अपडेट 
२०७९ माघ २५, बुधबार ०८:४५

अहिले गहुँको भाउ बढेको छ । साधारण किसानको अपेक्षाभन्दा बढी नै गहुँको मूल्यमा वृद्धि भएको छ । यसै गरी धानको मूल्यमा पनि वृद्धि भएको छ । गहुँ र धानको मूल्यमा वृद्धि हुँदा किसान खुसी हुने भइ नै हाल्यो । साथ साथै अन्य क्षेत्रको मूल्यमा पनि निकै वृद्धि भएको छ । अन्य क्षेत्रको मूल्य वृद्धिले किसानको ढाड सेकिएको छ । किसानको अगाडि समयमा मलखाद पाए हुन्थ्यो भन्ने समस्या रहन्छ । लगातार केही समय देखि मलखाद नपाउँदा कतिपयले संघीयताले किसानलाई मल पाउनबाट नै वञ्चित गरेको भनेर आरोप लगाउन थालेका छन् । साधारण किसान एक बोरा मल लिन मलको डिलरमा कैयौँ दिन धाउँदा पनि पाउँदैनन् । किसानहरुको भनाइ सोझो छ किमल त हामी आफ् नो पैसाले किन्छौँ तर समयमा नै पाइयोस् । मलपाउने ठेगानामा मल लिन गएपछि पैसा लागोस् तर समय नलागोस् । मल किन्न धाउँदाको समय खेतीमा नै प्रयोग गर्न पाइयोस् । मल र पानी सित किसानको समृद्धिको कुरा जोडिएर आएको हुन्छ ।

किसान समृद्ध भए देश समृद्ध हुने कुरो सबैले बुझेका छन् । अहिले पनि यस देशमा सबैभन्दा बढी मानिस कृषिमा आश्रित छन् भन्दा पनि हुन्छ । जब कृषिले सन्तोषजनक आम्दानी दिन थाल्दछ तब किसानले पाउने सन्तुष्टि हो । किसानले कुन रुपमा बढी सन्तुष्टि पाउँछन् भने उत्पादनको मूल्य पाउने आशा हुन्छ । अहिले तरकारीको भाउ खासै छैन तर धान र गहुँ किसानभने सन्तुष्ट छन् । धान र गहुँको मूल्यमा भएको वृद्धिले किसानलाई उत्साहित अवश्य बनाएको छ । सिंचाइको सहज सुविधा किसानलाई छैन । यसकारण किसानले अपेक्षा गरेजस्तो तरकारी वा अन्नबाली खेतमा लगाउन सकिरहेका छैनन् । बाली लगाए पनि समयमा सिंचाइ गर्न सकिरहेका छैनन् । बालीलाई पानी दिन सकिरहेका छैनन् । मल दिन सकिरहेका छैनन् । यस कारण सरकारले सिंचाइमा सहजता ल्याउन खेत खेतमा विद्युत पोल पु¥याउने अभियान संचाल नगर्ने हो भने किसानको हातमा पानी हुनपाउँथ्यो र आवश्यकता नुसार पानी पटाउन पाउँदा पक्कै बालीको उत्पादनमा वृद्धि हुनपाउँथ्यो । बालीको उत्पादनमा वृद्धि हुँदा राज्यलाई पनिनिकै फाइदा हुने हुन्छ । सर्वसाधारणले देखिरहेका छन् कि मानिस सित पैसाको अभाव भएको छ । साधारण मजदुरले पनि काम पाउन मुस्किल भएको छ । पहिले भन्दा घर बनाउन निकै कम भएको छ । इँटा उद्योगहरु धमाधम बन्द हुनुको पछाडि यही कारण विद्यमान देखिन्छ कि इँटाके बिक्री नै छैन । घर बनाउने मिस्त्रीहरुमा पनि बेरोजगारी बढेको छ । किराना र औषधि पसल बाहेक अन्य क्षेत्रका व्यावसायीहरुले सन्तुष्टि जनाउने गरेको छैनन् किनभने एउटै भनाइ छ पहिले जस्तो बेपार नै छैन । कोही बैंक तिर ऋण लिन जान्छन् भने बैंकबाट जवाफ पाउँछ कि अहिले लगानी बन्द छ ।

