२०७९ पुष २, शनिबार ०८:१५

रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैद्यनाथ प्रसाद यादवले नगरपालिकामा ब्रहमलुट मच्चाएको पाइएको छ । मेयर यादवले विना कुनै कार्यक्रम गरी आफ्ना मनपर्दी गैरकानुनी तारिकाले खाजा र खानाको नाममा लाखौं रकम हिनामिना गर्नुका साथै व्यक्तिगत कर्मचारीको नाममा पेश्की रकम निकासा गराएको पाइएको छ ।

नगरपालिका कार्यालयको आयोजनामा कुनै कार्यक्रम गर्नुपर्दा मात्र सहभागीहरुको खाजा र खानाको खर्च नगरपालिका कार्यालयले व्यवहोर्ने नियम छ तर माधव नारायणका मेयर बैद्यनाथ प्रसाद यादवले विना कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको भनी लाखौं रकम भुक्तानी गराएको रहस्य खुलेको छ । मेयर यादवको आदेशमा विल भर्पाइको आधारमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपैयाँ भुक्तानी दिइएको लेखापाल रामबलम यादवले जानकारी दिए । मेयर यादवको तोक आदेशमा भुक्तानी दिइएको उक्त होटलहरुमा नगरपालिकासंग सम्बन्धी कुनै कार्यक्रम नै नभएको पाइएको छ । त्यस्तै कुनै संस्था वा उपभोक्ता समितिको नाममा मात्र पेश्की दिनुपर्ने नियम छ तर माधवनारायण नगरपालिकाबाट चारजना कर्मचारीको व्यक्तिगत नाममा लाखौं रकम पेश्की निकासा गरिएको छ । पेश्की लिनेमा सरकारी कर्मचारी देखि लिएर करारका कर्मचारी समेत रहेका छन् । विभिन्न कार्यक्रम सञ्चालन गर्ने भनी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्रिलाल साहको नाममा ८ लाख ५० हजार, प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादवको नाममा १२ लाख, करारमा कार्यालय सहयोगीको रुपमा कार्यरत अर्जुन साहको नाममा ८ लाख र करारकै अर्का कार्यालय सहयोगी राजेश पण्डितको नाममा ७ लाख रकम कार्यक्रम सञ्चालन गर्नुभन्दा अघि नै अग्रिम भुक्तानी दिइएको देखिएको छ ।



नगरको विकासका लागि आएको रकम विकास कार्यमा खर्च नगरी मेयर यादवले होटलमा खर्च गरेर ब्रहमलुट मच्चाएको स्थानीयहरुले बताएका छन् । मेयरमा निर्वाचित भएको ७ महिना बितिसक्दा पनि उनले अहिलेसम्म एउटा पनि ठोस काम गर्न नसकेको र जनताको विकास बजेट दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्न खोजेको भन्दै मेयर यादवको सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ । जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य श्याम विहारी यादवले माधवनारायणका मेयर बैजु यादव नगरपालिकालाई कमाउखाने भाँडो बनाएको आरोप लगाएका छन् । मेयर पदको आडमा कानूनलाई हातमा लिएर मेयर यादवले ७ महिनामै नगरपालिकालाई अस्तव्यस्त बनाइदिएको नेता यादवले बताए । कर्मचारीलाई पेश्की, होटलको अनावश्यक विल भुक्तानी लगाएत बहानामा मेयर यादवले आफना कार्यकर्तालाई पाल्ने काम मात्र गरेको उनले बताए । मेयर यादवको कार्यशैलीले नगरवासी आजित भइसकेकोले भ्रष्टाचारमा लिप्त नभई जनताको कामप्रति उत्तरदायी भएर लाग्न उनले मेयर यादवलाई सुझाव दिए । यस सम्बन्धमा मेयर वैद्यनाथ यादवसंग प्रतिक्रिया लिदा उनले कुनै ठोस जवाफ दिन सकेन् ।

Comment


Related News

Latest News

Trending News