अपडेट 
२०७९ मंसिर १४, बुधबार ०७:२२

नेपाललाई जुन भौगोलिक हिसाबले तिन भागमा विभाजन गरिएको छ वा नेपालको प्राकृतिक स्वरुप रहेको छ, त्यसको एक मुख्य अंगको रुपमा रहेको छ तराई मधेस । तराई मधेसलाई जसरी अन्नको भन्डार भनिन्छ, त्यसरी यसले आफ्नो गर्व र गरिमालाई बचाउन तथा बढाउन अझै धेरै गर्न बाँकी नै रहेको छ । वास्तवमा अहिले यदि कोही तराई मधेसमा आउँछन् भने खेतबारीमा देख्न पाउँछन् धानको उत्पादनको सुन्दर दृश्य । यो दृश्य देखेर सबैको मन खुसी हुन्छन् । सहर बजार तथा पहाडतिरका मानिसलाई अहिलेको किसानको कर्मप्रति नौलोपना अनुभूति हुन्छ भने साँच्चै एक साथ दुई किसिमको जुन अवस्था रहेको छ, त्यो देखेर स्वयं किसानको मन पनि पुलकित हुन्छ । अहिले किसानको खेतबारी धानमय भएको छ । धान काट्ने मूल समय नै यही हो । किसानहरु धान काट्दै छन्, काटिएको धान खेतमा सुकाउँदै छन्, हडम्मामा धानको दाइँ गर्दै छन्, धान भित्र्याउँदै छन् । यसकारण धानको कर्म गाउँ वरिवरिदेखि पूरा खेतबारी र फाँटसम्म देख्न पाइन्छ । कतै धुलो उडेको देखिन्छ भने त्यहाँ धानको दाइँ भइरहेको छ भन्ने अनुमान हुन्छ । यसै गरी अब जहाँ धान काट्न बाँकी छ त्यहाँ सुनौलो रंगको सुन्दर खेत देखिन्छ । जताततै धानकै मुख्य कर्म भइरहेको वर्तमान सन्दर्भमा धानको कर्मले किसानलाई एकातिर सन्तुष्टि दिएको छ भने अर्कोतिर यसले केही पिरलो पनि थपेको छ । धानको उब्जनीले किसानलाई सन्तुष्टि दिएको छ । असारको महिनामा किसानले एक मुठी धान रोप्दा अहिले एक किलो होला भन्ने सुनौलो सपना देखेका हुन्छन् । धानको सम्पूर्ण परिश्रम र लगानी यही धान भित्र्याउनका लागि गरेका हुन्छन् र तुलनात्मक रुपमा किसानले सन्तुष्टि पाउने गरी अहिलेको धान फलेको पनि छ तर यहीँनेर अलिकति पीर कहाँ भइरहेको छ भने किसानले अहिले बेच्न खोज्दा धानको उचित मूल्य पाउन सकेका छैनन् ।

