२०७९ पुष २३, शनिबार ०८:१७

कमला नगरपालिकाको मलहनिया स्थित हुलाकी सडक अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल निर्माण थालिएको झण्डै १२ वर्ष भए पनि अधुरो कार्यले अलपत्रको अवस्था रहेको छ । निर्माण कम्पनीले २४ करोड ९० लाखमा पुल निर्माणको ठेक्का पाएका थिए । तर पटक– पटक म्याद थपिए पनि काम भने पूरा हुन सकेको छैन । अन्तिम पटक पुल निर्माणका लागि २०७८ साल फागुन ३० गतेसम्मको म्याद दिइएको थियो । तर निर्माणकै क्रममा १७ असार ०७८ सालमा कमला नदीमा आएको सामान्य बाढीमै पुलको दुई पिलर भासिएदेखि अहिलेसम्म पुल अलपत्र अवस्थामा छ । ४ सय ७० मिटर लामो पुल निर्माण गर्न निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीसँग ३१ जेठ २०६८ साल मै तीन वर्ष भित्रमै कार्य सम्पन्न हुनेगरी सम्झौता भएको थियो । पुल लामो समयदेखि अलपत्र अवस्थामा रहे पनि ठेकेदार भने अहिलेसम्म कबुल गरेको रकम मध्ये करिब ९० प्रतिशत अर्थात २३ करोड १९ लाख रुपैयाँ भुक्तानी भने पाइसकेका छन् । तर पुल निर्माण नहुँदा यस क्षेत्रका सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । पुल निर्माण नहुँदा हुलाकी सकड पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन । सो सन्दर्भमा हुलाकी सडक संघर्ष समितिले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आयोजित अन्तक्रिया कार्यक्रममा मधेश प्रदेशका मन्त्री कानून तथा प्रदेश मामिला मन्त्री प्रमोद यादवले हुलाकी सडक मधेशको लाइफलाइन रहेको र हुलाकीको लाइफलाइन कमला पुल रहेको भन्दै त्यसको निर्माणको लागि आफ् नो स्थानबाट पहल गरिने बताए ।

हुलाकी सडकको अभावमा जनकपुरधाम र सिरहाको दूरी ३० किलोमिटर रहे पनि ८५ किलोमिटर भन्दा बढी दूरी तय गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै मन्त्री यादवले भने,‘ हुलाकी सडक निकै पुरानो परियोजना हो । तर राज्यको उदासीनताको कारणले यो अहिलेसम्म पूर्ण रुपमा पूरा हुन सकेको छैन, त्यसकारण यसलाई सफल बनाउने आफूले हरेक सम्भव प्रयास गर्नेछु ।’ त्यसैगरी, प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध प्रसाद सिंहले हुलाकी सडक र पुल निर्माणको कार्यलाई गति प्रदान गर्न आफ्नो स्तरबाट पहल गरिने बताए । हुलाकी सडक संर्घष समितिका अध्यक्ष रामरिझन यादवले हुलाकी सडक मधेशको लाइफलाइन र हुलाकी सडकको संचालनको लागि कमला पुल आवश्यक रहेको भए पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको बताए । केही वर्ष अघि हुलाकी सडक र पुलको निर्माणको कार्यमा दबाब दिन जनकपुरधाममा अनशनसमेत बसेका यादवले भने,‘ विगतमा हुलाकी सडक र त्यसमा पर्ने पुल निर्माणका लागि धेरै संघर्ष गरे, दबाब सृजना गरेर निर्माणको कामले केही दिन गति पनि पायो, तर अहिले पुल पूर्ण निर्माण नहँुदै भत्किएपछि अलपत्र परेको छ ।’ हुलाकी सडक र पुल निर्माणमा सरोकारवाला निकायले कुनै चासो नदेखाएपछि आफूहरु पुनः दबाब दिने उद्देश्यले अगाडि आएको बताए । कार्यक्रममा सहभागी हुलाकी सडक आयोजनाका इन्जिनियर कौशल कुमार यादवले सिरहा र धनुषामा हुलाकी सडकको योजनाको काम अन्तिम चरणमा पुगेको दाबी गरे । उनले भने,‘ सिरहामा हुलाकी सडकको काम अब डेढ किलोमिटर जति मात्रै बाँकी छ, त्यसकै हराहारीमा धनुषामा पनि बाँकी छ ।’ स्थानीय तह, स्थानीयवासी र विभिन्न सरोकारवाला निकायको समयमा सहयोग नहँुदा ती काममा ढिलाइ हुन गएको बताए । उनले भने,‘ जहाँ विवाद छ, त्यहीँ मात्रै काम गर्न बाँकी छ, नत्र अन्य ठाउँको काम पूरा भइसकेको छ । ‘कतै–कतै हुलाकी सडकमै घर बनाइएको छ, सडकमै गाइवस्तु बाँध्ने गरिन्छ, त्यसलाई हटाउन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ गरिदैन, सम्बन्धित स्थानीय तहलाई पहल गर्न भन्दा उनीहरु पनि कुनै चासो देखाउदैनन्, कसरी काम अगाडि बढाउने ? उनले प्रश्न गरे । कमला नदीको पुल भासिएपछि त्यसको छानबिनका लागि सडक विभागले बनाएको छानबिन समितिको प्रतिवेदन अहिलेसम्म नआएको उनले जानकारी दिए । प्रतिवेदन आएपछि मात्रै विभागले पुनः निर्माणको कार्य अगाडि बढाउने विषयमा छलफल गरिने बताए । पुलको डिपिआरदेखि डिजाइन, ठेक्का लगाउने काम विभागले नै गरिरहेको बताउदै उनले भने,‘ हामीले यहाँ विभागले दिएको डिजाइन अनुसार काम भइरहेको छ, कि छैन् त्यसको अनुगमन गर्ने जिम्मेवारी मात्रै हाम्रो हुन्छ, त्यसकारण अहिलेसम्म कमला पुलको विषयमा आफूहरुलाई विभागबाट कुनै निर्देशन अहिले सम्म आएको छैन ।’

https://www.youtube.com/watch?v=jLJTMr9VCf4&t=6s

Comment


Related News

Latest News

Trending News