नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले प्रदेशसभा कार्य सञ्चालन नियमावलीमा आपत्ति जनाएका छन् ।
सोमबार पहिलो अधिवेशनको पहिलो बैठकमै लोसपाका सांसद उपेन्द्र महतो र कांग्रेसका सांसद रामसरोज यादवलले नियमापत्ति जनाएका छन् । बैठकमा सभामुख गोविन्द बहादुर न्यौपानेले नयाँ नियमावली नबनेको हुनाले ‘प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५’ नै सभाबाट अनुमोदन गर्न प्रस्ताव पेश गरेका थिए । सोही प्रस्तावमा सांसदद्वयले आपत्ति जनाएका छन् । तर नियमावली सर्वसहमतिले पास भएको छ । पास भएको नियमावली प्रदेशसभा कार्य सञ्चालन ऐनको नियम ३ उल्लंघन भएको महतोले भनाइ राखेका थिए । प्रदेशसभा बैठकको सूचना एक साता अगावै जानकारी गराउनुपर्ने कानूनी व्यवस्था भए पनि तीन दिन पहिले मात्रै जानकारी गराउँदा संसद आफैले बनाएको नियमावलीको उल्लंघन भएको उनले बताए । कांग्रेसका सांसद यादवले पनि सोही विषयमा आपत्ति जनाउँदै सचिवले कानून उल्लंघन गरी आफूहरुको अधिकार कटौती गर्न लागेको भन्दै सभाको कार्यसञ्चालन बन्द गर्न माग गरे । तर सभामुख न्यौपानेले दुबै जना सांसदको जिज्ञासालाई जवाफ दिँदै जायज माग रहेको बताए । सरकारले अधिवेशन बोलाए अनुसार बैठक बसेको सभामुखले स्पष्ट गरे । तर केही त्रुटि देखिएको हुनाले सो विषयमा मुख्यमन्त्रीले जवाफ दिने उनले बताए । सांसदहरुको माग नियमसम्मत रहेको हुनाले सरकारलाई अव त्यस प्रकारको कार्य नगराउन उनले सचेत गराए । दुई सांसदले आपत्ति जनाए पनि नियमावली सर्वसहमतिले पास भएको छ । ०७९ पुस १६ गते सर्वदलीय बैठकले अधिवेशन बारे निर्णय गरेको थियो । सोही अनुसार प्रदेश प्रमुख हरिशंकर मिश्रले बैठकको लागि प्रदेशसभालाई पत्र पठाएका थिए ।
बैठकमा महतो र यादवले आपत्ति जनाएको प्रति जनता समाजवादी पार्टी (जसपा)का सांसद तथा मुख्यमन्त्री लालबाबु राउतले गल्ती स्वीकार्दै पहिलो बैठकमा आपत्ति भएको विषयलाई सकारात्मक रुपमा लिएको बताए ।समय ढिलो गरी तय भएको हुनाले त्रुटि भएको उनले स्वीकार गरे । उनले भने ‘समन्वय, सहकार्य नहुँदा र अधिवेशन बारे ढिलो निर्णय हुँदा माननीय ज्युहरुलाई पनि ढिलो गरी जानकारी भएको होला,’ । उनले भने,‘समयको कन्फियुजन, प्रमुख सचिव र सचिवहरुको अनुपस्थितिले यो मिस्टेक भएको छ । तर यो भनेर म फुत्किन मिल्दैनन् । म आफ्नो चेयरबाट गल्ती स्वीकार गर्नेपर्छ ।’ अधिकार प्राप्तिको आन्दोलनमा कैदी जीवन विताइरहेका सबै जनालाई थुनामुक्त गर्नुपर्ने मुख्यमन्त्री राउतले माग गरे । नेकपा एमालेका राजकुमार लेखीले विकास निर्माणको काममा एक ढिक्का भएर लाग्नुपर्ने बताए । सुशासन र पादर्शीताको बाटोमा अझ संवेदनशील हुन उनले आग्रह गरे । कांग्रेस संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनतालाई अनुभूति हुने काम गर्नुपर्ने बताए । किसानको समग्र समस्याप्रति ध्यानाकर्षण गराउँदै सांसदको दायित्वप्रति गम्भीर हुनुपर्ने उनले बताए । जनमत पार्टीका सांसद बसन्त कुशवाहाले मधेशको सवालमा एकबद्ध भएर काम गर्न जोड दिए । प्रदेश सरकारले विगत पाँच वर्षको प्रगति विवरण उपलब्ध गराउन पनि उनले माग गरे । ‘प्रदेश सरकार बारे सांसद र मिडियाबाट आएको विवरण फरक फरक देखिएको हुनाले पाँच वर्षको रिपोर्ट कार्ड उपलब्ध गराउन अनुरोध गर्छु,’उनले भने,‘सही सूचना र तथ्याङ आए हाम्रो स्रोतसाधनले गर्नसक्ने जति काम गर्न पनि सहज हुन्छ ।’ लोसपाका सांसद जितेन्द्र सोनलले संघीयता बचाउने जिम्मेवारी काँधमा आएको बताए । संघीयतामाथि गिद्धे नजर नराख्न उनले चेतावनी दिए । स्व साशन आए मात्रै सुशासन आउने उनले जिकिर गरे । ‘ पहिले शासन त्यसपछि सुशासन । शासन पाए सुशासन स्वतः कायम हुन्छ,’उनले प्रदेश प्रहरी ऐनतर्फ संकेत गर्दै भने, ‘प्रदेश प्रहरी ऐनको लागि हामीले कानून मात्रै बनाएनौं प्रस्ताव पास गरेका छौं । यसको लागि केन्द्रीय सरकार हामीलाई सहयोग गरोस् ।’


