सर्लाहीका विभिन्न भित्री सडकमा धुँलोका कारण सडकमा सास्ती भोग्न बाध्य भएका छन् ।
जिल्लाको पूर्व–पश्चिम हुलाकी राजमार्गसहित अन्य भित्री सडकहरूमा अहिले असाध्य धुँलो उड्ने गरेकोले स्थानीयलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ भने धँुलोकै कारण उनीहरू बिरामी पर्न थालेका छन् । जिल्लामा हुलाकी सडकसंगै सलेमपुर–मदनपुर, हरिवन– कौडेनासहित अन्य भित्री सडकहरू जीर्ण भएर अत्यधिक धुँलो उडिरहेको स्थानीयवासीले बताएका छन्। यहाँका २० वटै पालिकाका अधिकांश भित्री सडक अहिले धुलाम्मे अवस्थामा छन्। झन्डै एक दर्जन पालिकालाई जोड्ने जिल्लाकै प्रमुख पूर्व– पश्चिम हुलाकी सडक सबैभन्दा खराब छ । धँुलोले पूरै शरीर छपक्कै भइ बिरामी नै पर्ने अवस्था रहेको पर्सा गाउँपालिका–४, जिगड्वाका केशव महतोले गुनासो गरे । जिल्लाको पूर्वी भेग हरि पूर्वा,चन्द्रनगर, पर्सा, ब्रह्मपुरी तथा पश्चिमी भेग बलरा, गोडैता, विष्णु, चक्रघट्टा, रामनगर, कौडेनालगायत पालिकाका बासिन्दालाई सदरमुकामसम्म पुग्न निकै समस्या छ । धँुलोले पैदलयात्री र मोटरसाइकल चालक बढी समस्यामा रहेका छन् ।
सडक छेउछाउका घरहरू धँुलोले ढाक्ने गरेका छन्। हुलाकी सडकमा ठेकेदारले विभिन्न बहाना बनाएर काम नगर्दा जिल्लावासी लामो समयदेखि धुलोको सास्ती खेप्न बाध्य भएका छन् ।


