२०७९ मंसिर ५, सोमबार ०७:३८

प्रतिनिधी र प्रदेश सभाको आइतवार सम्पन्न मतदानमा मधेश प्रदेशमा ६२ प्रतिशत भन्दा बढी मतदान भएको निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ ।

मतदानको क्रममा रौतहट र सिरहा जिल्लामा मतदान स्थललाई सुरक्षित राख्न प्रहरीले ७ राउण्ड हवाईफायर गरेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मतदानको क्रममा केही केन्द्रमा समान्य विवाद भएर मतदान स्थगित भएपनि तुरुन्तै समस्या समाधानगरी मतदान सुचारु गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा ६२ प्रतिशत भन्दा बढी मतदान भएको र मतपेटिकाहरु मतगणना स्थलमा पु¥याइएको मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ । पर्साका जिल्ला निर्वाचन अधिकृत विनोद पोखरेलले जनाए अनुसार ६९ प्रतीशत मतदान भएको छ ।मतदानको क्रममा कुनै प्रकारको अव्यवस्था नदेखिएको उनले बताए ।

पर्साको १ मा जसपाका प्रदीप यादव जित्ने बताइएपनि सो क्षेत्रमा प्रदेशका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउतको अवस्था कमजोर रहेको अनुमान गरिएकोछ । क्षेत्र नम्बर २ र ३ मा कांग्रेस र ४ मा एमालेको पक्षमा जान सक्ने अनुमान गरिएकोछ । त्यसैगरी बारा जिल्लामा ६६ दशमलव ८६ प्रतीशत मतदान भएको निर्वाचन अधिकारी सरोज चौधरीले जनाए । समग्रमा मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताए । क्षेत्र नम्बर १ मा उमाकान्त चौधरी, २ मा स्वतन्त्र उम्मेदवार राजेश यादव, ३ मा जसपाका रामबाबु र ४ मा एमालेका उम्मेदवारको पक्षमा जनमत गएको अनुमान गरिएकोछ ।

रौतहटमा भने ६५ प्रतिशत भन्दा बढी मतदान भएको निर्वाचन अधिकारी छोटेलाल दासले बताए । रौतहट जिल्लाको गरुडा नगरपालिका र गुजरा नगरपालिकामा सुरक्षाकर्मीहरुले हवाई फायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मतदान केन्द्र बाहिर विवादगरी मतदान स्थलमा प्रवेश गर्न खोज्ने भीडलाई रोक्न गुजरामा हवाईफायर गरिएको थियो । दुई स्थानमा बाहिर तनाव देखिए पनि मतदानमा कुनै बाधा नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल क्षेत्र नम्बर १ बाट र स्वतन्त्र उम्मेदवार प्रभु साह क्षेत्र नम्बर ३ बाट जित्न सक्ने संभावना छ । त्यसैगरी सर्लाहीमा ६२ प्रतीशत मतदान भएको निर्वाचन अधिकारी दिवाकर भुजेलले बताए । गत राती गोली चलेको सर्लाही जिल्लामा आइतवार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ । भुजेलका अनुसार मतदानको क्रममा कुनै प्रकारको विवाद भएन् । राती सम्म सबै मतपेटिकाहरुलाई मतगणना स्थलमा पु¥याइसकिएको उनले जनाए । क्षेत्र नम्बर २ मा माओवादीका महेन्द्र यादव र ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंहले बाजी मार्ने संभावना छ ।

महोत्तरी जिल्लामा ६२ दशमलव ६४ प्रतीशत मत खसेको निर्वाचन कार्यालय महोत्तरीका प्रमुख निर्वाचन अधिकारी सुबोध कुमार महतोले जनाए । महोत्तरीमा अपेक्षाकृत मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको उनले बताए । महोत्तरीको क्षेत्र नम्बर २ मा शरतसिंह, ३ मा महन्थ ठाकुर र १ मा लक्ष्मी महतो एमालेले जीत हात पार्न सक्ने बताइएको छ । त्यसैगरी धनुषामा ६२ प्रतीशत मतदान भएको जिल्ला निर्वाचन अधिकृत श्रीधर पन्थीले बताए । कमलानगर पालिकामा मतदानको क्रममा विवाद भएपछि केहि बेर मतदान अबरुद्ध भएको थियो ।तर सहमतिपछि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए ।

धनुषाको ३ मा जुली महतो र ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवको जित्ने पक्का रहेको छ । १ र २ मा स्थिति अझै प्रष्ट भइसकेको छैन् । त्यस्तै सप्तरीका निर्वाचन अधिकृत रमेश कुमार जोशीका अनुसार ६२ प्रतीशत मत खसेको छ । सप्तरी जिल्लाको सहरी भन्दा ग्रामिण भेगमा मतदानको प्रतिशत उच्च रहेको उनले बताए ।

सिरहामा भने ६६ दशमलव ६७ प्रतीशत मत खसेको जिल्ला निर्वाचन अधिकृत ईन्दिरा यादवले बताईन् । सिरहाको कर्जन्हा बाहेक अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण मत खसेको उनले बताइन् । सिरहाको क्षेत्र नम्बर २ मा जसपाका राजकिशोर यादवको जित निश्चित रहेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको भविष्य निर्धारण हुने सप्तरी जिल्लामा बजार क्षेत्रको भन्दा ग्रामिण भेगमा नै बढी मतदान भएको बताइएको छ ।मतदान सम्पन्न भएपछिको आकलन अनुसार सप्तरी २ मा जनमतका अध्यक्ष सीके राउत भन्दा जसपा अध्यक्ष यादवको स्थिति बलियो रहेको छ ।

मधेश प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन्। प्रदेशका ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८ सय ५४ पुरुष, १५ लाख ५८ हजार ७४ महिला र ७० जना अन्य मतदाता छन् । ३२ प्रतिनिधि सभा र ६४ प्रदेश सभा सदस्यका लागि मधेश प्रदेशमा मतदान भएको हो । मधेस प्रदेशभरी निर्वाचनलाई लक्षित गरेर ३३ हजार ८ सय ८० जना कर्मचारी खटाइएको निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ । प्रदेशमा २ हजार १ सय ५६ मतदान स्थल र ४ हजार २ सय ३५ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=CYDNeQF_pZo

Comment


Related News

Latest News

Trending News