अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराले चेतन एडी हत्या प्रकरणमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराउँदै अनेरस्ववियुका विद्यार्थी नेताले ३३ वर्षीय एडीको हत्यामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ । अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालसहितका विद्यार्थीले नेताले बुधवार बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ध्यानाकर्षणपत्र बुझाउँदै एडी हत्या प्रकरणमा निष्पक्ष छानबिन गर्न सरकारसंग माग गरेका छन् । ध्यानाकर्षणपत्रमार्फत अनेर ास्ववियु बाराले घरमा सुतिरहेको व्यक्तिलाई बाहिर ल्याएर कुटपिट र हत्या गर्दासम्म सरकार मौन रहेको भन्दै अपराधिक गतिविधिको संरक्षण नगर्न आग्रह गरेको छ । अनेरास्ववियुले हत्या प्रकरणमा संलग्न अपराधीलाई तत्काल पक्राउ र कारबाही गर्न माग गरेको छ । अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहेका एडीको मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको राति हत्या भएको थियो ।
त्रिवेणी नगरपालिका वडा नं.७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा भएको कुटपिटबाट गम्भीर घाइते एडीलाई अछामको बयलपाटा अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ध्यानाकर्षणपत्र बुझाउने क्रममा अनेरास्ववियुका निर्जल घिमिरे, ईश्वर बस्नेत, संगीता गौतम, पार्वती दाहाललगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो।


