अपडेट 
२०७९ माघ १७, मंगलवार ०७:५८

३० जनवरी १९४८ दिन हिन्दु दक्षिणपन्थी नाथूराम गोडसेले पिस्टलले गोली प्रहार गरेर उनको हत्या गरि दिएका थिए । गोडसे सांगठनिकरुपमा हिन्दु दक्षिणपन्थी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का कार्यकर्ता थिए, तर उनले हिन्दु महासभा नामक अर्को कट्टर हिन्दुवादी संगठनको योजनामा गान्धीको हत्या गरेका थिए । आरएसएसले गोडसे आफ्नो कार्यकर्ता रहेको तथ्यलाई अस्वीकार गर्दै आएको छ । तर यसै आरोपमा आजीवन कारावास भोगेर रिहा भएका नाथुरामका भाई गोपाल गोडसेले २८ फेब्रुअरी १९९४को फ्रन्टलाइन नामक पत्रिकालाई अन्तर्वार्ता क्रममा भने अनुसार उनिहरु आरएसएसको कार्यकर्ता भएको भने । यसरी नै गान्धीका निजी सचिव प्यारेलालले आफ्नो पुस्तक ‘गान्धी द लास्ट फ्रेज’मा लेखेका छन् : “आरएसएसका सदस्यहरुलाई केही ठाउँमा पहिलेदेखी नै शुक्रवारको दिन राम्रो समाचार सुन्नका निम्ती रेडियो खोलर राख्न निर्देश थियो ।

यस्तै कयौँ ठाउँमा आरएसएसका सदस्यहरुले मिठाईपनि बाँडे ।” यसरी नै गान्धीको हत्या सम्बन्धी छानबीनको कपूर रिपोर्टमा अनुसार समाजवादी नेता जयप्रकाश नारायण, राममनोहर लोहिया र कमलादेवी चट्टोपाध्यायको एउटा पत्रकार सम्मेलनबारे उल्लेख गरिएको छ । उनिहरुले गान्धीको हत्याको निम्ती कुनै एउटा व्यक्ति होइन, यसको पछाडी एउटा ठूलो षडयन्त्र र संगठन रहेको भन्दै आरएसएस, हिन्दु महासभा र मुस्लिम लीगको नाम लिएका थिए । गान्धीको हत्यापछि भारत सरकारले आरएसएसमाथी प्रतिबन्ध लगाएको थियो । आरएसएसमाथी यो प्रतिबन्ध फरबरी १९४८देखी जुलाई १९४९सम्म थियो । गान्धीले आफ्ना राजनैतिक विचारहरुको विकास वैष्णवी प्रतीक, धर्मको मानवीय पक्ष र अहिंसालाई केन्द्रमा राखेर गरेका थिए । उनले सत्याग्रह र अहिंसालाई राजनैतिक प्रतिरोधको हतियार बनाएका थिए भने उनको आदर्शवादी राजनीतिक मोडेल ‘रामराज्य’ थियो । वैष्णव धर्मको विकास वैदिक कर्मकाण्ड, याज्ञिक पशु हिंसा र जातीय भेदभावको विरुद्ध भएको हो । प्रारम्भमा वैष्णव धर्मको आदर्शवादी नारा ‘जातपात पुछे ना कोई, हरिको भजे सो हरिका होई‘ थियो ।वैष्णव धर्मको यस उदार र सहिष्णु चेतनाले गान्धीलाई आकर्षित गरेको थियो । उनले रामराज्यलाई आफ्नो आदर्श राजनीतिक मोडेल बनाउनुको पछाडीको कारण यही साम्प्रदायिक उदारता र सहिष्णुता थियो ।

