अपडेट 
२०७९ पुष ११, सोमबार ०७:३५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साह लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस माओवादी सहितको सत्ता गठबन्धनबाट स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव सहभागी भएका थिए । चुनाव लगतै बन्ने सरकारको नेतृत्व प्रचण्डलाई दिने कांग्रेस र माओवादीबीच भद्र सहमति भएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भद्र सहमति उल्लंघन गरेपछि प्रचण्ड एमाले सहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री हुन सफल भएका छन् । देउवाले प्रचण्डलाई शनिवारसम्म सरकार गठनका विषयमा अल्टिमेटम दिएका थिए । शुक्रबारको छलफलमा देउवाले पार्टीभित्रकै नेताहरू पहिलो चरणमा प्रधानमन्त्री दिन नमानेको जवाफ प्रचण्डलाई दिएका थिए । तर, पार्टीका नेताहरुसँगको छलफलमा भएकाले मिलाउने बचन समेत दिएका थिए । शनिवार बेलुका पुनः देउवा र प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित शीर्ष नेताबीच छलफलमा सहभागी भएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेसले लिने अडान यथावत् राखे । राष्ट्रपति कांग्रेसकै भए पनि प्रधानमन्त्रीको पहिलो कार्य आफूले पाउनुपर्ने प्रचण्डले पूर्ववत् भद्र सहमति समेत सम्झाए । गत शनिवारको बालुवाटार छलफलबाट कुनै निष्कर्ष निस्कन नसकेपछि आइतबार बिहान टुङ्ग्याउने समझदारी भएको थियो । आइतबारको छलफलमा समेत देउवाले पुरानै अडान दोहो¥याएपछि प्रचण्डले गठबन्धन टुटेको भन्दै खुमलटार लागेका थिए ।

बालुवाटारबाट खुमलटारमा केही बेर विश्राम लिएका प्रचण्ड सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट प्रस्थान गरे । प्रचण्ड सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन लगायत नेताहरू लाइन लागेर बालकोट पुगेका थिए । बालकोटमा एमाले अध्यक्ष ओली सहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायत नेताहरू सहभागी थिए । यस्तै ओली प्रचण्डसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सहभागी भएका थिए । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डको नेतृत्वमा बहुमत पु¥याएर नयाँ सत्ता गठबन्धनका नेताहरू शीतलनिवास पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News