अपडेट 
२०७९ पुष २८, बिहीबार ०७:४८

जनकपुर प्राचीनकालदेखि वर्तमानसम्म हिन्दूहरूका लागि मात्र होइन, बोद्ध, जैन लगायत कतिपय अन्य धार्मिक समूहका लागि पनि आस्थाको केन्द्र रहिआएको छ । त्यसैले प्राचीनदेखि अर्वाचीनसम्म यसको कस्तो अवस्था रहेछ, त्यसको संक्षिप्त विश्लेषण यस लेखले गर्न खोजेको छ । बाल्मीकीय रामायण अनुसार जनकपुरको प्राचीन नाम बैजन्त थियो । बैजन्त शब्दको चर्चा देवीभागवतपुराणमा पनि भेटिन्छ । निमिपछि मिथि राजा भए । वहाँले बैजन्त नामलाई परिवर्तन गरी मिथिलापुरी राखेका थिए । मिथिलापुरी आफ्नो नामले नै मिथिलाको राजधानी नगरलाई जनाउँदछ । यो नाम धेरै वर्षसम्म कायम रह्यो । हिन्दूहरूका महान ग्रन्थहरू रामायण, महाभारत तथा पुराणमा समेत यसै नामबाट प्रचलित थियो । प्राचीन कालमा जनकपुरको आकार निकै ठूलो थियो । सीमातिर हेर्दा पूर्वमा कमलादेखि पश्चिममा जलेश्वरसम्म तथा दक्षिणमा गिरिजास्थानदेखि उत्तरमा धनुषाधामसम्म यस क्षेत्रको सीमा थियो । प्राचीन जनकपुरको क्षेत्रफल ३१.२ वर्गमील थियो जो वर्तमान समयमा एउटा सानो क्षेत्रमा खुम्चिएको देखिन्छ । धार्मिक दृष्टिकोणले यो नगरी यस्तो पवित्र थियो जसलाई चारै तिरबाट शिवजीले रक्षकको रूपमा रक्षा गरेका थिए । जो यसरी वर्णित छः पूर्वमा शिलानाथ तथा कपिलेश्वरनाथ, दक्षिणमा कल्याणेश्वरनाथ तथा कुपेश्वरनाथ, पश्चिममा जलेश्वरनाथ तथा भैरवनाथ र उत्तरमा जलाधिनाथ तथा क्षीरेश्वरनाथ थिए जो आजपनि विद्यमान छन् । मिथिलाको राजधानीको नाम जनकपुर कहिले प¥यो यस बारे विद्वानहरूका भनाइतिर जाँदा, जनकवंशी राजाहरू मध्ये सीरध्वज एउटा महान राजा हुनुभयो । मिथिलाकी राजकुमारी जानकी तथा आयोध्याका राजकुमार रामको विवाहले गर्दा सीरध्वज अझै विख्यात हुनुभयो । मानिसहरू वहाँको वंशीय विशेषणलाई संज्ञाको रूपमा समेत प्रयोग गर्न थालेपछि उहाँ सीरध्वजबाट ‘जनक’ भएका थिए । यसैबेलादेखि मिथिलापुरीलाई मानिसहरू जनकपुर भन्न थाले । मैथिली साहित्यका महाकवि विद्यापतिले आफ्ना पुस्तक ‘भूपरिक्रमामा’ जनकपुरलाई अझै उजागर गर्ने काम गरेका थिए । जो सन् १३६० देखि १४५० को अबधि थियो । त्यस बेलादेखि जनकपुर कहिले पनि अँध्यारोमा गएन । प्राचीन जनकपुर निकै सम्पन्न तथा बैभवशाली नगर थियो । त्रेतायुगमा जनकपुरको गुनगान निकै उचाइमा पुगेको थियो । यसको तुलना इन्द्रको जयन्तपुर ीसँग भएको थियो । यसको गरिमा जनक (सीरध्वज) को समयमा अझ थपभएको थियो । रामको विवाहमा ब्रह्माजी जनकपुर आएका बेला आफूले बनाएका बस्तुहरू कहीं कतै रहेका देखिएनन् अर्थात ब्रह्माले जनकपुरलाई जुनरूपले निर्माण गरेका थिए त्यसभन्दा पनि ज्यादै सुन्दर लागिरहेको थियो । देवतागण पनि जनकपुरलाई हेरेर छक्क परेका थिए । उनीहरू वैदिककालीन आर्यावर्तको सभ्यतासँग जनकपुरको सभ्यतालाई तुलना गरेका थिए । यो ठाउँ जपतप ज्ञानको भूमि बनेको थियो । उत्तर वैदिक कालमा विद्या र कलाको धरोहर बन्न पुग्यो । यजुर्बेदमा पनि जनकपुरको उल्लेख छ । याज्ञवल्क्य जस्ता प्रख्यात दार्शनिक जनकका गुरू थिए । यस्तै अष्टाबक्र, गार्गी, मैत्रेयी, आरूणि जस्ता धुरन्धर ज्ञानीहरू पनि यसै दरबारमा बस्थे । यी महाज्ञानीहरूले जनकसभालाई सुशोभित बनाएका थिए जहाँ दिग्गज विद्वानहरूका बिमर्शबाट ज्ञानको धारा बगिरहेको थियो । देश– विदेशबाट ज्ञानपिपासुहरू जनकसभामा आउँथे र शास्त्रार्थबाट संतुष्ट भएर फर्कन्थे । व्यासपुत्र शुकदेव पनि आफ्ना शङ्का निर्वारण हेतु जनकपुर आएका थिए र जनकको उत्तरबाट तृप्त भएर हँसीखुशी घर फर्केका थिए । जनकपुरको पाण्डित्य विदेहमा मात्र सीमित थिएन, पाञ्चाल, कुरू तथा कोशलसम्म पुगेको थियो । यसै मिथिलाको कमलाकाननमा ऋषिहरू न्यायसूत्रहरूका रचना गरेका थिए । यसै कालमा सिरध्वज राजर्षिजनकको नामले प्रसिद्धि पाएका थिए । सीतालाई प्रभुको प्रसाद सम्झेर पुत्रीवत रूपमा पालेका थिए । विश्वामित्र जस्ता महान ऋषि पनि मिथिलाकै पूर्वी क्षेत्रमा आफ्ना सिद्धाश्रम स्थापना गरेका थिए ।