धानको समर्थन मूल्य सरकारले तोकेको छ तर साधारण किसानको पहुँचसम्म पुग्न सकेको छैन । किसानले धानलाई निकै सस्तोमा बेच्न बाध्य हुनुपर्ने मुख्य कारण चाहिँ किसानको पहुँच नहुनु र अगाडि आएको गर्जो हो । किसानले आफ्नो दैनिकी पनि धानमा निर्भर गर्नुपर्ने अवस्था पनि हुन्छ । कतिपय किसानले धान बेचेर रबि बाली लगाउन खोजिरहेका छन् । यस्तो समयमा धान बेचेर गहुँको बिउ र रासायनिक मल किन्न तथा खेत जोत्नमा टेक्टर साहुलाई तिर्न निकै मुस्किल परिरहेको छ । एकातिर धानको भाउ निकै कम छ भने अर्कोतिर गहुँको बिउको भाउ निकै चर्को छ । गहुँको बिउ पनि खोजेस्तो पाउन सकिरहेका छैनन् । यसै गरी रासायनिक मलको भाउ सुनेर किसानहरु छक्क परिरहेका छन् । बोर्डर छेउछाउका किसानलाई त केही हदसम्म सजिलो यसकारण रहेको छ कि भारतबाट विभिन्न माध्यमले मल मगाइरहेका छन् । भारतमा मलको भाउ सस्तो भएकोले बोर्डर छेउका किसानले सस्तोमा नै मल पाइरहेका छन् । कतिपय यस्ता पनि मानिस छन् जो भारतबाट मल ल्याएर नेपालका बेपारीलाई दिने गरेका छन् । सस्तोमा किनेर ल्याउने तथा महँगोमा बेच्नेलाई सोझो भाषामा तस्कर भन्न सकिन्छ । किसानले भने सस्तोमा नपाउने तर किसानको नाउँमा हरेक दिन मल ल्याएर पसलेलाई बेच्ने कारणले मल महँगो भएको हो । भारतीय मलसम्म सामान्य किसानको पहुँच हुन सकेको छैन । किसानले गहुँबालीको लागि आवश्यक मात्रामा सुलभ किसिमले मल नपाउने समस्या त रहेको छ नै । गहुँखेतीको लागि जोताइ पनि धेरै महँगो रहेको छ । सामान्यतया चार कठा खेतको साधारण जोताइ गरेर गहुँको बिउ छर्दा एक हजार रुपैया परिरहेको छ । किसानले कति मूल्य तिर्नुपर्ने र कति लिँदा धेरै हुन्छ भन्ने कुनै लेखाजोखा छैन । यसैले साधारण किसानलाई गहुँखेती निकै महँगो पर्ने देखिएको छ । जुन किसानले धान बेचेर गहुँखेती गर्नुपर्ने छ, त्यस्ता किसानलाई भने साँच्चै धेरै समस्या हुने गरेको छ । धान लिएर बजारतिर बेच्न गयो र उताबाट गहुँको बिउ, रासायनिक मल तथा अलिकति विषादि किनेर ल्याउँदा आफूले बेचेको उत्पादन र किनेको कृषि सामग्रीको मूल्य देखेर किसानको मनोविज्ञानबाट आफ्नो खुसी हराउने गरेको छ । किसानले सुपथ मूल्यमा यदि रासायनिक मल पाउने हो भने पनि किसानलाई धेरै सजिलो हुन पाउने थियो । गहुँबालीमा किसानले सजिलो र सुलभ तरिकाले रासायनिक मल पाउने हो भने गहुँको उत्पादन पनि बढ्ने हुन्थ्यो ।

यदि गहुँको बिउ पनि किसानले सोचेको जस्तो र खोजेको मूल्यमा दिँदा किसानले सजिलो गरी आधुनिक तथा प्रशोधित बिउको प्रयोग गर्ने थिए । यसै गरी मलको पनि आवश्यक मात्रामा उपयोग गर्न पाउने थिए । रासायनिक मलको आवश्यक मात्रामा उपयोग गर्न पाएपछि किसानलाई उत्पादनप्रति बढी विश्वास हुन्थ्यो, बढी भरोसा हुन्थ्यो । अहिले एकातिर धान काट्दै खाली भएको खेतमा अधिकांशले गहुँबाली लगाइरहेका छन् । गहुँबालीको उत्पादन पनि कसरी राम्रो हुन्छ भन्ने ध्याउन्नमा किसानहरु रहेका छन् । आखिरमा किसानको लागि बालीको उत्पादन नै महत्वपूर्ण कुरो रहेको छ । त्यो किसान जसले मसुरो तथा तोरी खेती गर्नुपर्ने थियो, गरिसकेका छन् । मसुरो तथा तोरी खेती केही छिटो गर्नुपर्ने हुन्छ । धानखेतीमा पानी ढिलोसम्म रहेको खेतमा किसानले गर्दछन् तर मसुरो खेती भने अलिकति अग्लो जमिनमा हुन्छ । हिउँदमा पानी पर्दा पनि पानी नजम्ने खेतमा मसुरो तथा तोरी खेती राम्रो हुने गरेको छ । धानखेतीमै पानी जम्ने खेतमा गहुँखेती राम्रो मानिन्छ । यो सामान्य अवस्था हो तर सामान्य किसान जो आफ्नो खेतीलाई जीवन निर्वाहको उपयुक्त साधन मान्दछन्, लाई धानको उत्पादनपछि सोझै गहुँको उत्पादन हुन्छ । धानको उत्पादन गरेपछि आफ्नो खेतमा गहुँबाली लगाउने एउटै कारण यो रहेको छ कि जसरी धानको उत्पादनले एक वर्ष खानलाई पुग्ने विश्वास छ, त्यसरी नै गहुँखेती गरिसकेपछि अब कसरी गहुँको उत्पादनले एक वर्ष परिवारको पेट पाल्नलाई हुन्छ । हुन त धानको उत्पादन राम्रो भएपछि गहुँको उत्पादन पनि राम्रै हुनुपर्छ भन्ने होइन । धानको उत्पादनमा पहिले मौसमले धोका दिएको जस्तो भएको थियो । गहुँको उत्पादन पनि मौसममा नै निर्भर रहने हो । कमसे कम एकचोटि गहुँको समयमा आकाशे पानी परेन भने किसानले बडो मुस्किलले एकचोटि गहुँमा सिंचाइ गर्दछन् । दोहो¥याएर गहुँमा सिंचाइ गर्ने सामथ्र्य किसानले राख्दैनन् ।

