सप्ताहव्यापी सीताराम विवाहपञ्चमी धुमधामका साथ बुधबारदेखि सुरु भएको छ ।
बुधबार नगर दर्शन सम्पन्न भएर बिहीबार (आज) फुलबारी लीला हुने भएका छन् । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधामवासी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउँदै आएका छन् । विवाहपञ्चमीका लागि जानकी मन्दिर सजाइएको छ । रङ्गीचङ्गी फूल तथा विद्युतीय वत्ती पनि लगाइएको छ । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन सम्पन्न भइसकेको छ । दोस्रो दिन आज फूलबारी लीलाको कार्यक्रम रहेको छ । तेस्रो दिन धनुष यज्ञ, चौथो दिन मंसिर १० गते शनिबार तिलकोत्सव, मंसिर ११ गते आइतबार मटकोर र मंसिर १२ गते सोमबार सीताराम विवाह कार्यक्रम हुनेछ । सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मंसिर १३ गते मंगलबार रामकलेवा गरी जन्ती बिदा गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।


