सर्लाहीको लालबन्दी बजार शनिवारबाट महिनाको २ पटक बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ लालबन्दी र लालबन्दी चेम्बर अफ कमर्सको संयुक्त बैठकले महिनाको २ वटा शनिवार बजार बन्द गर्ने निर्णय गरेको छ ।
जसअनुसार लालबन्दीका उद्योगी, व्यवसायी र ब्यापारि हरुले अब पहिलो र तेश्रो शनिवार ब्यवसाय बन्द गर्नुपर्ने छ । यस अघि पहिलो र तेश्रो आइतबार बन्द हुँदै आएको लालबन्दी बजार, शनिवार सबै सरकारी कार्यालय, स्कुल, बोर्डिङ, बैंक तथा वित्तीय संस्थासमेत बन्द हुने भएकोले शनिबारका लागि बजार बन्द गर्ने निर्णय गरिएको संयुक्त ब्यापारिक समितिका लागि उद्योग वाणिज्य संघका तर्फबाट संयोजक पूर्ण प्रसाद चौलागाईंले बताए । २०७९ साल पुस महिनाको पहिलो शनिवारबाटै लागु हुने गरी व्यवसायीद्वारा निर्णय गरिएको र सो निर्णयलाई कार्यान्वयनका लागि सबै उद्योगी, व्यवसायी र ब्यापारीले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरिएको लालबन्दी चेम्बर अफ कमर्सका तर्फबाट संयुक्त ब्यापारिक बिश्राम समितिका संयोजक सन्तोष पौडेलले बताए । उनका अनुसार बैठकले अत्यावश्यक वस्तु तथा सेवा बिक्री गर्ने फर्महरु जस्तै डेरी, शैलुन, होटल, औषधि पसल, क्लिनिक तथा स्वास्थ्य संस्था, पुस्तक पसल, छापाखाना तथा संचारगृह र तरकारी फलफूल पसललाई अनिवार्य गरिएको छैन ।


