एक कृषकले नयाँ प्रविधिबाट तरकारी खेती सुरु गरेका छन् ।
राजविराज–७ खरसाल टोलका सुखराम यादवले उपचारमा प्रयोग हुने स्लाइन पानीको खाली बोतलमा ट्युबेलको पानी भरेर तरकारीका बोटमा सिंचाई गरी तरकारी खेती गर्न थालेका छन् । बोट पिच्छै स्लाइन पानीका बोतलमा मसिनो पाइप जडान गरी थोपा थोपा सिंचाई गर्दा छुट्टै मानिस खट्नु पर्ने झन्झ्ट न रहेको बताउँदै उनले यस प्रविधिबाट समय र पैसा दुबैको बचत संगै कम लागतबाटै राम्रो फाइदा लिन सफल भएको बताए । आफनो दशधुर जग्गाबाट तरकारी खेती गर्न थालेका उनले अस्पतालमा प्रयोग भइ खाली रहेका प्लास्टीकका स्लाइन पानीका बोतल संकलन गरी त्यसमा पानी भरेर बाँसको लठ्ठीमा झुण्ड्याई तरकारी बोटमा सिंचाई गर्न सुरु गरेका छन् । बोतलमा पानी भरिदिएपछि थोपा थोपा गरी बोटको जरामा खस्ने र पानीको अभाव न रहने उनले बताए । नयाँ तरिकाले सिंचाई सुरु गरेको यादवको तरकारीबाली राम्ररी फस्टाउँदै गएको छ ।
सिंचाईका लागि नया तरिका अपनाएपछि आसपासका मानिसहरु समेत हेर्न आउँदा दिनभरि घुँइचो लाग्ने गरेको यादवले सुनाए । नागरिक संजाल सप्तरीका अध्यक्षसमेत रहेका यादवले यस अघि जिल्लामा ल्याएको मुठिया चामल बचत योजना (घर घरमा एक÷एक मुठी चामल दैनिक बचत गर्ने) नौलो कार्यक्रम पनि निकै प्रभावकारी र चर्चित बन्न पुगेको थियो ।



