धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरिया तथा उनका समर्थकहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
शनिबार निर्वाचन अधिकृत धर्मअवतार कोइरालालाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका छन् । कोइरालाले मतगणनामा पक्षपात गरेको आरोप लगाउँदै उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन कार्यालयका अनुसार १५७ मतले नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भइसकेका छन् । अरगरियाका अनुसार प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको पेटिकामा गएको छ । निर्वाचन अधिकृतकै लापरबाहीले चार सय मतपत्र प्रदेशसभाको मतपेटिकामा गएको र उक्त सदर मतगणना गर्नुपर्ने उनको माग छ । उक्त मत गणना गर्नुपर्ने निर्वाचन निर्देशिकामा व्यवस्था भए पनि निर्वाचन कोइरालले गणना नगरेको उनको जिकिर छ ।
प्रदर्शनमा उनीहरुले ‘ धनुषा निर्वाचन क्षेत्र २ को मत गणना पुनः गर, घुसखोर निर्वाचन अधिकृतलाई कारबाही गर, जनमतको कदर नगर्ने अधिकृतलाई बर्खास्त गर र अर्को मतमा खसेको सदर मतगणना गर जस्ता नाराबाजी गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको परिणाम अनुसार अरगरियाले १९ हजार ९९५ र कांग्रेसका रामकृष्ण यादवले २० हजार ११२ मत प्राप्त गरेका छन् ।



