अपडेट 
२०७९ पुष १६, शनिबार १६:२८

कम्बोडियामा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । कम्बोडियाको क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको अधिकारीले पुष्टि गरेका छन् ।

कम्बोडियाली सुरक्षा अधिकारीहरूले विद्युतीय खराबीका कारण आगो लागेको बताएका छन् । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११:३० बजे आगलागी भएको थियो ।

यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् । आगलागीमा परी १७ जना थाई, एक जना मलेसियाली र एक जना नेपाली सहित २६ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताएका छन् । उनले भने, “केही मानिस जलेर, केही अक्सिजनको अभावमा र केही मानिसको बाहिर निस्कने बाटोमै धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।”

होटल–क्यासिनोको जटिल प्रारुप र उद्धार उपकरणको अभावका कारण अधिकारीहरूले आगो निभाउन निकै लामो समय लागेको उनले बताए । कम्बोडियाका आपतकालीन टोलीले शुक्रबार साँझ रात परेपछि आफ्नो उद्धार प्रयास अन्त्य गरेको थियो । किमले भने, “टोलीले परिसरको सबै भागमा खोजी गरेको थियो ।”

घाइतेमध्ये धेरैको थाई अस्पताल र चिकित्सकहरूले उपचार गरेका थिए । थाई नागरिकहरूले कम्बोडियाली आपतकालीन टोलीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरेका थिए ।

थाइल्याण्डका अधिकारीहरूले शुक्रबार ५० जनाभन्दा बढीलाई अस्पताल भर्ना गरिएको र १३ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । कम्बोडियाली अधिकारीहरूले होटल मालिकहरूविरुद्ध मुद्दा लगाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

Comment


Related News

Latest News

Trending News