गान्धीको सबैभन्दा प्रिय भजन ‘वैष्णवजन तो तेने कहिए, पीर पराई जाने रे’ थियो । तर गान्धीको वैष्णव प्रेमलाई पुरातन र संकीर्ण चेतनासंग तुलना गर्नु भूल हुनेछ । गान्धीको रामराज्यमा बुद्ध र जैनको अहिंसापनि थियो भने वैष्णव धर्मको प्रारम्भिक साम्प्रदायिक उदार सहिष्णुतापनि थियो । गान्धी अन्ततः हिन्दु नै थिए, तर आधुनिक, मानवीय र उदार, जो वैष्णवी रामलाई आधुनिक समाजमा सबैको मान्य बनाउन चाहन्थे । यसैकारण त रामराज्यको आदर्श प्रस्तुत गर्ने गान्धीको अर्को प्रिय भजन थियो ः ‘अल्लाह ईश्वर तेरो नाम, सबको सन्मति दे भगवान ।’ वस्तुतः गान्धी भारतमा विकसित इतिहासका सबै धर्महरुको उदार मानवीय तत्वहरुलाई मिसाएर सबैको निम्ती मान्य आदर्श बनाउने प्रयास गरिरहेका थिए । वैदिक सामूहिकता, वैष्णवी सहिष्णुता, बुद्ध र जैनको अहिंसा, युनानी र इस्लामसंगै आएका प्रेम र सुफीहरुको दार्शनिक वैश्विक हार्दिकता, गान्धी सबैलाई आफ्नो राजनीतिक आदर्शमा सामेल गर्न चाहेका थिए । समग्रमा गान्धी सबै अँटाउने उदार र सम्प्रदाय निरपेक्ष सहिष्णु वैष्णवी राज्य निर्माण गर्न चाहन्थे । राजनीतिक सैद्धान्तिकताको दृष्टिले गान्धीको विचारधारामा कयौँ त्रुटिहरु छन् । आफ्नो उदार धार्मिक आदर्शवादितामा उनले के बुझ्न सकेनन् भने सार्विक उत्पीडनबाट मुक्ति, शान्ति, स्वतन्त्रता र समानताका निम्ती क्रान्तिको आधुनिक राजनैतिक चेतना र (जतिसुकै उदार भएपनि) धार्मिक आदर्शहरु एक आपसमा अन्तर्विरोधी हुन्छन् ।

गान्धीको लेखनहरु हेर्दा उनि हिन्दु वर्णाश्रम व्यवस्था यथावत् राखेर जातिय भेदभाव मेट्ने लक्ष्य राखेजस्तो देखिन्छ । यसले उनको अहिंसात्मक र सत्याग्रही व्यक्तित्वबाट जतिसुकै मोहित र प्रभावित भएपनि जातिय पंक्तिमा तल्लो श्रेणीमा परेका शूद्रहरु भित्रबाट प्रभावित थिएन । किनभने गान्धीले उनिहरुको निम्ती दिएको नाम ‘ हरिजन’ले उनिसंग हुने जातिय भेदभावको स्थितिमा कुनै परिवर्तन आईरहेको थिएन । त्यसरी नै गान्धी राजनीतिक आन्दोलनमा मजदूरहरुलाई टाढै राख्न चाहन्थे । यसको कारण थियो, उनको राजनीतिक आन्दोलनमा राष्ट्रियपूँजीपति र मध्यवर्गको बहुलता, जो मजदूरवर्गलाई सत्ता साझेदारीबाट अलग्ग राख्न चाहन्थे । यसैकारण गान्धीको राजनीतिक विचारको आलोचकमा सशस्त्र संघर्षका पक्षधरमात्र होइन, दलित राजनीतिका अगुआ डा. भीमराव अम्वेडकरपनि थिए, भने श्रमिकवर्गीय राजनीतिका कम्युनिस्ट नेताहरुपनि थिए ।स्वयं गान्धीको पार्टी भारतीय राष्ट्रिय काँग्रेस भित्रै जवाहरलाल नेहरु जस्ता बुर्जूआ समाजवादी नेताहरुले गान्धीको अहिंसक र उदार महात्माको छवि र नेतृत्वप्रति समर्पित भएपनि उनको राजनैतिक हिन्दु आदर्शवादितालाई मन पराउँदैनथ्ये । यद्यपि काँग्रेसभित्र सरदार बल्ल्भभाई पटेल र डा. राजेन्द्र प्रसाद जस्तोको एउटा अर्को गूटपनि थियो, जो हिन्दु परम्पराप्रति आस्था राख्थ्यो । यो गूट गान्धीभन्दा केही कम उदार थियो, तर हिन्दु फासिस्ट जस्तो कट्टर भने थिएन । यी तमाम अन्तर्विरोधी वस्तुस्थितिको बावजूद भारतमा अँग्रेजविरोधी संघर्षमा देशभरीका जनतालाई प्रभावित गर्ने र नेतृत्व गर्ने करिस्माई नेता गान्धी नै थिए भन्नेमा दुईमत छैन ।