खेतीलाई जहिले पनि सम्भावनाको खेल भनेर किसानले भन्ने गरेका छन् । गहुँमा दुई चोटि सिंचाइ गर्ने तथा तिन चोटि मल हालेर यदि उत्पादनमा कुनै अन्य कारणले कमी हुन गयो भने किसानले धेरै घाटा बेहोर्नुपर्ने हुन्छ । सामान्यतया गहुँको बिउ छर्ने बेलामा बिउसँगै किसानले मल छर्छन् भने जतिपटक सिंचाई गर्नुपर्छ, त्यत्तिपटक किसानले गहुँमा मल छर्नुपर्ने हुन्छ । र जतिसुकै सिंचाइ गरे पनि आकाशबाट परेको पानीको तुलनामा कृत्रिम तरिकाले गरिएको सिंचाइ कम फलदायी हुन्छ । आकाशबाट पानी पर्दा सम्पूर्ण वातावरण नै फरक हुन्छ भने कृत्रिम सिंचाइले जुन खेतमा सिँचाइ भयो, त्यस खेतमा केही समयमात्र चिस्यान रहन्छ । यद्यपि गहुँबालीलाई धानबालीजस्तो धेरै पानीको आवश्यकता पर्दैन । गहुँको राम्रो उत्पादनमा दुई चोटि सिंचाइले नै काम गर्ने हुन्छ र गहुँबाली लगाइएको खेतमा पानी जम्ने गरी सिंचाइ भयो वा आकाशे पानी प¥यो भने खेतीलाई हानि नोक्सानी पु¥याउने हुन्छ । किसानका धेरै अपेक्षा पनि हुँदैन । आफ्नो उत्पादनको मूल्य राम्रो पाउने र खेती गर्ने बेलामा मल तथा बिउ सर्वसुलभ तरिकाले प्राप्त भए पुग्छ । मल त आफ्नो देशमा निर्माण हुँदैन तर हरेक वर्ष मुख्य सिजनमा कतैबाट मलको आपूर्ति गर्ने काम भने हुन सकेमा निकै राम्रो हुन्छ । किसानलाई रासायनिक मल र उत्पादित वस्तुको मूल्य पाउँदा नै किसान हर्षित हुन्छन्, सन्तुष्ट हुन्छन् । कृषिसित सम्बन्धित किसानका समस्याहरु समाधानमा सम्बन्धित पक्षको समयमै ध्यान दिई समस्या समाधान हुने हो भने तराई मधेसलाई जसरी अन्नको भन्डार भनिन्छ, त्यो भनाइ पूर्णतया सार्थक हुने थियो । तराईलाई अन्नको भन्डारको रुपमा चिनाउन सकिन्थ्यो ।

 

Comment


Related News

Latest News

Trending News