सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष महेन्द्र राय यादव लगातार दोस्रो पटक विजयी भएका छन् ।सर्लाहीबाट उनी लगातार छैटौ पटक चुनाव जितेका हुन् । उनले निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतको अन्तरले पराजित गरेका हुन् ।यादवबाट दोस्रो पटक महतो पराजित भएका छन् । यादवले २३ हजार ५ सय २९ मत ल्याएर विजयी भएका छन् ।महतोले २१ हजार ५ सय १८ मत प्राप्त गरे ।नेकपा एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८ सय १९ मत ल्याए ।जनमत पार्टीका उम्मेदवार नरेशप्रसाद कुशवाहाले ६ हजार ५ सय ५४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा यादवविरुद्ध लड्ने आँट गर्न नसकेका महतो धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।यस पटक भने नेकपा एमालेकी नेतृ जुली महतोसित चुनाव लड्ने आँट गर्न नसकेर सर्लाहीको २ नम्बरबाट उम्मेदवार भएका थिए । चुनाव घोषणा भइसक्दा पनि धनुषाको ३ बाट नै लड्ने प्रचार गरेका महतोलाई जुलीले क्षेत्र छाड्न अस्वीकार गरेपछि उनी सर्लाही फिर्ता भएका थिए ।तर महतोलाई ‘जोडका झट्का धीरे से लगे’ भएको छ । लोसपाका ४ प्रमुख नेता मध्ये अध्यक्ष महन्थ ठाकुर महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट र वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार दोस्रो पटक निर्वाचित भएका छन् ।धनुषाबाट क्षेत्र परिवर्तन गरी सर्लाही गएका महतो र रौतहटबाट क्षेत्र परिवर्तन गरी धनुषा आएका अनिल कुमार झा पराजित भएका छन् । यादवविरुद्ध सहज जित निकाल्न सक्ने आकलन गरेका महतो नराम्ररी पराजित भएका छन् ।सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार रहेका यादव विरुद्ध महतोले पनि गठबन्धनमा रहेको प्रचार गरेका थिए ।
सर्लाहीमा अलोकप्रिय रहेका महतोलाई संविधान सभाको चुनावमा पनि यादवले भारी मतान्तरले पराजित गरेका थिए ।निर्वाचन क्षेत्र नम्बर २ को ख बाट गठबन्धनका कांग्रेसका प्रदेश सभा उम्मेदवार कौशलकिशोर राय पनि जितेका छन् ।प्रदेश क बाट नेपाली कांग्रेसका जंगीलाल यादव निर्वाचित भएका छन् । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को क बाट महतोका भतिजा उपेन्द्र महतो भने दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका छन् ।तर उनका पिता चन्दनगर गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए ।



