अपडेट 
२०७९ पुष २४, आईतवार ०९:२३

श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ। यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ। राजकोटमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले १६.४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनायो।

श्रीलंकाका लागि कप्तान दशन शनाकाले २३ रन बनाउँदा कुशल मेन्डिसले पनि २३ नै रन बनाए । धनन्जय डा सिल्भा २२ रनमा आउट हुँदा चरिथ असलंकाले १९ रन बनाए । पथुम निशंकाले १५ रन बनाउँदा कशुन रन्जिथा ९ रनमा अविजित रहे । भारतका लागि अर्शदिप सिंह ३ तथा उमरान मल्लिक,हार्दिक पाण्ड्या र युजभेन्द्र चहलले समान २/२ विकेट लिए । अक्षर पटेलले १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो । पहिलो ओभरमा नै ३ रन बनाउँदा इशान किशनलाई गुमाएको भारतले राम्रो कमब्याक गरेर २ सय २९ रनको विशाल लक्ष्य बनायो। सुर्यकुमार यादवले ५१ बलमा ७ चौका र ९ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । यो उनको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय शतक हो । उनले ४५ बलमा शतक पूरा गरेका थिए ।

शुभमन गिलले ३६ बलमा ४६ रन बनाउँदा राहुल त्रिपाटीले १६ बलमा ३५ रन बनाए । अक्षर पटेलले ९ बलमा अविजित २० रन बनाए। श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कुशन रन्जिथा,वानिन्दु हसरंगा र चमिका करुणारत्नेले समान १/१ विकेट लिए। भारत र श्रीलंकाबीच अब तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

Comment


Related News

Latest News

Trending News