विश्वाभित्र एउटा युगद्रष्टा ऋषि थिए । उहाँले नै सीतारामलाई पुलको रूपमा प्रयोग गरेर विदेह र कौशललाई मिलाएका थिए । सीता शक्तिस्वरूपा तथा सहनशीलसुशीला नारी थिइन । वहाँ जति पनि कठोर जीवनमा बस्दा कहिले पनि व्याकुल भइनन् । यस्तै साहसी जीवन उहाँले लङ्का र वशिष्ट कुटीमा बिताएकी थिइन् । लाख प्रलोभन र धम्कीको बाबजूद पनि उहाँले नारीजातकी मानसम्मानलाई निरन्तरता दिइ अडिग भएर सामना गरेकी थिइन् । उहाँ एउटा आदर्श छोरी, बुहारी, पत्नी तथा आमा बनेर विश्वलाई एउटा आदर्शताको पाठ सिकाएकी थिइन् । वहाँले घमण्डी रावणको बधका कारक भएर पृथ्वीलाई भयमुक्त गराएकी थिइन् । वहाँ एउटी अटिली नारी भएकीले आफूलाई समेत संकटमा हालेर पनि पतिको अभिष्टलाई पूरा गरेकी थिइन् । लाख त्याग गरे पनि जब नारीको अस्तित्वलाई स्वीकार गर्न नसकेकी देख्दा, स्वयंनै धर्तीलाई सुम्पेकी थिइन् । यसैकालमा जनकपुर श्रीरामचन्द्रको ससुरालीको रूपमा पूजित स्थल बन्यो । यहीबाट एउटा नयाँ संस्कृतिको जन्म भयो जो सीताराम संस्कृतिको रूपमा विश्व प्रसिद्ध भयो । आज पनि भक्तजन जनकपुरधाम आउँदा मिथिला र अवधको सम्बन्धलाई यसरी प्रदर्शित गरेका हुन्छन् ः “कमला बिमला मिथिलाधाम, अवध सरयू सीताराम ।” ब्रह्मर्षि वशिष्ट पनि यहाँ आएर याज्ञवल्क्यसँग संवाद गरी जगतगुरूको विद्वताबाट भरपूर संतुष्टि पाएका थिए । द्वापरमा कृष्ण पनि यहाँ आएर जनकपुरको मुरलीसर (पोखरी) मा आफ्नो कर्मयोगको प्रकाश जगाएका थिए । यस्ता आगमनले के देखाउँछ भने जनकपुर यसकालमा पनि राजनीतिक गतिविधिको केन्द्र थियो । अर्कोतिर विदेहसँग कुरूदरबारको पनि बेग्लै रिस्ता थियो । दुर्योधन पुत्र लक्ष्मणका लागि यहाँ त कुस्ती तथा अन्य खेल खेल्ने अखाडा नै बनाइएको थियो । हलधर बलराम पनि यहाँ अतिथिको रूपमा आएका थिए । वहाँ दुर्योधनका गद्दागुरू नै थिए । यस्तै गौतमबुद्ध पनि मिथिला नरेश सुमित्रको पालामा जनकपुर आएका थिए । वहाँ एउटा मध्यमार्गी तथा जातिभेद विरोधी थिए । चिनिया यात्री हुवेनसाङ पनि भारत भ्रमणको क्रममा जनकपुर आएका थिए । यस धर्तीका औतारी पुरूष परशुराम