मधेश प्रदेशको सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट मधेश आन्दोलनका प्रणेता उपेन्द्र यादवलाई भारी मतान्तरले पराजितगर्दै जनमत पार्टीका अध्यक्ष सी के राउत विजयी भएका छन् ।
राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी जसपाका अध्यक्ष यादवले १६ हजार ९ सय ७९ मत ल्याए । सत्तारुढ गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरले भने ७ हजार ३ सय ४४ मत ल्याए । यादव सो क्षेत्रबाट यस अघि प्रतिनिधि सभामा निर्वाचित भएका थिए । ठाकुरले २०७४ सालको आमनिर्वाचनमा पाएको भन्दा ३ हजार कम मत ल्याएका छन् । सो चुनावमा उनी स्वतन्त्र उम्मेदवार थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर भने महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा पछाडि छन् । उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार रामअधार कापर रहेका छन् ।
मधेश प्रदेशको निरन्तर मुख्यमन्त्री रहेका मो.लालबाबु राउत गद्दी पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट ७ हजार ५ सय ४५ मत ल्याइ विजयी भएका छन् । उनका निकट्तम् प्रतिद्वन्दी कांग्रेसका प्रत्याशी रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत ल्याएका थिए ।
जसपाकै प्रदीप यादवले सो क्षेत्रबाट २२ हजार ५ सय ३७ मत ल्याइ प्रतिनिधि सभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरे । मधेश प्रदेशको ३२ वटा प्रतिनिधि सभा सदस्य मध्ये नेपाली कांग्रेसले २ स्थानमा जित हासिल गरिसकेको छ । प्रतिनिधि सभा सदस्यको ८ स्थानमा अगाडि रहेको छ ।
त्यसैगरी प्रदेश सभामा ९ स्थानमा अगाडि रहेको छ । प्रदेशमा ३ स्थानमा कांग्रेसले जित हासिल गरिसकेको छ । त्यसैगरी नेकपा एमालेले प्रतिनिधि सभाको ६ स्थानमा अगाडि रहेको छ । प्रदेश सभामा एमालेले ९ स्थानमा अग्रता लिएको छ । जसपाले एक स्थानमा जित हासिल गरिसकेको छ । प्रतिनिधि सभाको ४ स्थानमा अगाडि रहेको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार पर्सा जिल्लामा जसपाले एउटा क्षेत्रमा जित हात पारेको छ । प्रदेशको ९ स्थानमा अग्रता लिएको छ । त्यसैगरी लोसपा प्रतिनिधि सभा सदस्यको ३ स्थानमा अगाडि रहेको छ । प्रदेश सभातर्फ ३ स्थानमा जित हासिल गरिसकेको छ । अन्य ३ स्थानमा अगाडि रहेको छ । लोसपाबाट पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मणलाल कर्णले जमानत जोगाउन असफल भएका छन् । उनी पाँच दलीय गठबन्धनबाट उम्मेदवार थिए । माओवादी केन्द्र प्रतिनिधि सभा सदस्यको २ स्थानमा अगाडि रहेको छ । प्रदेश सभामा ५ स्थानमा अगाडि रहेको छ । त्यसैगरी नेकपा एसले प्रतिनिधि सभा सदस्यमा १ स्थानमा जित हासिल गरेको र १ स्थानमा अगाडि रहेको छ । एसका अध्यक्ष माधवकुमार नेपाल रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट अगाडि रहेका छन् । त्यसैगरी नेकपा एसबाट प्रदेश सभामा सर्लाहीबाट बेची लुंगेलीले जित हासिल गरेकी छन् । प्रदेश सभाको ३ स्थानमा एसका उम्मेदवार अगाडि छन् । जनमत पार्टीबाट प्रतिनिधि सभामा अध्यक्ष राउत जितेका छन् । प्रदेश सभामा ३ स्थान जितेको जनमतका ३ जना उम्मेदवार अगाडि रहेका छन् ।
प्रतिनिधि सभा सदस्य पदमा मधेश प्रदेशबाट २ जना स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । त्यस मध्ये रौतहट जिल्लाबाट प्रभु साह पनि अगाडि रहेका छन् । प्रदेश सभामा पर्सा क्षेत्र नम्बर ३ को क बाट प्रमोद जयसवाल निर्वाचित भएका छन् ।


