अपडेट 
२०७९ मंसिर ३, शनिबार ०७:५९

बिहीवार मध्यराति वा भनौ शुक्रवार विहानदेखि मौन अवधि सुरु भएको छ । अर्थात् मंसिर ४ गते आइतवार हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार,राजनीतिक दल वा भोटर र सोटरहरु प्रत्यक्ष रुपमा मतदातासंग मत माग्न पाउँने छैनन् । सभा,सेमिनार,नारा,जुलुस आदि गर्न पाउँने छैनन् । मतदाताहरुले दल र उम्मेदवार हरुको वर्तमान,भूत र भविष्यलाई मनन गरी आफ्नो बुद्धि र विवेकको प्रयोग गरी मतदान गर्न पाउँने छन् । मतदान गर्ने बेला आफ्ना सखा सन्तानको भविष्यलाई ख्याल गर्नेछन् । अनि ढुक्कसंग मतदान गर्नेछन् । आदरणीय मतदाताहरुलाई थाहै होला – यस पटक चार थान मतपत्र हुने छ । १,२,३ र ४ लेखिएका चार थान मतपेटिका रहने छन् । पहिलो मतपत्र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारको हुने छ । जसमा सेता पृष्ठभूमिको कागजमा रातो रंगले उम्मेदवारहरुको चुनाव चिह्न अंकित रहने छन । मनपरेको एक चुनाव चिह्नमा स्वस्तिक चिह्न लगाएर १ नम्बर लेखिएको मतपेटिकामा हाल्नु पर्नेछ । त्यसपछि सेता पृष्ठभूमिको मतपत्रमा कालो रंगले छापिएका दलहरुको चुनाव चिह्न अंकित रहने छन् । समानुपातिकतर्फको उक्त मतपत्रमा मनपरेको पार्टीको चिह्नमा स्वस्तिक चिह्न लगाएर २ नम्बर मतपेटिकामा हाल्नु पर्नेछ । यसैगरी सेता पृष्ठभूमिमा रातो रंगले छापिएका चुनाव चिह्नमा प्रदेशसभाका प्रत्यक्षतर्फका र सेता कागजमा कालो रंगले छापिएका चुनाव चिह्नमा समानुपातिकतर्फका दलका उम्मेदवारको चिह्नमा स्वस्तिक चिह्न लगाएर क्रमशः ३ नम्बर र ४ नम्बर मतपेटिकामा हाल्नु पर्ने हुन्छ । अर्को शब्दमा भनौ भने मतदाताले चारवटा मतपत्र पाउने छन् र चार पटक मतदान गरी भिन्दा भिन्दै चार मतपेटिकामा हाल्नु पर्नेछ । मैले मतदान प्रकृयाबारे यसरी लेख्नु परेको कारण हो,मतदाता शिक्षाको आभाव । हालै एक गैर सरकारी संस्थाले जनकपुरधाममा गरेका नमुना मतदानमा १० प्रतिशत मतदाताको मत बोगस अर्थात् खराप भएको थियो । आफूले रोजेको उम्मेदवार र दललाई मत दिन नसकेपछि दुःख त लाग्छ नै । कसैलाई पछुताउनु नपरोस र दुःखी पनि हुन नपरोस भनेर मैले मतदान प्रकृयाबारे थोरै जानकारी दिन खोजेको हुँ । एक महिना भन्दा बढि समयसम्म चलेको निर्वाचन प्रचार अभियानलाई मैले सकारात्मक रुपमा लिएको छु । कारण पछिल्ला चुनावहरुमा देखिएका नारा जुलुस,भडकिलो प्रचार प्रसार,सभा,सेमिनार, रैली र रैला आदि अधिक भएनन् । पोष्टर र बैनरहरुले गाउँ र नगरका डगरहरु कुरुप बनेनन् ।

आपसी सद् भाव बिगार्ने किसिमका झडप वा हो हल्ला पनि कम भए । निर्वाचन प्रक्रियालाई संयमित र व्यवस्थित तरिकाले अघि बढाउँने निर्वाचन आयोगलाई धन्यवाद दिनैपर्ने हुन्छ । यसले आम मतदातासंगै खर्चकै कारण उम्मेदवार बन्न डराउने सर्वसाधारणलाई हौसला पनि प्रदान गरेको छ । निर्वाचनमा हुने खर्च घटाउन सके सर्वसाधारण पनि उम्मेदवार बन्न सक्छन् । राष्ट्रिय मानव अधिकार आयोग,मधेशी आयोग,आदिवासी जनजाति आयोगलगायतका निकायहरुले हालै बर्दिवासमा मंसिर ४ गते हुने निर्वाचनको व्यवस्थापन बारे एक गोष्ठीको आयोजन गरेको थियो । आयोगहरुको ठहर थियो–‘ यस वर्षको निर्वाचनको प्रचार प्रसार अन्य वर्षहरुको तुलनामा कम भडकिलो भयो ।’ आयोगहरुको ठहरलाई व्यक्तिगत रुपमा मैले पनि स्वीकार गरेको छु तर निर्वाचन आयोगले अझै धेरै थोक गर्न बांकी छन । निर्वाचन प्रचारको क्रममा भारतीय गाडीहरुको खुल्मखुल्ला प्रयोगलाई निर्वाचन आयोगले रोक्न सकेन । मतदाता शिक्षाको अवस्था दयनीय छ । जनकपुरधाममा भएको नमुना मतदानमा १० प्रतिशत मतदाता गलत तरिकाले मतदान गर्छन भन्ने गाउँको अवस्था के होला ? विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने तर विद्यालयहरुमै मतदान केन्द्र राख्ने प्रवृति परस्पर मेल खादैनन् । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छन । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ तथा पुरुषको १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छन तर अर्थात् पुरुषभन्दा महिलाको जनसंख्या झण्डै ७ लाख अधिक छ । यसैगरी धनुषाको कुल जनसंख्या ८ लाख ७३ हजार २ सय ७४ मध्ये महिलाको ३ लाख ३८ हजार ९ सय ३९ तथा पुरुषको ४ लाख ३४ हजार ३ सय ३५ छन् । जनसंख्याको हिसावले धनुषामा पुरुषभन्दा महिलाको जनसंख्या झण्डै ५ हजार अधिक छ । तर धनुषाका ४ लाख ९ हजार ९ सय ८५ कुल मतदातामध्ये महिलाको १ लाख ९३ हजार १ सय ४ र पुरुषको २ लाख १६ हजार ८ सय ७५ छन् । अर्थात् पुरुषभन्दा झण्डै २४ हजार कम महिला मतदाता छन् । जनसंख्या महिलाको अधिक हुने तर मतदाता पुरुष अधिक हुने ? यो विडम्बनापूर्ण छ । यसले के देखाएको छ भन्ने महिलाको पहुंच मतदाता परिचयपत्र बनाउँने निकायसम्म छैन । घरका मुखिया जो पुरुष हुन्छन् , उनीहरु महिलालाई मतदाता बनाउन चाहदैन । निर्वाचन आयोगले महिलालाई मतदाता बनाउँन विशेष अभियान चलाउनु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News