अपडेट 
२०७९ माघ २५, बुधबार ०८:५७

आधारभूत स्वास्थ्य केन्द्र जनकपुरधाम उपमहानगरपालिका–२३ मा भवन अभावले गर्दा उपचारमा समस्या भएको छ ।

हाल सो केन्द्र वडा कार्यालयसंगै रहेको एउटै कोठामा सञ्चालन हुँदै आएको छ । बिरामीको चेकजाँचदेखि लिएर औषधि उपचारको लागि एउटा मात्रै कोठा हुँदा महिलाहरुको चेकजाँच गर्ने बेला पुरुष स्वास्थ्यकर्मीहरुलाई कोठा बाहिर जानुपर्ने स्थिति रहेको छ । सात जना स्वास्थ्यकर्मीहरुको लागि बस्ने ठाउँ समेत नरहेको र वार्ड कार्यालयको कार्य सम्पादनमा समस्या हुने गरेको वडा अध्यक्ष राघवेन्द्र साहले बताए । अर्कोतर्फ उपमहानगरपालिकाकै ३५ लाख बजेटमा चार धुर जग्गामा स्वास्थ्यकेन्द्रको लागि निर्माणाधीन भवन ठेकेदारको लापरबाहीको कारण विगत एक वर्षदेखि अलपत्र परेको छ । सो भवन निर्माण भएपछि केही हदसम्म समस्या समाधान हुने देखिए पनि निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भइरहेको वडा अध्यक्ष साहले जानकारी दिए । स्वास्थ्य केन्द्रको दुई कोठे भवन निर्माण सम्पन्न गर्ने समयसीमा सकिएको पनि लामो समय वितिसकेको छ तर भवन हस्तान्तरण नहुँदा स्वास्थ्य केन्द्र सञ्चालनमा समस्या भइरहेको छ ।

भवन निर्माण सम्पन्न गर्नका लागि उपमहानगरपालिकामा पटक–पटक सम्पर्क गर्दा पनि कुनै सुनुवाई नभएको वडा अध्यक्ष साहले बताए । पाठेघरको क्यान्सरको चेकजाँचलगायतको सेवा प्रवाह हुँदै आएकोले अन्य वार्डको स्वास्थ्य केन्द्र भन्दा बिन्धीस्थित केन्द्रमा उपचार गराउने बिरामीको चाप बढी हुने गरेको केन्द्रका कर्मचारी बताउँछन् । हजारौं बिरामीहरुको लागि उपचारको केन्द्रमा कोठा अभावकै कारण कतिपय बिरामीहरु उपचारबाटसमेत वञ्चित हुने गरेको स्थानीयवासी रघुबीर साहले बताए । झाडा पखालासहितका रोगले पीडित व्यक्तिहरुलाई स्लाईनिंग गर्नुपर्दा बिरामीलाई आराम गर्नसमेत ठाउँ नहुँदा थुप्रै बिरामीहरु घर पायक ठाउँमै केन्द्र हुँदा पनि बाहिर जान बाध्य बन्ने गरेको उनले जनाए । यता जनकपुरधाम उपमहानगरपालिकाका योजना शाखाका कर्मचारीका अनुसार ठेकेदारको लापरबाहीका कारण भवन निर्माणमा ढिलाइ भएको बताएका छन् । भवन निर्माणको जिम्मा लिएका रामजानकी निर्माण कम्पनीका प्रमुख शम्भु ठाकुरले भवनको सबै काम सम्पन्न भइसकेको र चापाकल तथा भवनमा विद्युत लगायतको काम मात्रै बाँकी रहेको र एक महिना भित्रै भवन निर्माण कार्य सम्पन्न हुने बताए ।

Comment


Related News

Latest News

Trending News