अपडेट 
२०७९ पुष ५, मंगलवार ०६:४३

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टी(एस)बीच एकीकरणको तयारी सुरु भएको छ । आमनिर्वाचनमा अपेक्षाकृत सफलता हात पार्न नसकेको जसपा र राष्ट्रिय दल बन्न असफल भएको नेकपा एसबीच एकीकरणको प्रक्रियाले धेरै चरण पार गरिसकेको उच्चस्रोतले जनाए ।

‘जसपाका अध्यक्ष उपेन्द्र यादव र एसका अध्यक्ष माधवकुमार नेपालबीच एकीकरणको विषयमा छलफल अगाडि बढेको छ’ स्रोतले भने, दुबै नेताबीच सकारात्मक वार्ता भएको छ ।दुबै दलबीच कार्यगत एकता भएको चाँडै घोषणा हुने स्रोतले जनाए । संघीय सरकार गठनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भए बाहेक कांग्रेस र एमालेलाई अन्य दलसित मिलेर सरकार बनाउन जसपा अथवा नेकपा एस अनिवार्य चाहिन्छ ।दुबै दल एकीकरण भए सत्ताको निर्णायक शक्ति बन्ने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाँडै समाजवादी केन्द्र गठन हुने बताए लगतै जसपा र एसबीच एकीकरणको प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधिसभामा जसपाको १२ र नेकपा एसको १० जना सांसद छन् । प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशको सरकार गठनमा जसपा निर्णायक रहेको छ । एससित एकीकृत भए जसपा झन् बलियो हुनेछ । जसपासित एकीकृत भए एसका सांसदहरुले पनि दलको मान्यता प्राप्त गर्ने छन् । राष्ट्रिय दल रहेको जसपामा एस मिसिएसँगै एसका सांसदहरुको स्वतन्त्र हैसियत समाप्त हुनेछ ।

जसपाका अध्यक्ष यादव प्रतिनिधि सभामा नरहेकाले दलको नेतामा एसका अध्यक्ष नेपालले अवसर पाउने छन् । जसपा संघीय परिषद्का अध्यक्ष रहेका अशोक राईसित पनि एसका नेताहरुले छलफल गरेका छन् ।नेपाल र राई विगतमा एमालेमा नै थिए ।उनीहरुबीचको सम्बन्धमा तिक्तता नरहेको बताइन्छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख समेत प्रदेशमा मुख्यमन्त्रीहरुको समेत प्याकेजमा सहमति गर्न चाहेको छ ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकार गठनको विषयमा छलफल सुरु भइसकेको छ । नेकपा एमालेले सरकारको नेतृत्व गर्न नेकां र माओवादी दुबैलाई समर्थन गर्ने संवाद गरिरहेको छ ।एमालेले माओवादी र कांग्रेसका नेताहरुसितको छलफललाई निरन्तरता दिएको छ । सत्तासाझेदारीको विषयमा औपचारिक रुपमा जसपालाई कांग्रेस र एमालेले सम्पर्क नगरेको नेताहरुले बताएका छन् ।स्रोतका अनुसार कांग्रेस समेतको गठबन्धनमा नै जसपा पनि सहभागी हुने बलियो संभावना छ । जसपालाई उपराष्ट्रपति र मधेश प्रदेशको मुख्यमन्त्री दिने विषयमा सत्तारुढ गठबन्धनमा सकारात्मक छलफल भइरहेको छ ।देशको पहिलो राष्ट्रपति नेपाली कांग्रेसले पाएको बेला उपराष्ट्रपतिमा जसपाबाट परमानन्द झा निर्वाचित भएका थिए । जसपाका सांसद एवं निवर्तमान महासचिव रामसहाय यादवले हाल सत्तासाझेदारीको विषयमा कुनै दलले सोधखोज नगरेको बताए ।

‘सरकार बनाउन गठबन्धनका लागि कुनै दलबाट प्रस्ताव आएको छैन्’ उनले भने, तर पहिलो रोजाई सत्तारुढ गठबन्धन सक्छ । एससित एकीकरणको प्रक्रिया अगाडि बढेसँगै सत्तामा हिस्सेदारी हुने निश्चित छ । सरकारको नेतृत्वका लागि प्रचण्डले देउवा समक्ष औपचारिक रुपमा नै प्रस्ताव राखिसकेका छन् ।तर देउवाले गठबन्धनको बैठकमा छलफल गर्ने जवाफ दिएका थिए । सरकारको नेतृत्व गर्न प्रचण्डलाई जसपा र एसको बलियो साथ चाहिएको छ । यादव र नेपालले नसघाए प्रचण्डलाई कांग्रेस र एमाले दुबैले प्रधानमन्त्री दिने संभावना छैन् । जसपा र एसबीच एकीकरण भएपछि प्रचण्डले भने जस्तै समाजवादी केन्द्र गठनको प्रक्रिया पनि अगाडि बढन सक्ने संभावना रहेको छ । डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीलाई जसपाले एकीकृत गरेको थियो ।तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) लाई पनि पार्टीमा मिलाएको थियो । तर पहिले महन्थ ठाकुर लगायतका नेताहरुले जसपाबाट बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए ।

त्यस लगतै डा.भट्टराईले पनि नेपाल समाजवादी पार्टी गठन गरे पनि चुनाव माओवादी केन्द्रको छापबाट लडेका थिए ।त्यस पार्टीका अध्यक्ष महेन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट राजेन्द्र महतोलाई पराजित गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News