मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराईको आइतवार कोशी ब्यारेज घाटमा अन्त्येष्टि गरिएको छ ।
भट्टराईका जेष्ठ सुपुत्र राजीवले भट्टराईको पार्थिव शरीरमा दागवत्ती दिएका थिए । भट्टराईको २ छोरा, १ छोरी र श्रीमती छन् । पत्रकार महासंघ सर्लाही शाखाको ११ आंै साधारण सभामा विशिष्ट अतिथिको रुपमा त्यहाँ पुगेका भट्टराईको अघिल्लो दिन शनिवार विहान उनी वास वसेको लालबन्दी नगरपालिका १३ पथ्थरकोट स्थित होलिडे रिसोटमा निधन भएको थियो । शुक्रवार बेलुकाको खाना खाएर सुतेका उनी शनिवार विहान ओछ्यान मै मृत अवस्थामा फेला परेका थिए । उच्च रक्तचाप, हृदय रोग तथा मधुमेहबाट पीडित उनको हृदयघातबाट निधन भएको अनुमान गरिएको छ । शनिवार राति नै मंलगवा अस्पतालमा पोस्टमार्टम सकिएपछि घर ल्याई आइतवार विहान उनको पार्थिव शरीर निवास स्थलमा श्रद्धान्जली अर्पणका लागि राखिएको थियो । निवासस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, जसपाका राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, राष्ट्रिय सभाका सदस्य मृग्रेन्द्र कुमार सिंह यादव, पूर्व मन्त्री उमेश यादव, रेणु यादव, जयप्रकाश प्रसाद गुप्ता,नगर प्रमुख भीमराज यादव (हाल निलम्वित अवस्थामा रहेका), पूर्व नगर प्रमुख गोविन्द सिंह, शैलेश चौधरी, नागरिक समाजका अध्यक्ष थान सिंह भन्साली, उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष अरुण प्रधान लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि भट्टराईको पार्थिव शरीर पत्रकार महासंघ शाखा सप्तरी परिसरमा समेत राखिएको थियो ।
जहाँ शाखाका अध्यक्ष श्रवण देव, उपाध्यक्ष बैजनाथ यादव, सचिव रामनारायण विश्वास, कोषाध्यक्ष नवीन गुप्ता, पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज कुमार माझी, पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघ सप्तरी शाखाका पूर्व सभापति बैजनाथ झा, विष्णु मण्डल, धिरेन्द्र साह, मुरली प्रसाद यादव, जितेन्द्र खडका लगायतले महासंघको झण्डा ओढाएर सम्मान र श्रद्धान्जली व्यक्त गरेका थिए । सम्मान पश्चात निकालिएको शवयात्रामा जिल्ला पत्रकार,राजनीतिक दलका नेतृत्वकर्ता र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । यसैबीच,महासंघको बैठकले शोक मनाउन आइतवार देखि १३ दिन सम्म शोकका कार्यक्रक्रम बाहेक अन्य औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको पत्रकार महासंघ शाखा सप्तरीले जनाएको छ ।


