मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रौतहटको सुरक्षा व्यवस्था यसपालि अत्यन्त कडा पारिएको छ ।
भारतको बिहारसँग खुला सीमा जोडिएको रौतहटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित वातावारणमा सम्पन्न गर्न जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएका छन् । कमजोर सुरक्षा व्यवस्थाका कारण गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतपेटिका लुटनेदेखि लिएर अधिकांश ठाउँमा वादविवाद, झड्प तथा धाँधलीसमेत भएकोले यसलाई मध्य नजर गर्दै अबदेखि फेरि यस्ता कार्य दोहोरिन नदिने गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाए । यसअघि स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था फितलो हुँदा यमुनामाई गाउँपालिका – २ भेडियाही स्थित मतदान केन्द्रमा मतपेटिका नै लुटिएको थियो भने जिल्लाको अधिकांश ठाउँमा धाँधली भएको थियो । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न असफल भइ बदनाम भएका नेपाल प्रहरी यस प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कुनै प्रकारको होहल्ला, वादविवाद, झैझगडा तथा धाँधली हुन नदिने गरी विशेष सुरक्षा योजना बनाएको जनाएको छ ।
यसपटक निर्वाचन सुरक्षामा झन्डै १० हजार सुरक्षाकर्मीहरु परिचालित गरिएका छन् । जिल्लामा निर्वाचन लक्षित सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले दाबी गरेका छन् । निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्न तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको छ । भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएका उनले बताए । यसै वर्गीकरणको आधारमा जिल्लाभरिका ४ वटै निर्वाचन क्षेत्रका मतदान स्थल र मतदान केन्दमा सुरक्षा बन्दोवस्त मिलाइएको छ ।


