अपडेट 
२०७९ माघ १८, बुधबार ०७:२८

जनकपुरधाम । जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा जारी अण्डर–१६ क्रिकेट प्रतियोगिताको उद्घाटन खेल सिद्धार्थ शिशु सदन जितेको छ ।

हरिज स्पोर्टस् जोनको आयोजनामा भइरहेको प्रतियोगितामा मंगलबार सिद्धार्थ ६८ रनले मोनाष्टिक आवासीय माध्यमिक विद्यालयलाई पराजित गरेको छ। टस जितेर सिद्धार्थले बल्लेबाजी रोजेको थियो । सिद्धार्थका खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय रन बनाएका थिए । सिद्धार्थका मुकेश यादव र रोशन यादवले दमदार ब्याटिङ गरेका थिए । ओपनिङ ब्याटिङ गरेका मुकेशले ३ छक्का र ६ छक्काको मद्दतले ५१ बलमा ६० रनको योगदान दिए । रोशनले ६ छक्का र ६ चौकाको मद्दतले ४२ बलमै ७७ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच सिद्धार्थका रोशन यादव घोषित भएका थिए । दुई सय एक रनको लक्ष्य पाएको मोनाष्टिक टीम एक सय ३२ रनमै अल आउट भएका थिए । खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह र वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रुपमा गरेका थिए ।

खेलको उद्घाटन सत्रमा उपप्रमुख साहले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकट संघलाई सुझाव पनि दिए । ‘पहिला खेलसँग लगाव थियो । दैनिक खेल खेल्थे,’उनले विगत सम्झिंदै भने,‘अब खेलमा लगानी गर्ने ठाउँमा छु । खाका लिएर आउनुस्, सक्दो सहयोग गर्छौं ।’ अन्य वक्ताहरुले खेल मैदानको अभाव बारे गुनासो गरेका थिए । धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए । ‘वर्षौदेखि खेलको समस्या जहाँको त्यहीँ छ,’उनले भने,‘तर अहिलेसम्म सरकारले एउटा भएको मैदानलाई व्यवस्थित बनाउन सकेको छैन् । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको छ ।

Comment


Related News

Latest News

Trending News