अपडेट 
२०७९ पुष १०, आईतवार ०८:०७

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् । फेरि एक पटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्कसमेत गरे । प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए । अध्यक्ष ओलीले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतमा एउटा भनाइ छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहो¥याए । उनले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरू आफैँ समाप्त भएको जिकिर गरे । नयाँ सरकार गठनका लागि सहमति गर्नका लागि दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आइतवार ४ बजेसम्म सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेका थिए । नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेश गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News