डा. अम्वेडकर होउन वा कम्युनिस्टहरु, गान्धीका वैचारिक दृढता तथा आदर्शवादी व्यवहारका सबै कायल थिए । उनिहरुले जतिसुकै आलोचना र विरोध गरेपनि हिन्दु फासिस्ट संगठनबाहेकका सबैले राजनीतिकरुपमा उनको सम्मान गर्थे । एकल हिन्दु राष्ट्रलाई लक्ष्य बनाएको हिन्दु महासभा र आरएसएसहरुले वैचारिक र राजनैतिक दुबैरुपमा गान्धीसंग घृणा गर्थे । यसको कारण थियो गान्धीको उदार हिन्दु नीतिले व्यापक हिन्दु समाजलाई आकर्षित गरिरहेको थियो । गान्धीको उदार धारणाको रामराज्यमा हिन्दु, मुस्लिम, सिख, इसाई सबैँ अटाउँथ्यो । तर हिन्दु संकीर्ण राजनीति गर्नेहरु भारतमा विकसित सबै ऐतिहासिक धाराहरुमाथी एकल हिन्दु वर्चस्वलाई साँस्कृतिक राष्ट्रवादको रुपमा थोपर्न चाहन्थ्यो । आरएसएसमा मूख्य विचारक र पूज्य गुरुजीको रुपमा परिचित आरएसएसको दोस्रो सरसंघचालक माधव सदाशिव गोलवलकरले आफ्नो विवादित पुस्तक ‘वी आर आवर नेसनहुड डिफाइन्ड’मा लेखेका छन् ः “हिन्दुस्थानमा र वास्तवमा हिन्दुस्थानमा नै प्राचीन हिन्दू राष्ट्र र अन्य केही होइन बरु हिन्दू राष्ट्र बस्छ । उनिहरु सबै जो राष्ट्रिय अर्थात हिन्दू नस्ल, धर्म, संस्कृति र भाषासंग जोडिएका छैनन्, स्वाभाविकरुपमा वास्तविक ‘राष्ट्रिय’ जीवनभन्दा बाहिरका छन् ….उनिहरु नै राष्ट्रवादी देशभक्त छन्, जो हिन्दू नस्ल र राष्ट्रलाई महिमा प्रदान गर्ने आकांक्षा हृदयमा सजाएर राख्छन र त्यसै तहत सक्रिय हुन्छन् र यस उद्देश्यलाई पूरा गर्न लागिपरेका हुन्छन् । अन्य सबै कि त देशद्रोही छन्, कि राष्ट्रिय उद्देश्यका दुश्मन छन्, अथवा केही सभ्य भाषामा भन्ने हो भने मूर्ख छन् ।” यो इतिहासको वास्तविक विकासको विपरीत योजनाबद्ध संकीर्ण र एकल धारणा हो । यो कतिसम्म एकल छ भने भारतमा अँग्रेजी साम्राज्यवाद विरोधीसंघर्षमा विविध सम्प्रदायले काधमा काँध जोडेर संघर्ष गरेको सहादत दिएको साझा इतिहासलाईपनि उपेक्षा गर्न चाहन्छ ।: भारतको विभाजन मानवीय इतिहासकै सबैभन्दा भयानक त्रासदीको बीच भएको थियो । गान्धीको रामराज्यको माँग इस्लामिक साँस्कृतिक राष्ट्रवादीहरुको राजनीतिक संगठन मुस्लिम लीगलाईपनि मन परेको थिएन । यसलाई उनिहरु गान्धीको हिन्दु पक्षधरता र काँग्रेसभित्रको हिन्दुवादीहरुको तुष्टिकरण ठानिरहेका थिए । त्यसैकारण अँग्रेजी साम्राज्यबाट स्वतन्त्रभएपछि उनिहरुले अलग्गै इस्लामिक साँस्कृतिक राष्ट्रवादी स्वतन्त्र राष्ट्रको माँग गरे । यसले हिन्दु साँस्कृतिक राष्ट्रवादीहरुलाई आफ्नो एजेन्डा बढाउने उपयुक्त अवसर दियो । यसले भारतमा एक खाले धार्मिक विद्वेषलाई चरमोत्कर्षमा पु¥यायो ।