पनि यहाँ आएका थिए । यसरी मिथिला राजनीतिक भूगोलमा एउटा बेग्लै सार्वभौम देश थियो जो आर्यावर्त क्षेत्रमा नै प्रसिद्धि पाएको थियो । विद्वानहरूका मतानुसार मिथि वंशका चौवन्न राजा भए । तीमध्ये सिरध्वज बाइसौं थिए । वहाँ राजर्षिजनकको नामले विख्यात भए । लगभग मिथिवंश ईसापूर्व साहे्र दुई हजार वर्ष शासन गरेका थिए । मिथिलाको अन्तिम राजा कराल थिए । वहाँको कामान्ध करतूतले एउटी कुमारीकन्याको सतित्व भंग गरिदिएकाले जनकपुरको जनता वहाँको विरूद्ध आन्दोलनमा उभिए । यसै आन्दोलनले कराललाई राजमहलबाट तानेर हत्या गरिदिए । मिथिला राजाविहीन भएपछि मगध, पाल, कन्नौज, तुर्कादिले पालै पालो गरी राजगरेका थिए । यसरी बैजन्तपुरी÷मिथिलापुरी÷जनकपुरका नाम इतिहासको पानामा मात्र सीमित भयो । भुगोलबाट विलीन भए पनि यसका कला, संस्कृति, भाषा, साहित्य, रीतिरिवाज, मूल्यमान्यता, विश्वास तथा परम्परा अहिले पनि जिवितै छन्, जो हामीलाई गौरवान्विन बनाएका छन् । आजभन्दा लगभगका साढेतीन सय वर्ष अघि अर्थात १७ औं शताब्दीतिर राजस्थानको लोहागढ निवासी संत सूरकिशोर दासले वर्तमान जनकपुरलाई खोज निकालेका थिए । जंगलै जंगलले भरिएको यस स्थानमा माता जानकीलाई प्रतिष्ठापित गरी पूजा– आर्चा शुरू गरेका थिए । केही दिनपछि यस जंगलमा त मंगल हुन लाग्यो । भक्तजनहरू दूरदराजदेखि ओइरिन लागे । केही अन्तरालपछि वहाँका दुई शिष्य मध्ये प्रयाग दासलाई जानकीको सेवामा तथा चतुर्भुज गिरीलाई रामको सेवामा लगाइए । सूरकिशोर दासको निष्ठाबाट प्रभावित भएर वि.सं. १७८४ (सन १७२८) मा मकवानपुर नरेश मानिक सेनले १,७०० विद्या जमीन बृति (दान) स्वरूप प्रदान गरेका थिए । यस्ता दानबाट जनकपुर अझै बलियो हुँदै आयो । यसरी जनकपुरको ख्याति सुनेर ऋषि, मुनि तथा संतगण जनकपुरदेखि आकर्षित भएर जनकपुरसम्म आवत जावत गर्न थाले । सम्पन्न व्यक्तिहरू आ–आफ्ना गच्छे अनुसार दान दिन थाले । यसरी हामी भन्न सक्छौं कि जुन प्रकारले ईश्वर पृथ्वी, डचहरूले हालैण्ड बनाएका थिए, ठीक उस्तै संतहरूले जनकपुरलाई बनाएको कुरो धार्मिक ग्रन्थहरूमा भेटिन्छन् ।