ऋण लिएकाहरुले किस्ता तिर्न समस्या भइरहेको छ । यसैबिच केन्द्र सरकारले के के क्षेत्रको भन्दै बिस प्रतिशत बजेट कटौतीको कुरो सार्वजनिक भएको छ । सबै तिरबाट आर्थिक कुरामा सन्तोष जनक अभिव्यक्ति आउने गरेको छैन । युक्रेन र रुस युद्ध अझै सकिएको छैन । यसको प्रभावले भनिएको पेट्रोलियम पदार्थको मूल्यमा आएको वृद्धि कमहुने तत्काल सम्भावना पनि देखिँदैन । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले हरेक क्षेत्रको मूल्यमा गरेको वृद्धि र त्यसबाट सर्वसाधारण नागरिकको जीवनमा परेको प्रभावले समाज मुक्त हुन सकेको छैन । यस्ता केही सत्य वा केही तथ्य तथा केही हल्लाको भरमा पनि सर्वसाधारणमा देशको आर्थिक अवस्थाबारे चिन्ताहरु अभिव्यक्त हुन थालेका छन् । तर पछिल्लो समय आर्थिक क्षेत्रमा देश सबल बन्दै गएको तथ्यांकहरु धमाधम सार्वजनिक भइरहेका छन् । चालू आर्थिक वर्षमा आयातमा निकै कमीआएको छ । करिब एक्काइस प्रतिशतले निर्यातमा कमी आउँदा देशबाट विदेशमा जाने पैसामा बचत भएको छ । देशले चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात् आर्थिक वर्षको आधावर्षमा सात खर्ब बयानबे अर्ब सतसठी करोड रुपैयाको मात्र बस्तु तथा सेवाको आयात गरेको छ देशले । देशमा वैदेशित मुद्राको संचितिमा पनि विस्तार भएको छ । पुस मसान्त सम्म विदेशी मुद्राको संचिति तेर खर्ब सैतिस अर्ब उन्तीस करोड रुपैया पुगेको छ । नेपाल राष्ट्र बैंकको अनुमान अनुसार विदेशी मुद्राको संचितिले दश महिना सम्मको वस्तु आयात र नौ महिनासम्म वस्तु तथा सेवाआयात र कम्तीमा छ महिना वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति रहेको छ । यसलाई राम्रो अवस्था मान्न थालिएको छ । विदेशमा आउने रेमिटान्समा निकै सुधार भएको छ । विदेश जाने बढेका छन् । विदेश जाने बढ्दा र अझ विदेश जानखोज्ने गाउँगाउँमा पनि बढिरहेको पाइएको छ । गाउँबाट विदेश जान खोज्नेहरु अझ धेरै छन् । विदेशबाट रेमिटान्स गाउँमा पनि पुग्न थालेको छ । रेमिटान्सले गर्दा पनि देशको आर्थिक स्थितिमा सुधार आएको बुझ्न सकिन्छ ।

