विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरि तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ ।
आज (मङ्गलवार) सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले यस्तो दबाब दिनुभएको हो । देश चुनावकाे परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ । वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रिपरिषदबाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनुभयो ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बुँदे सहमति गरि नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर त्याे सहमति अझै कार्यान्वयनमा नआएको भन्दै नेकपाले असन्तुष्टि जनाउँदै आएको छ ।