परिणामस्वरुप भारतको विभाजन र पाकिस्तानको निर्माणको बेला भएको हिन्दु–मुस्लिम हिंसात्मक दंगामा लाखौँ मानिस मारिए, करोडौँ विस्थापित भए । विभाजनभन्दा पूर्वको सहमतिमा भारत सरकारले पाकिस्तानलाई ७५ करोड रुपियाँ दिनु पर्ने थियो । यसमध्ये २० करोड दिइएको थियो । तर दुबै सरकारबीच हिंसात्मक स्थिति र कटु सम्बन्धको कारण बाँकी रकम अहिले दिए पाकिस्तानले यस्को उपयोग भारतको विरुद्ध गर्नसक्ने भनेर भारतीय पक्ष स्थिति साम्य भएपछि मात्र बाँकीको ५५ करोड रुपियाँ दिन चाहन्थ्यो । यस्को अर्को कारण जनताबीच पाकिस्तानप्रतिको आक्रोशको फाइदा उठाएर साम्प्रदायिकशक्तिहरुले अराजकता फैलाउन सक्नेपनि सम्भावनापनि थियो । तर पाकिस्तानीपक्ष बाँकी रकम पटक पटक माँग गरिरहेको थियो । तर गान्धीको निम्ती व्यवहारिकता र ठिक बेठिक भन्दापनि नैतिकता, वचनबद्धता र मानवीयता ठूलो थियो । उनि त हिन्दु र मुस्लिम, हिन्दुस्तान, पाकिस्तान सबैका थिए । पाकिस्तानले पाउने बाँकी रकम तत्काल दिनु पर्छ, भारतमा रहेका मुसलमान समुदायको घर र सम्पत्तिहरु सुरक्षित हुनुपर्छ र उनिहरुको रक्षा हुनुपर्छ भनेर उनी अनसनमा बसे । अर्कोतर्फ पाकिस्तानबाट विस्थापित भएर आएका हिन्दुहरुलाई मुस्लिमहरुको घर दिनुपर्छ भनेर आरएसएस लगायतका साम्प्रदायिक संगठनहरुले अलग्गै अभियान चलाएर अवसरको लाभ उठाउने दाउमा थिए ।

यस अनसनको कारण गान्धीप्रति हिन्दु समुदायमा आक्रोस बढी नै थियो र विस्थापित हिन्दुहरुका समूहले ‘मरे मरुन गान्धी’ भन्नेसम्मको आक्रोश व्यक्त गरे । तर गान्धी आफ्नो माँगमा अडिग रहे । अन्ततः इच्छा नभएपनि बाध्यभएर नेहरु नेतृत्वको सरकारले पाकिस्तानलाई ५५ करोडको बाँकी रकम भुक्तानी दियो । हिन्दु महासभा र आरएसएस लगायतले यसलाई गान्धीको मुस्लिम तुष्टिकरणको नीति भन्यो । यसैलाई निहुँ बनाएर हिन्दु महासभाले गान्धीको हत्या गर्ने निर्णय ग¥यो । नाथुराम गोडसे यसै निर्णयका चयनित पात्र थिए । यथार्थ के थियो भने गान्धी भारतीय इतिहासको परम्परामा विकसित सन्त र सुफीहरुको ‘सबै आफ्नै’ भन्ने आदर्शको अनुशरण गरिरहेका थिए । उनि सबैका हुन चाहन्थे । साँच्चै गान्धी भावनात्मक आदर्शवादी नेता थिए । जेपी, लोहिया र चट्टोपाध्यायले ठिकै भनेका थिए — ‘गान्धीको हत्याको निम्ती कुनै एउटा व्यक्ति जिम्मेवार छैन ।’ एउटा सम्पूर्ण चिन्तन पद्धति नै हो, जस्ले आफू बाहेक अरु सबैलाई निषेध गर्न चाहन्छ । यो देव समर्पित साँस्कृतिक राष्ट्रवादी विचार नै हो, जस्ले नाथूरामलाई गान्धीको हत्या गर्न सहजरुपमा प्रेरित ग¥यो । गोडसेलाई यस्को निम्ती कुनै पछुतो थिएन । त्यसैले त अदालतमा उनले सहजै स्वीकारे र गान्धीको हत्यालाई ‘वध’को संज्ञा दिएका थिए । कति भयानक, अमानवीयर निरस ! गान्धीको अन्तपनि विचित्रको अन्तर्विरोधी त्रासदी हो । उनको राजनीतिक मोडेल रामराज्य थियो । उनको हत्या गर्ने निर्णयमा पुगेकाहरु पनि आफूलाई रामकै भक्त भन्थे । गोली लागेर ढल्ने बेलामा गान्धीको अन्तिम शब्द थियो — हे राम ! गान्धीको हत्या भएको साढेसात दशकमा समयचक्रले कयौँ फन्को मारिसकेको छ । हाल भारतमा सत्ताको कमान गान्धीको हत्यामा आरोपित हिन्दु फासिस्ट संगठन आरएसएसको राजनैतिक मोर्चा भारतीय जनता पार्टी (भाजपा)को हातमा छ ।