चालू आर्थिक वर्षको प्रथम छ महिनामा देशले खासै रकम खर्च गर्न सकेको छैन । सरकारी कर्मचारी मागएको तलब भत्ता बाहेक विकास निर्माणको काममा छ महिनामा हुनुपर्ने खर्चको रकम निकै कम देखिएको छ । देशको चालु खाता अहिले पनि घाटामा रहेको छ । तर पनि गतवर्षको तुलनामा चालु खातामा रहेको घाटामा केही सुधार भएको छ । गतवर्ष सरकारले आर्थिक वर्षको सुरुको छ महिनामा पाँच खर्च छ अर्ब सतचालिस करोड रुपैया खर्च गरेको थियो भने सोही अवधिमा पाँच खर्ब बयालिस अर्ब पाँच करोड रुपैया बराबरको राजस्व परिचालन गरेको थियो । अहिले त वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा केही सकारात्मक प्रभाव पारेको छ तर अर्थविद्हरुले वैदेशिक रोजगारी दीर्घकाल सम्म देशको लागि त्यत्ति राम्रो नहुने गरेको बताउने गरेका छन् । यद्यपि वर्तमानमा भने रेमिटान्सको योगदानलाई राम्रो मान्नु पर्ने अवस्था रहेको छ । यसै गरी अबको दिनमा थप दुई तत्वले झन् सकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ । पहिलो कुरो त देशले विद्युत उत्पादनमा प्रगति गरेको छ जसलाई अब निर्यात गर्न थालिएको छ । विद्युत निर्यात गर्दा देशलाई फाइदा पुग्ने विश्वास गरिएको छ । चालू आर्थिक वर्षको सुरुको केही महिना र अघिल्लो आर्थिक वर्षको अन्तिम केही महिना विद्युतलाई भारतीय बजारमा बेचिएको थियो । अब गर्मी लागे सँगै नेपालका विद्युत उत्पादन बढ्ने देखिएको छ । देशका खपत भएर बढी हुने बिजुली भारतीय बजारमा बिक्री हुने गरेको छ । यसबाट देशले राम्रो आम्दानी लिने विश्वास रहेको छ । यसलाई निकै सकारात्मक संकेतको रुपमा मान्न सकिन्छ । अर्को पनि यसै सित जोडिएको छ । बिजुलीको खपत बढ्दा देशमा पेट्रोलको खपतमा केही कमी आएको देखिएको छ ।

अब नेपालमा विद्युतीय गाडी प्रयोग गर्नेहरु विस्तारै बढिरहेका छन् । एक जना विद्युतीय गाडी प्रयोग कर्ताका अनुसार गत छ महिनामा उसको जम्मा खर्च पचिस हजार रुपैया भएको छ गाडीमा । गाडीलाई एक चोटि लगेर मेन्टेनेन्स गराउनु पर्दा करिब दुई हजार खर्च भयो र छ महिनामा जहाँ जाँदा पनि सबै गरेर विद्युतमा करिब बाइस हजार रुपैया खर्च भएको छ । हरेक दिन गाडी प्रयोग गर्ने ती मानिस पहिलेको गाडीको तुलनामा यसमा केही खर्च नै नभएको बताउँछन् । उनी सम्झन्छन् – पहिले म दुई दिनको लागि काठमाडौँ जाँदा खल्तीमा कम्तीमा दश हजार रुपैया बोकेर हिँड्नुपथ्र्यो, आफ्नो खाना र गाडीको इन्धनको लागि तर आज भोलि दुई हजार रुपैयाँ बोकेर हिँडिरहेको छु जुन केवल खानामा खर्च भइरहेको छ । गाडीमा कुनै खर्च नै छैन । उनको विचार छ – विद्युतीय गाडी चढ्नेले अप्रत्यक्ष रुपमा देशको ठूलो सेवा गरिरहेका छन् । देशको अर्थतन्त्रप्रति सर्वसाधारणको चासो बढेको छ । कतिपय संचार माध्यमले नकारात्मक समाचार प्रवाहगर्दा अलिकति चिन्ता बढ्नु स्वाभाविक हो तर देशको अर्थतन्त्र एकदमै कमजोर भएको होइन, विस्तारै सुधार हुँदै बलियो हुँदै गएको सन्देश पनि प्रवाहित हुनु आवश्यक छ । मुख्य रुपमा सर्वसाधारण किसानले मल र बिउका साथै सिंचाइको सुविधा सरल र सहजतरिकाले पाउने हो भने गाउँका साधारण किसानले पनि अब आर्थिक अवस्था सुधार गर्ने अवसर आउँदैछ भन्ने कुरा धान र गहुँको मूल्यमा आएको वृद्धिले देखिन्छ ।

Comment


Related News

Latest News

Trending News