वर्तमान जनकपुरलाई भौगोलिक रूपले हेर्दा धनुषा जिल्ला अन्तर्गत धनुषाको पश्चिमी क्षेत्रमा अवस्थित छ । जनकपुरलाई नगरपालिकाको रूपमा २०१९ साल (१९३२ ई) मा स्वीकृति प्रदान गरेको थियो । संत सूरकिशोर दास ‘मिथिला विलास’ हिन्दी भाषामा लेखेर संत साहित्यको शुरूआत गरेका थिए । यसपछि यसमा योगदान दिने संत व्यक्तित्वहरूमा प्रयाग दास, वैदेही शरण आदि संतहरू थिए । यिनीहरू मंदिर, तथा कुटीहरूका निर्माणमा सहयोग गर्न थाले । केही अन्तरालपछि तराई तथा विहारको उत्तरी क्षेत्रमा बसोवास गर्ने प्रत्येक जाति विशेषले आ–आफ्ना मंदिर तथा कुटी जनकपुरमा बनाउन लगाएका थिए जो आजपनि हामी त्यसको उपयोग गरिरहेका छौं । यस्तै जनकपुरको निर्माण तथा विकासमा सहयोग गर्ने अवधकिशोर दास ‘प्रेम निधि’ जो जन्मले गुजराति थिए । वहाँ जनकपुरको महिमा सुनेर यहीं स्थापित हुन पुगेका थिए । यहाँले धेरै धार्मिक पुस्त्तकहरू लेखेका छन् जो आज पनि यस आश्रमका पुस्तकालयमा संरक्षित छन् । यस्तै जनकपुरलाई अगाडि बढाउन चतुर्भुज गिरी (राममंदिर) र रसिक अलि (रसिक आश्रम) को देन कम छैन । ती दलित वा मुस्लिम गारीगरहरू पनि बधाइका पात्र छन् जसले नौलखा जस्ता मंदिर (जानकी मंदिर) निर्माणमा आफ्नो १५ वर्ष समय लगाएर निर्माण गरेका थिए । यसका तत्कालिन लागत “नौ लाख” रूपैया परेको हुनाले नै यसले ‘नौलखा मंदिर’ को नामले समेत प्रसिद्धि पाएको छ । यस मन्दिरलाई टिकमगढ (मध्य प्रदेश) की महारानी बृषभानु कुंवरीले निर्माण गराएकी थिइन् । जो वि.सं. १८९४ मा पूर्णरूपले सम्पन्न भएको थियो । यो नौलखा (जानकी) मन्दिर एउटा मन्दिर मात्र होइन् यो संस्कृतिहरूको संगम पनि हो जहाँ मैथिली, मुगल तथा बैष्णवी राजपुतानी कला एकै ठाउँमा भेटिन्छन् । उपकारको सट्टामा कृतज्ञता प्रकट गर्नु यदि मानव धर्म छ भने जानकी मंदिरको मूल गेटको सामुने महारानी कुंवरीको प्रतिमा स्थापित गर्नु हाम्रो दायित्व हुन आउँछ । अहिले पनि जनकपुरमा पौराणिक सम्पदाहरूमध्ये विभिन्न मन्दिर, कुटी, सरोवर आदि रहेका छन् । त्यसैले संत, कुटी तथा कुण्ड (जलाशय) हरूका संख्यालाई हेरेर एउटा कहावत यस्तो छ ः– “बावन्न कुटी बहत्तर कुंडा, फिरहीं संतजन झुंडहि झुंडा ।” पर्यटकीय दृष्टिकोणले जनकपुरका यी धार्मिक सम्पदाहरूको भूमिका निकै महत्वपूर्ण देखिन्छ । यस्ता सम्पदाहरू विश्वका पर्यटकहरूलाई आफूतिर तानि रहेका छन् । पर्यटकहरूलाई आवत जावत गर्न बस, रेल तथा बायुसेवाको सुविधा रहेका छन् । शिक्षा क्षेत्रमा पनि जनकपुर निकै ठूलो फड् को मारेको देखिन्छ । राणाकालमा एउटा मात्र याज्ञवल्क्य संस्कृत विद्यालय थियो । प्रजातन्त्रको उदयपश्चात दर्जनौं शैक्षिक संस्थाहरू संचालनमा आएका छन् । उच्च शिक्षातिर रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनक हजारी विद्यापीठ लगायत प्राइवेट सेक्टरमा कैयौं संस्थाहरू काम गरिरहेका छन् । अहिले जनकपुरमा राजर्षिजनक विश्वविद्यालय समेत स्थापना भइ आफ्नो काम शुरू गरिसकेको छ । निम्न शिक्षातिर पनि प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक विद्यालयहरू स्थानीय जनताको माँग अनुसार ठाउँ ठाउँमा व्यवस्थित रूपले संचालनमा रहेका छन् । शैक्षिक संस्थाहरू बृद्धि भए पनि गुणस्तरीय शिक्षामा देखिएको ह्रासलाई ठूलो चिन्ताको विषयको रूपमा लिनै पर्छ । यस्तै स्वास्थ्यको क्षेत्रमा पनि जनकपुरधामले निकै प्रगति गरेको छ । कला संस्कृतितिर पनि प्राचीन कला संस्कृतिलाई वर्तमानसम्म निरन्तरतामा दिएको देखिन्छ । त्रेतायुगमा भएको रामजानकी विवाहलाई अहिले पनि मङ्सिर शुक्लपञ्चमीका दिन पारेर विवाह वर्षगाँठको रूपमा प्रत्येक साल धूमधामका साथ मनाउने गरिन्छ । अहिले जनकपुरधाम एउटा उपमहानरपालिकाको रूपमा आफ्ना काम गरिरहेको छ । यहाँका सम्बन्धित निकायहरू यसलाई महानगरपालिकाको रूपमा उकास्न प्रयासरत छन् । जनकपुरधाम मधेस प्रदेशको राजधानीको रूपमा बिकसित भएको छ । यसलाई नेपालको धार्मिक राजधानीको रूपमा समेत विकसित गर्न यहाँका जनताको भूमिका उलेख्य हुने देखिन्छ ।

Comment


Related News

Latest News

Trending News