अपडेट 
२०७९ मंसिर २१, बुधबार ०७:१८

सिरहामा नियामक निकायको मिलेमतोमा मापदण्ड विपरीत अनुमति विनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् । नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको संख्यामा अनुमति विना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका छन् ।

स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमति विनाका मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएको छ । लहान नगरपालिकामा मात्र सयौँको संख्यामा क्लिनिक तथा अस्पतालहरू सञ्चालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकले मात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख मण्डल आफैँले लहान ८ मा सञ्चालन गरेको मण्डल क्लिनिकसमेत दर्ताको नभएको नाम नखोल्ने शर्तमा एकजना स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेश गर्ने क्लिनिक तथा अस्पतालसंग अवैध रकम लिएर सञ्चालन गर्ने छुट दिएको छ । गोलबजार नगरपालिकामा पनि विना दर्ताको अस्पताल तथा क्लिनिकहरू छ्यापछ्याप्ती खुले पनि नियमनकारी निकाय मौन रहेको देखिन्छ। गोबजारको मुख्य बजारक्षेत्र ४ र ६ नम्बर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमति विना नै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरू नियम कानून विपरीत सञ्चालन भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरू भने मौन सर्मथन गरेझैँ गुमनाम बसेका छन् । सम्बन्धित निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका छन् ।

गोलबजारमा मात्रै करिब ३ दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिकहरू, ल्याबहरू सञ्चालनमा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका अनुसार क्लिनिकहरू धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेश गरेको र चुनाव तथा जनप्रतिनिधिको व्यस्तताका कारण अनुगमन गर्न सकिएको छैन । जन स्वास्थ्य सेवा नियमावली अनुसार वार्षिक रुपमा म्याद समाप्त भएको ३ महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन । जिल्ला बाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरियल अस्पताल प्रा.लि.समेत गोलबजारमा सञ्चालनमा रहेको छ । गोलबजार नगर स्वास्थ्य शाखामा नवीकरणका लागि फाइल पेश गरिएको गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल ,सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भूमिजा हस्पिटलको करिब २ वर्षदेखि नवीकरण नै नगरिएको बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News