अपडेट 
२०७९ मंसिर १५, बिहीबार २०:१७

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री शेरबहादुर देउवाको सँगको भेटमा किसान आन्दोलनका माग र नागरिकताको विषय उठाएका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र राउतबीच भेट भएको थियो । भेटमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार दुई नेताबीच संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने विषयमा छलफल भएको छ । छलफल सकारात्मक रहेको जनमत पार्टीका नेताहरुले पनि बताएका छन् ।

जनमत पार्टीका नेता बिपी साहका अनुसार भेटमा बधाई साटासाटका अलावा अध्यक्ष राउतले मुख्यत दुई विषय उठाएका छन् । पहिलो – नागरिकता । दोस्रो – किसान आन्दोलनको मागको सम्बोधन ।‘नागरिकता विधेयक जुन राष्ट्रपतिकहाँ अड्किएको छ त्यसलाई तत्काल टुंगो लगाइनुपर्नेछ’ राउतले प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उधृत गर्दै साहले भने । यसमा प्रधानमन्त्रीले आफूहरुको निरन्तर प्रयास जारी रहेको र नयाँ सरकार बनेपछि नागरिकता विधेयकको विषयलाई एउटा टुंगोमा पुर्‍याइने आश्वासन दिए ।संघीय संसदबाट पारित भएर गएको नागरिकता विधेयक संसदमै फिर्ता पठाएर राष्ट्रपतिले आफूले दिएका सुझावको सम्बोधन नभएको भनी नागरिकता विधेयक नै प्रमाणीकरण गरेकी छैनन् । यो विवाद हाल सर्वोच्च अदालतमा पनि बिचाराधीन छ । राष्ट्रपतिले सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा भने नागरिकता विधेयक ‘यथास्थितिमा राखिएको’ भनिएको छ ।

साथसाथै, अध्यक्ष राउतले किसान आन्दोलनका माग अन्तर्गत मलखादको व्यवस्थापन, किसान कार्ड, किसान पेन्सन र रासायनिक मलको सहज उपलब्धताको विषय प्रधानमन्त्रीसमक्ष राखेका छन् । जवाफमा प्रधानमन्त्री देउवाले यो साझा विषय भएको र दीर्घकालीन समाधान आफ्नो पनि चाहना भएको बताए ।

Comment


Related News

Latest News

Trending News