अपडेट 
२०७९ माघ १२, बिहीबार ०८:१०

श्रीपञ्चमी पर्व बिहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रद्धापूर्वक मनाइँदै छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदा भन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालिएको मान्यता छ । संगीत, कला, साहित्य र विद्याको खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा लेख–पढ गर्न आउँछ भन्ने धार्मिक विश्वास रहेको छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ समेत गराउने परम्परा रहेको छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीरेश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौँथो हात अभय मुद्रामा रहेको राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । विशेषगरी शैक्षिक संस्थाहरुमा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउने गरेका छन् ।

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस लगायतका विभिन्न क्याम्पस एवम् विद्यालयहरुमा विद्यार्थीको भीड लाग्ने गरेको छ । बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ । आजबाट क्रमशः आजबाट वसन्त ऋतुको सुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठीहीबाट क्रमशः अब कोइलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत गर्ने प्रचलन समेत रहीआएको छ ।

यता मिथिलाञ्चलमा आजको दिन हलो र हरुवाको पूजा अर्चना गर्ने प्रचलन रहीआए पनि आजभोली सो परम्परा हराउँदै गएको छ । यसमा खासगरी आजको हलोको पूजा गरेर खेतमा अनिवार्य रुपमा गोरुलाई जोत्ने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुले सांस्कृतिक,साहित्यिक कार्यक्रमको समेत आयोजना गर्ने गरिएको छ ।

Comment


Related News

Latest News

Trending News