आरएसएस र भाजपाले विगत जस्तै गान्धीको हत्याको आरोपबाट अहिलेपनि इन्कार गरिरहेको छ । भाजपा नेतृत्वको सरकारले पनि गान्धीको जन्म र मृत्युको जयन्ती मनाउने गर्छ । भाजपायी प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेपनि भारतको राष्ट्रपिता गान्धीलाई नै भनिरहेका छन् । तर योजनाबद्ध किसिमबाट गान्धीका राजनैतिक विचार तथा उनका प्रतीकहरुको अर्थ परिवर्तन हुँदै गैरहेको छ । सबै सम्प्रदाय अटाउँने गान्धीको रामराज्य अहिले एकल धार्मिक साँस्कृतिकताको अर्थ दिन्छ । गान्धीको राजनीतिक स्वच्छताको चस्मा अहिले पर्यावरणीय स्वच्छताको अभियानी प्रतीकमा परिणत भएको छ । गान्धीको भजनको जय सीतारामको हार्दिक अभिवादन जय श्रीरामको कठोर धार्मिक साँस्कृतिक राजनीतिकनारामा परिणत भैसकेको छ । यस अलौकिक धार्मिक साँस्कृतिक गर्वले मानिस र मानवीय सरोकारलाई अकिञ्चन र तुच्छताको भ्रममा परिणत गरिरहेको छ । दृश्य कस्तो छ भने प्रत्यक्षतः सत्ताको राजनीतिक सँस्कृतिमा गान्धी प्रत्यक्षतः अस्वीकार गरिएको देखिँदैन । उनको महिमामण्डन भै नै रहेको छ, तर उनि योजनाबद्धरुपमा क्षरित हुँदैछन् । हुन त अहिले उनको आफ्नै पार्टीपनि उनको विचारबाट स्खलित र दिशाहीन छ । भारतमा वैदेशिक पूजीपतिको बर्चस्वको कारण उपेक्षित पुराना राष्ट्रिय पूँजीपतिहरुको पार्टी भारतीय राष्ट्रिय काँग्रेस आवश्यक भए गान्धीको उदार आदर्शवादिता त्यागेर आवश्यकता अनुकूलको आवरण ओढने मनःस्थितिमा छ । वस्तुतः वैश्विकरण, नवसाम्राज्यवादी संस्कृति तथा नवफासीवादको भारतीय संस्करण धार्मिक साँस्कृतिक राष्ट्रवाद अहिलेको नयाँ परिचय हो भारतको ।

अहिले त्यहाँ धर्म र पौराणिक सँस्कृति बाहेकका बाँकी सबै बहसहरु उपेक्षित छन् । बीसौँ शताब्दीमा गान्धी विश्व नेता थिए । उनको विचार र राजनीतिको चौतर्फी प्रभाव पथ्र्यो । नेपालको राजनीतिक परिवर्तन र त्यसपछिको राजनीतिमा गान्धीको प्रभाव रह्यो, छ । तर अहिलेको उल्टो चक्रको घुमाईले पनि नेपालमा प्रभाव पारी रहेको छ । अहिले नेपाली राजनीतिमा पनि धार्मिक साँस्कृतिक राष्ट्रवादले सबैलाई भ्रमित पारीरहेको छ । समाजमा एक खालको धार्मिक उत्तेजना अब यहाँपनि अनुभूत हुँदैछ । बसुधैव कुटुम्बकम्को सूत्रवाक्य अहिले नेपालमापनि अनुपयुक्त जस्ता देखिन थालेका छन् । सामुदायिकतामा सम्प्रदायका खण्डहरु बढदै गै रहेका छन् । मानिस हुनलाई सम्प्रदायबाट समुदायको चेतनामा उठनै पर्छ । गान्धीको समस्याबाट मुक्त हुन गान्धीवादी भएर होइन, पूर्णतः मानवीय सरोकारवादी भएर मात्र सम्भव छ । तरपनि गान्धीले एउटा उदात्त मानवीय उद्देश्यको निम्ती आफूलाई बलिदान दिए भन्ने आत्मसात् त गर्नै पर्छ । महात्मा गान्धीलाई श्रद्धान्जलि !

Comment


Related News

Latest News

Trending News