२०७९ पुष २९, शुक्रबार ०७:०९

रौतहटको बौद्धिमाई नगरपालिकाको नगरसभा नहुँदा विकास निर्माणसहितका कामकाज प्रभावित भएको छ । चालु आर्थिक वर्ष ०७९÷८० को छ महिना बितिसक्दा पनि नगरपालिकाले बजेट ल्याउन नसक्दा विकास निमार्णका कार्य प्रभावित भएको छ भने विद्यालयमा सञ्चालन हुने दिवा खाजा तथा कर्मचारीहरु तलब भत्ता पाउनबाट समेत वञ्चित भएका छन् ।

बजेट प्रस्तुत नहुँदा पालिकाको दैनिक कार्य, आर्थिक तथा विकास निर्माणलगायतका कार्य ठप्प बनेको छ । ‘शिक्षक र पालिकाका कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् । विद्यालयका बालबालिका दिवा खाजाबाट वञ्चित छ,पालिकाको विकास निर्माणको काम ठप्प छ ,तलब नपाएर शिक्षक एवं कर्मचारी आर्थिक संकटमा छन् ।’, जिल्ला शिक्षक संघका अध्यक्ष रामकृपाल यादवको गुनासो छ । लामो समयदेखि तलब खान नपाएपछि शिक्षक विद्यालय जान समेत आलटाल गर्न थालेका छन् भने खाजा नपाएर बालबालिका विद्यालय जान नै छाडेको अवस्था रहेको समेत अध्यक्ष यादवले प्रष्ट पारे । कार्यपालिका सदस्यले पालिकाको ६० प्रतिशत भन्दा बढी बजेट माग गरेपछि बजेट पास हुन नसकेको नगरप्रमुख प्रदीप यादवको कथन छ । उनका अनुसार नगरसभा सम्पन्न गर्न आठ पटकसम्म कार्यपालिकाको बैठक बोलाइसकिएको छ तर बैठकमा सदस्यहरु बीच समन्वय हुन सकेको छैन ।

१८ वटा पालिका रहेको रौतहटमा बौधिमाई नगरपालिकाले मात्रै बजेट ल्याउन सकेको छैन । नगरपालिकाको विभिन्न समिति तथा उपसमिति गठन प्रक्रियामा कार्यपालिका सदस्यबीच विवाद हुँदा नगरसभाको बजेट रोकिएको नगरसभा अन्यौलमा परेको छ । बैठकमा आर्थिक समिति, पूर्वाधार विकास समितिलगायत पाँचवटा मूल समिति र सातवटा उपसमिति गठन प्रक्रियामा कार्यपालिका सदस्यबीच सहमति नहुँदा नगरसभा प्रभावित बनेको निमित्त प्रशासकीय अधिकृत रामेश्वर राय यादवले जानकारी दिए । संघ र प्रदेशको निर्वाचन पश्चात पाँच पटक बसेको बैठकमा पालिकाका सबै सदस्य सकारात्मक देखिएकोले केही दिनभित्र नगरसभा हुने सम्भावना रहेको नगरप्रमुख प्रदीपकुमार यादवले बताए । बजेट पारित हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रमुख यादवले वार्षिक बजेट नआउँदा पालिकामा विकास निर्माणका साथै तलब, भत्ता, दिवा खाजा प्रभावित बनेर समस्या उत्पन्न भएको स्विकार गरे ।

Comment


Related News

Latest News

Trending News