२०७९ पुष १४, बिहीबार ११:११

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध परेको पुनरावेदनमा आज पेसी तोकिएको छ । पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ।

यसअघि पुस ७ गते तोकिएको पेसीमा सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरू व्यस्त भएपछि सरेको थियो । उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए। लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ।

तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो। यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ ।

Comment


Related News

Latest News

Trending News