् । उपेन्द्र र सीके पार्टीका अध्यक्ष छन् भने जेपीको व्यक्तिगत र राजनीतिक छवि दुबै उम्मेदवार भन्दा कम नदेखिएका कारण उनी पनि अहिले सम्म प्रतिस्पर्धामै रहेको बताइन्छ । तर, अन्त्यमा जेपीलाई मतदाताहरुले छाडेर यी दुबै उम्मेदवारमध्ये एक जनालाई मतदाताहरुले रोज्ने स्थानीयहरुको भनाइ छ । त्यस्तै, अवस्था महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ को पनि छ । त्यहा स्वतन्त्र उम्मेदवार राम आधार कापड निर्णायक बन्ने देखिन्छ ।
लोसपा अध्यक्ष ठाकुर विरुद्ध चुनावी मैदानमा आएका जसपाका नेता हरिनारायण यादव पनि कापडकै मतमा विश्वास गरेको देखिन्छ । त्यो क्षेत्रमा राम आधारको मतले ठाकुरको जित र हारको निर्णय हुने देखिन्छ । तर, राम आधारप्रति हरिनारायण भन्दा बढी सहानुभूति देखिएको छ । विगतका निर्वाचनहरुमा कापड सामान्य मतले पराजित भएको र यस पटक उनको चुनावी माहोल राम्रो भएको बताइन्छ । त्यो क्षेत्रमा बिग्रेको मतलाई ठाकुरले ठिक पारेको र उनी निकटकै मतदाताहरु उनलाई मत नदिने अडानमा बुधवार वेलुका सम्म थियो । तर, सबैथोक ठिकठाक भइ सकेको ठाकुर निकट स्रोतको दाबी छ । त्यहाँ पनि रामआधारले ५ हजार भन्दा बढी मत ल्याउन सके मात्रै ठाकुरको जित्ने वातावरण बन्ने देखिएको छ । ठाकुर भन्दा बढी त्यस क्षेत्रमा प्रदेश ३ को (क) र (ख)का उम्मेदवार अभिराम शर्मा र रानी शर्माप्रति मतदाताहरुमा बढी आक्रोश देखिएको छ । अभिराम र रानी दुबै मधेश प्रदेश सरकारका राज्यमन्त्री हुँदा आपूmखुशी योजना बाँडफाँट गरेको र ठाकुर निकटका मतदाताहरुलाई बाइपास गरेको आरोप लगाइएको छ । यही कारणले गत स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका मेयरमा जसपाका सुरेश साह विजयी भएका थिए । स्रोतका अनुसार ठाकुर निकट मतदाताहरुलेनै सुरेशलाई मतदान गरेपछि उनी विजयी भएका थिए ।


