रौतहटमा फेरि एकजना किसानको चार बिगहा क्षेत्रफलको धानमा अज्ञात समूहले आगजनी गरेको छ ।
अज्ञात समूहले एकजना किसानको दुई बिगहा खेतको धानमा आगजनी गरेको घटना सेलाउन नपाउँदै फेरि एकजनाको धानमा आगजनी गरिएको छ । जिल्लाको पूर्वी भेग स्थित गढिमाई नगरपालिका वडा नं ३ गम्हरियाका शेख ग्यासुदिनको धानको भारीमा अज्ञात समूहले आगजनी गरिदिएका छन् । काटेर दाँई गर्न गम्हरिया गाउँको छेउमै रहेको खेतमा एक ठाउँमा थुपारिएर राखिएको धानको भारीमा शुक्रवार राति करिव ९ बजे अज्ञात समूहले आगो लगाइ नष्ट गरिदिएका छन् । आगजनीबाट धान पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब चार लाख बराबरको क्षति भएको पीडित ग्यासुदिनले बताएका छन् । घरमा भित्र्याउन राखिएको धानबालीमा कसैले व्यक्तिगत प्रतिशोध साध्न आगो लगाएको पीडित ग्यासुदिनको अनुमान छ । वर्षभरि कडा मिहिनेत गरी खेतमा उब्जाएको धानबाली घरमा भित्र्याउनु अघि नै खरानीमा परिणत भएपछि पीडित परिवार चिन्तित भएका छन् । दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र क्षतिपूर्ति दिलाउन पीडित परिवारले सम्बन्धित निकायसंग माग गरेका छन् ।
यसअघि गत मंसिर १४ गते बुधवार जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं २ शीतलपुर निवासी पूर्व सइ रामानन्द यादवको दुई बिगहा क्षेत्रफलको धानको भारीमा अज्ञात समूहले आगजनी गरेको थियो ।



